१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कुन नगरको आम्दानी कति ?

स्थानीय तहले आउँदो आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनाइरहेका छन् । बजेट बनाउँदा आन्तरिक आम्दानीको विषयले पनि महत्वपूर्ण भूमिका खेल्छ।

लामो समय जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले जनप्रतिनिधि पाएको पनि वर्ष दिन पुगिसकेको छ । योसँगै यस वर्षको बजेट जनप्रतिनिधिकै पूर्ण रोहबरमा ल्याइँदै छ । जनप्रतिनिधि आएपछि भने उपत्यकाका नगरले उल्लेख्य आम्दानी गर्न सकेको पाइँदैन । चालू आर्थिक वर्षको आन्तरिक राजस्वलाई हेर्दा धेरै तहले लक्ष्य नघाएका छैनन् । कतिपय तहले त अघिल्लो आर्थिक वर्षमा उठेजति राजस्व पनि उठाएका छैनन् ।

काठमाडौं महानगपालिका समेत अघिल्लो वर्षको जति राजस्व नउठाउनेमा परेको छ ।यस वर्षबाट स्थानीय तहमा करको दायरा समेत फराकिलो बनाइएको छ । संविधानमै उल्लेख गरेर स्थानीय तहलाई सम्पत्ति, भूमि (मालपोत), घरबहाल, सवारीसाधन, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, व्यवसाय तथा विज्ञापन कर समेत उठाउने अधिकार दिइएको छ । जनप्रतिनिधि आएपछि चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म केही नगरले राजस्वमा वृद्धि गरे पनि केही नगरले आम्दानी घटाएका छन्।

कामनपाको लक्ष्यभन्दा धेरै कम
काठमाडौं महानगरपालिकाले चालू आवमा लक्ष्यभन्दा धेरै कम राजस्व उठाउने देखिएको छ । महानगरले अघिल्लो वर्षकै सरदरमा मात्रै राजस्व उठाउन सक्ने अनुमान गरिएको छ । चालू आवको १० महिनामा कामनपाले एक अर्ब ६० करोड राजस्व उठाएको छ । यो अघिल्लो वर्षको तुलनामा पनि कम हो भने महानगरकै लक्ष्यभन्दा धेरै कम हो ।

महानगरले अघिल्लो आवमा एक अर्ब ७९ करोड राजस्व उठाएको थियो । चालू आवमा चार अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । तर, त्योभन्दा धेरै कम मात्रै उठाउने देखिएको छ । कानुनमा विवाद हुँदा लक्ष्यअनुसार राजस्व उठाउन नसकेको महानगरले जनाएको छ । वैशाखबाट मात्रै घरबहाल कर उठाउने अधिकार पाएकाले बाँकी दुई महिनामा राम्रै कर संकलन हुने अनुमान महानगरको छ । लक्ष्यमा पुग्ने भने देखिँदैन।

कर वर्षमा पनि लक्ष्यमा पुगेन ललितपुर
ललितपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा कर बढाएको छ । महानगरले चालू आवलाई ‘कर वर्ष २०७४ कार्यक्रम’ घोषणा गरेर कर उठाउने अभियान थालेको थियो । महानगरले अभियानबाहेक अनुगमन समेत गरेको थियो । यसले महानगरको उल्लेख्य कर वृद्धि भए पनि लक्ष्यमा भने पुग्न सक्ने देखिँदैन ।

चालू आवको १० महिनामा कामनपाले एक अर्ब ६० करोड राजस्व उठाएको छ । यो अघिल्लो वर्षको तुलनामा पनि कम हो भने महानगरकै लक्ष्यभन्दा धेरै कम हो । महानगरले अघिल्लो आवमा एक अर्ब ७९ करोड राजस्व उठाएको थियो । चालू आवमा चार अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ ।

गत वर्ष महानगरले ४१ करोड राजस्व संकलन गरेकामा चालू आवमा अहिलेसम्म ४७ करोड कर उठाइसकेको छ । असार मसान्तसम्म जम्मा ५५ देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन हुने महानगरको अनुमान छ । महानगरले चालू आवमा एक अर्ब १६ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । घरबहाल कर स्थानीय तहले वा कर कार्यालयले लिने भनेर निश्चित नहुँदा लक्ष्यमा पुग्न नसकेको महानगरले बतायो । गत वैशाखबाट भने घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने भएको छ।

२४ प्रतिशतले बढायो भक्तपुरले
भक्तपुर नगरपालिकाले गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो वर्ष २५ करोड राजस्व संकलन गरेको नगरपालिकाले चालू आवको १० महिनामै ३१ करोड संकलन गरिसकेको छ । यो अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बाँकी दुई महिनामा अझै सात करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने अनुमान गरिएको छ । नगरपालिकाले राजस्व बढाउन टोली नै बनाएर घरदैलोमा खटाएको थियो । यसैको प्रभावले पनि राजस्व बढेको अनुमान नगरपालिकाको छ।

