१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको टोली नुवाकोटमा

समितिले जिल्लाको सरोकारवालासँग अन्तरक्रिया गर्दै। तस्बिर : नागरिक

नुवाकोट – प्रदेश ३ को राजधानी बनाउन मिल्ने आधार खोज्न ‘राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को टोली नुवाकोट आइपुगेको छ।

सोमबार नुवाकोट आएको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेशको राजधानी बनाउन आवश्यक पर्ने आधारबारे जानकारी लिएका छन्। समितिले जिल्लामा रहेको प्रकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाबारे जानकारी लिनुको साथै भएगरेका प्रशासनिक र विकासका पूर्वाधारबारेसमेत अध्ययन गरेका छन्। जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, भौगोलिक संरचानाकोे अवस्थाबारे स्थलगत अन्तरक्र्रिया गरी जानकारी लिएको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले बताएका छन्।

‘समिति अहिले राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानको अध्ययन गरिरहेको छ। सचिवालयमा नुवाकोट जस्तै अन्य जिल्ला पनि दर्ता भएका छन्। सम्भावित सबै जिल्लाको अध्ययन सकेर प्रतिवेदन तयार पार्नेछौँ,’ संयोजक निरौलाले भने, ‘तयार पारेको प्रतिवेदनअनुसार उत्कृट स्थान नै प्रदेश राजधानी हुनेछ।’

प्रदेश राजधानी हुनको त्यस क्षेत्रमा चलचित्र बोर्ड, फोरेन्सिक प्रयोगशाला, अत्याधुनिक प्रयोगशाला, प्राकृतिक अस्पताल, चिडियाखाना, पुस्तकालय, विज्ञान तथा प्रविधि प्रतिष्ठान र रंगशालालगायत १ सय २१ वटा सुविधा भएको हुनुपर्दछ। अहिले जिल्लामा भएको वस्तुस्थितिबारे प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्यहरू बद्री मैनाली, हिरानाथ खतिवडा, आशामाया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ सहित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजले ‘राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’लाई जानाकारी गराएका थिए। साथै उनीहरूले नुवाकोट नै प्रदेश राजधानीको लागि उपयुक्त स्थान भएको दाबीसमेत गरेका छन्।

प्रदेश राजधानीको लागि नुवाकोटसहित काभ्रे, भक्तपुर, चितवन र मकवानपुर गरी पाँच स्थान समितिको सचिवालयमा दर्ता भएका छन्। नुवाकोटको सम्भाव्यता अध्ययन गरेको टोलीले बाँकी चार जिल्लाको वस्तुस्थितिबारे बुझेर असार १० गते प्रतिवेदन सार्वजनिक गर्ने समितिले जनाएको छ। प्रदेश राजधानीको माग गर्दै काभ्रे, नुवाकोट, रसुवा, भक्तपुर र चितवनका सांसदले प्रस्ताव पेश गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App