१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु

पोखरा- स्याङजाको केवरे-७ उपल्लोताप्के गाउँमा पहिरोले घर पुरिँदा तीज मनाउन आएका आफन्तसहित चार जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १ बजे झरेको पहिरोले घर पुरेको थियो। स्याङजाका डीएसपी वीरबहादुर पुलामी मगरका अनुसार स्थानीय थमनसिं सारुको घर पहिरोमा पुरिएको थियो।

पहिरोमा घर पुरिँदा थमनसिंकी आमा चन्द्रकुमारी सारु (७८) को मृत्यु भएको छ। त्यस्तै चन्द्रकुमारीकी नातिनी मल्याङकोट घर भएकी होमकुमारी मस्रांगी (३२), होमकुमारीकी छोरी पुनम मस्रांगी (७) र छोरा मिलन मस्रांगी (१) को पनि पहिरोमा पुरिएर ज्यान गएको छ।

'घरको पछिल्लो कोठामा सुतेको बेला राती करिब १ बजेतिर पहिरो झरेको रहेछ। त्यही पहिरोले घर पुरिँदा चारजनाको ज्यान गएको हो,' उनले भने, 'घरको अगाडिपट्टिको कोठामा सुतेका अन्य पाँचजना सकुशल छन्। घर भत्किनासाथ बाहिर निस्कन सकेकोले उनीहरु जोगिए।'

डिएसपी मगरका अनुसार होमकुमारी तीज मनाउन छोराछोरीसहित मामाघर आएकी थिइन्। पहिरोले पुरिएर ज्यान गुमाएकाको शव निकालेर सदरमुकाम स्याङजामा पोष्टमर्टमका लागि ल्याउने तयारी भएको उनले बताए। 'शव निकालिसकेको छौं। पहिरोले घर पुरेको खबर आउनासाथ प्रहरी खटियो। अनि स्थानीयको सहयोगमा उद्धार गरियो,' उनले भने।

प्रकाशित: १९ भाद्र २०७३ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App