१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'मनकामना मन्दिर' दुई वर्षमा पुनर्निर्माण

मनकामना (गोरखा)- भूकम्पपछि देशका धार्मिक तथा पुरातात्विक संरचनाको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा गोरखास्थित मनकामना मन्दिरको काम भने तीव्ररूपमा भइरहेको छ। पुरातत्व विभागकै डिजाइन र प्रत्यक्ष रेखदेखमा कामलाई तीव्रता दिइएको हो।

सत्रौं शताब्दी अर्थात करिब ३५० वर्ष पहिले बनेको दुई तले मन्दिर अहिले पुरानै ढाँचा र स्वरूपमा पुनर्निर्माण गर्न लागिएको छ। पेगोडा शैलीमा निर्माण भएको यो धरोहरको जग १९९० सालको भूकम्पले सामान्य हल्लिएको अनुमान स्थानीयको भनाइ छ। त्यसपछि २०४५ र २०६० सालमा आएको भूकम्पले केही ढल्केको थियो।

भूकम्पका कारण जिर्ण बने मन्दिर पुननिर्माण गर्न पुरातत्व विभागले २०६८ मा डिजाइन र लागत विवरण तयार गरेको थियो। मन्दिर जिर्णोद्दार समितिका अनुसार त्यतिबेला सुनको लेपन लगाइएको छानासहित ८ करोड ४८ लाख २९ हजार ७ सय ७६ रुपैयाँ लागत अनुमान गरिएको थियो। २०७२ बैशाख १२ मा शक्तिशाली भूकम्पले मन्दिरमा पूर्ण क्षति पुर्‍याएको थियो।

२०७२ जेठ २५ देखि भत्काउन सुरु गरिएको मन्दिरको पुनर्निर्माणको काम गत साउनदेखि सुरु गरिएको नरेन्द्रबाबु श्रेष्ठले बताए। 'मन्दिर खोलेको दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ, पुरानो स्वरूप र ढाँचामै निर्माण गर्ने काम भइरहेको छ,' उनले भने, 'पुरानो जग करिब ५ मिटर थियो तर नयाँ जग ८ मिटर गहिरो खनिएको छ।'

पुरानो संरचनाले १९९० सालको ठूलो भूकम्पसमेत धानेको र झन्डै ४ सय वर्षसम्म टिकेको हुँदा अहिले त्योभन्दा बलियो संरचना तयार भइरहेको पनि श्रेष्ठले बताए। निर्माणको काम करिब ५० प्रतिशत सकिएको छ। फलामे डन्डी प्रयोग नगरी काठको टुक्रालाई एकआपसमा जोडेर निर्माण गरिँदै छ। जुन पाँच सय वर्षभन्दा बढीसम्म टिक्न सक्ने समितिको अनुमान छ।

पुनर्निर्माण गर्न सरकारले छुट्याएको ४ करोड रुपैयाँमध्ये ३ करोड ४३ लाख रुपैयाँबराबरको सुन किनिएको श्रेष्ठले जानकारी दिए। २०७२ बैशाख १२ को भूकम्पले मन्दिरमा ठूलो क्षति पुगेकाले विभागले २०६८ मा मन्दिरको जिर्णोद्धार गर्न अनुमान गरेको रकम अपुग हुने भएको छ। समितिले यसको पुनर्निर्माण गर्न करिब १२ करोड रुपैयाँ अनुमान गरिएको छ।

तीर्थालु तथा पर्यटक, स्थानीय व्यक्ति, संघ संस्था र उद्योगी व्यवसायीबाट थप रकम संकट भइरहेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। 'हाम्रो संस्थाले १ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाइसकेको छ, यस्तै अन्य व्यवसायीबाट पनि सहयोग आउने क्रम जारी छ,' उनले भने, 'मन्दिर पुनर्निर्माणमा सहयोग गर्न पाउँ भन्दै विभिन्न क्षेत्रबाट इच्छुक व्यक्ति आउने गरेका छन्।'