दोब्बर बढायो तर लक्ष्यमा पुगेन गोकर्णेश्वर

गोकर्णेश्वर नगरपालिकाले गत वर्षको भन्दा दोब्बर राजस्व उठाइसके पनि लक्ष्यमा पुग्न सक्ने देखिँदैन । नगरपालिकाले चालू आवमा १८ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । त्योमध्ये वैशाखसम्म १० करोड राजस्व उठाइसकेको छ । बाँकी दुई महिनामा दुई करोड उठाएर १२ करोड पुर्याउने नगरपालिकाको अनुमान छ । १२ करोड पुगेमा अघिल्लो वर्षको तुलनामा दोब्बर राजस्व हुनेछ । अघिल्लो आवमा गोकर्णेश्वरले ६ करोड राजस्व उठाएको थियो।

लक्ष्यको नजिक नागार्जुन
नागार्जुन नगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन गरिरहेको छ । नगरपालिकाले चालू आवमा ११ करोड ९० लाख राजस्व उठाउने लक्ष्य राखेको छ । नगरपालिकाले हालसम्म १० करोड २७ लाख राजस्व उठाइसकेको छ । अझै राजस्व उठ्ने समय रहेकाले लक्ष्य अनुसारको राजस्व उठ्नेमा नगरपालिका ढुक्क छ । अघिल्लो वर्ष नागार्जुनले ११ करोड ७३ लाख राजस्व उठाएको थियो।

नक्सा अभिलेखीकरणले बढ्यो कागेश्वरीको राजस्व
कागेश्वरी मनोहराले चालू आवमा नौ करोड ७५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । चालू आवमा अनुमानभन्दा बढी उठाउन सफल भएको छ । हालसम्म १० करोड २९ लाख राजस्व उठाइसकेको नगरपालिकाले जनाएको छ । नक्सापास, नक्सा अभिलेखीकरणलाई नियमित गराएका कारण राजस्व बढेको अनुमान गरिएको छ । अघिल्लो आवमा नगरपालिकाले आठ करोड २२ लाख रुपैयाँ राजस्व उठाएको थियो।

बढायो तर लक्ष्यमा नपुग्ने शंखरपुर
शंखरपुर नगरपालिकाले अघिल्लो आवको भन्दा यसपटक राजस्व बढाए पनि लक्ष्यमा पुग्न सक्ने देखिँदैन ।  नगरपालिकाले चालू आवमा पाँच करोड ३३ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । त्योमध्ये हालसम्म तीन करोड ५१ लाख राजस्व संकलन गरिसकेको छ । शंखपुरले अघिल्लो आवमा दुई करोड ८१ लाख राजस्व संकलन गरेको थियो ।

चन्द्रागिरिको लक्ष्यभन्दा धेरै कम
उपत्यकाका नगरपालिकामध्ये लक्ष्यभन्दा धेरै कम राजस्व उठाउनेमा चन्द्रागिरि नगरपालिका देखिएको छ । चन्द्रागिरिले चालू आवमा २२ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

त्योमध्ये अहिलेसम्म ६ करोड ४३ लाख मात्रै राजस्व उठाउन सकेको छ । जुन गत वर्षको भन्दा पनि कम हो । अघिल्लो आवमा चन्द्रागिरिले नौ करोड राजस्व उठाएको थियो । कर्मचारीको अभाव र राजस्व बढाउने नीति बनाएर कार्यान्वयन गर्न नपाउँदा राजस्वमा गिरावट आएको मेयर घनश्याम गिरीले बताए । यसपटक कर्मचारी समायोजन नहुँदा र जनप्रतिनिधि अलमल हुँदा पनि राजस्वमा गिरावट देखिएको अनुमान गिरीको छ।

तार्केश्वर लक्ष्यमा पुग्न सक्ने
ताकेश्वर नगरपालिकाले भने आफ्नो लक्ष्यमा पुग्ने गरी काम गरेको छ । चालू आवमा नगरपालिकाले ११ करोड ५० लाख राजस्व उठाउने लक्ष्य राखेकामा १० करोड ५० लाख उठाइसकेको छ । एक करोड राजस्व दुई महिनाभित्र उठाएर लक्ष्यमा पुग्ने नगरपालिकाको योजना छ।

तुलनात्मक रूपमा बढायो टोखाले
टोखा नगरपालिकाले अघिल्लो वर्षको तुलनामा भने यसपटक राजस्वमा वृद्धि गरेको छ । अघिल्लो वर्ष नगरपालिकाले नौ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको थियो ।

चालू आवको १० महिनामा पनि नौ करोड राजस्व उठाएको छ । यो लक्ष्यभन्दा धेरै कम हो । नगरपालिकाले चालू आवमा १६ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । लक्ष्यमा पुग्न नसके पनि अघिल्लो वर्षको तुलनामा राजस्व बढाउने अनुमान नगरपालिकाको छ । बाँकी दुई महिनाको समेत गरेर चालू आवमा १२ करोड राजस्व उठ्नेमा नगरपालिका ढुक्क छ ।

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App