१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा दुई विभागीय टोली

काठमाडौं – पहिलो पटक संघीय संरचनामा आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्दै छन्।

राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका स्पीनर बसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि सुरु हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी प्रतियोगितामा फाइनल पुग्ने त्रिभुवन आर्मी क्लब एक मात्र अपराजित टोली हो। युवा खेलाडीको वर्चश्व रहेको आर्मी उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्न सफल भएको थियो। आर्मीको प्रतिद्वन्द्वी एपीएफ पनि जारी प्रतियोगितामा लिग चरणको खेलमा आर्मीसँगै पराजित भएको थियो। उक्त खेलमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको थियो।

यसअघि सेमिफाइनल खेलमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रन र एपीएफले नेपाल पुलिसलाई डकवर्थ लुइसका आधारमा ९ रनले स्तब्ध बनाउँदै उपाधि यात्रा तय गरेका थिए।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार पुरस्कार पाउनेछन्।

जेठ १३ गते देखि सञ्चालन भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App