मन्दिरका पुजारीले निर्माणमा ५ लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएका छन्। त्यसमध्ये ३ लाख रुपैयाँ उपलब्ध गराइसकेको समितिले जानकारी दिएको छ। नेपालको पहिलो केबुलकार सञ्चालनमा आएपछि यहाँ वर्षको लाखौं पर्यटक आउने गरेका छन्। मन्दिर पुनर्निर्माणसँगै यस वरपरको क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय उद्योगी तथा व्यवसायीले अभियानसमेत सुरु गरेका छन्।

काठमाडौं उपत्यका तथा अन्य सहरका धार्मिक तथा पुरातत्विक संरचनाको निर्माण सुरु हुन सकेको छैन। काम सुरु भएको रानीपोखरी समेत अहिले रोकिएको छ। धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्न आवश्यक देखिएकाले पनि मनकामना मन्दिर तोकिएको समयमै पुनर्निर्मागन गरिसक्ने समितिको योजना छ।

भूकम्पले क्षति पुर्‍याएको मन्दिरको ऐतिहासिक संरचना देखाउने र आवश्यक स्रोत जुटाउने मनसायले समेत कुरिनटारदेखि मन्दिर परिसरसम्म पर्यटकका लागि आकर्षक सुविधाका प्याकेज सार्वजनिक गरिएको छ। 'हामी सबैको पवित्र धरोहर माता मनकामनाको बन्दैछ घर' भन्ने नारासहित व्यावसायिक संघ संस्थाले काम सुरु गरेका छन्।

मनकामना मन्दिर जिर्णोद्धार समिति, गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार इकाई, मनकामना दर्शन प्रालि, यसका आधिकारीक टुर अपरेटरहरू, मनकामनास्थित होटल व्यवसायी यस अभियानमा संलग्न छन्। यस्तै, मनकामना राइजिङ, रिसोर्ट डालिमा क्याटेरर्स एण्ड रिसोर्ट्स प्रालि तथा रिभर साइड स्पि्रङ रिसोर्ट प्रालिसमेतको सहभागिता रहेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

'कुरिनटारदेखि मन्दिरपरिसरका सबै होटलमा यही भदौ २० देखि ३१ सम्म बास तथा खानामा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ,' उनले भने, 'यातायातमा समेत यो सुविधा उपलब्ध गराइएको छ, मन्दिरको प्रचारप्रसार गर्ने र धार्मिक पर्यटन विस्तार गर्ने हाम्रो योजना हो।' उनका अनुसार मन्दिर पुनर्निर्माणमा सरकारले ४ करोड रुपैयाँ छुट्याएको छ। योबाहेक दर्शनार्थी तथा विभिन्न समाजसेवीले स्वेच्छाले सहयोग उपलब्ध गराएका छन्।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार २०५५ मंसिर ८ गतेबाट सञ्चालनमा आएको केबुलकारबाट मन्दिर गर्न जाने यात्रु तथा दर्शनार्थीको हाल प्रति वर्ष १० लाख रहेको र यो संख्या वर्षै पिच्छे बढ्ने क्रम जारी रहेको छ। स्थापनादेखि हालसम्म १ करोड १७ लाख यात्रुले केबुलकार गरेका छन्। हाल सञ्चालित केबलकार डब्बा क्षमताले यात्रुको चाप थेग्न नसक्ने अवस्था देखिएपछि थप तीन डब्बा थप्न लागिएको छ।

भदौ २० देखि ३१ सम्म केबुलकारको टिकटमा पनि १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।  मनकामना दर्शन प्रालिका आधिकारीक टुर अपरेटरले समेत बस सेवामा १५ प्रतिशत छुट दिएका छन्। मनकामनास्थित संपूर्ण होटल व्यवसायीले खाना तथा कोठाका लागि १५ प्रतिशत र कुरिनटारस्थित मनकामना राइजिङ रिसोर्ट्स, डालिमा क्याटेरर्स एण्ड रिसोर्ट्स तथा रिभर साइड रिसोर्टले खाना तथा कोठामा १० प्रतिशत छुट दिएका छन्।

प्रकाशित: १९ भाद्र २०७३ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App