१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जहाँ हरेक रात ढ्याँग्रो बज्छ

गोरखाको उहिया गाउँ। तस्बिर:नरहरि/नागरिक

गोरखा (उहिया गाउँ)– यहाँ औषधि पनि झाँक्रीकहाँ फुकेर खान्छन् । नबुझेका, नजानेका पहिले झाँक्रीकहाँ जान्छन् । जानेबुझेका स्वास्थ्य चौकीबाट औषधि लिएर झारफुक गर्न पुग्छन् । ‘हाम्रोभन्दा यहाँ धामीझाँक्रीको धेरै विश्वास गरेजस्तो आभाष हुन्छ,’ उहिया स्वास्थ्य चौकीमा कार्यरत अहेव शुभनारायण दास बताउँछन् ।

दुर्गमका स्वास्थ्य चौकीको अवस्था के होला? त्यहाँ औषधि नहुन सक्छ, दरबन्दी अनुसारका अनमी, अहेब, हेल्थ असिस्टेन्टलगायत स्वास्थ्यकर्मी नहुनसक्छन् भन्ने लागेर बुझ्न उहिया गाउँ पुगेका बेला स्वास्थ्य चौकी गएको थिएँ । एकजना महिला ‘ब्लड प्रेसर’ जाँच गराइरहेकी थिइन्। लाग्यो, केही रोगले च्यापेर आइन्। उनलाई एकजना अनमीले जाँच गरिरहेकी थिइन्। स्वास्थ्य चौकीमा बिरामीको चाप शून्यप्रायः थियो। केयर नेपाल नामक संस्थाले भर्खरै निर्माण सम्पन्न गरिदिएपछि नयाँ चौकीबाट सेवा थालिएको रहेछ। बिरामीको जाँच गर्दै गरेकी अनमीले प्रेसर हेरेपछि कमजोरी भएको हो केही हुन्न जानुस भनिन्। बिरामीले भनिन्, 'केही भिटामिन दिनुस् न । अनमीले मुख खोलिन्, ‘भिटामिन भएको भए दिन्थेँ तर हामीसँग छैन ।’

ढ्यांग्रो दुई किसिमले ठटाइने रहेछ । एकः घरमा भुत, प्रेत, पिचास नलागोस्, कोही बिरामी नपरोस् भनेर । दुई ः बिरामीलाई रोग निको बनाउन । यी दुवै काम गर्न जान्ने धामीझाँक्री उहिया गाउँमा ३० जना भन्दाबढी छन्।

अनमीको आवाज सुन्नेबित्तिकै मेरो ध्यान औषधि त्यो पनि भिटामिन नभएको भन्नेतिर खिचियो । मैले खो¥याएर सोधेँ ः भिटामिन छैन है ? छै न नि सर, धेरै भयो । भएको भए दिन हुन्थ्यो,’ अनमीले भनिन् । यो वाक्य पूरा गर्न नपाउँदै उनले थपिन्, ‘के गर्नु मेरो आफ्नै बाबुलाई सुकेनास भएको छ,’ एकवर्षे काखे छोरा देखाउँदै उनले उल्टै आफ्नै गुनासो पोख्न थालिन्। ती महिला स्वास्थ्यकर्मी तराई मूलकी थिइन् । काखे बच्चा बोकेर उपचार गरिरहेको देख्दा लाग्यो किन यति टाढा (सदरमुकामबाट तीन दिन) को बाटोमा यिनलाई ‘पोस्टिङ’ किन गरिदिएको होला? सँगै रहेका अर्का सञ्चारकर्मीले पनि सही थापिन् । बच्चा बोकेर यति टाढा सेवा गर्नुपरेको छ, जनस्वास्थ्य कार्यालयले पठायो आउन परिहाल्यो।

स्वास्थ्यकर्मी महिलाले हामीले नै उनलाई अन्यत्र सदरमुकाम नजिकै सरुवा गरिदिन मिल्नेझैँ गरी वेदना पोखिन् ।
उहिया गाउँ गोरखा सदरमुकामबाट तीन दिनमा सजिलै पुगिन्छ । अहिले त नेपाली सेनाले माछाखोलासम्म सडक जोडेकाले त्यहाँसम्म गाडीमा गइयो भने दुई दिनमा पनि पुगिन्छ । यस्तो गाउँ छ त्यहाँ अहिलेसम्म टेलिफोन छैन । इमेल इन्टरनेट त परैको कुरा । सिडिएमए टेलिफोनमा कुराकानी गर्नुप¥यो भने एक घन्टा माथि डाँडामा जानुपर्छ । राम्रोसँग कुराकानी हुन पाउँदैन । गाउँमा आउने र गाउँबाट शहर जानेहरू नजिक (करिब एक घन्टा दूरीमा) रहेका आफन्त र छिमेकीलाई खबर छाड्ने गर्छन् । टेलिकमले टावर राख्न बेवास्ता गरेको गुनासो वडा अध्यक्षले गरेका थिए। बिरामी हुँदा हेलिकप्टर बोलाउन पनि फोनका कारण ढिलो हुने समस्या उनले सुनाए।

धामी झाँक्री एउटा अन्धविश्वास हो । औषधिले गर्ने काम झारफुकले हुँदैन । कालो भाले भुतप्रेतलाई होइन कमजोर भएका सुत्केरी महिलालाई खुवाउनुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि यसको मूल कारण हो ।

स्वास्थ्य चौकीभन्दा किन उहियाका स्थानीय धामीझाँक्रीलाई विश्वास गर्छन् भन्ने खुल्दुली मेटिएन। स्वास्थ्य चौकीको एक घन्टा बसाइपछि उहियाको विक टोल (दलित समुदायको बाक्लो बस्ती) भएतिर हिँडे। उनको आँखाले मदिराको झल्कोदिएजस्तो देखिन्थ्यो। एकजना अधबैंसे पुरुष भूकम्पपछि नयाँ बनाउँदै गरेको घरअगाडि भेटिए। नयाँ बनाउँदै गरेको घरको दुईवटा जिज्ञासा राखेर हत्तपत्त धामीझाँक्रीको विषयमा कुरा सोधेँ। किन उपचार नगरेर झाँक्री लगाउने गरेको भन्ने प्रश्न सोध्दा सोचेजस्तो उत्तर उनीबाट पनि पाइनँ । यता यस्तै छ । सबैले झाँक्री लगाउँछन् । दाँत दुखेको १० दिन भयो औषधिले ठीक नभएपछि उनले पनि झाँक्री लगाएको र निको हुँदै गरेको सुनाए ।

विक टोल भएकाले त्यहाँ झाँक्री थिएनन् । गुरुङ गाउँमा घरैपिच्छे छन् । उनले यस्तो बताएपछि तल्लो गाउँ झ¥यौं । उत्तरी गोरखाको बारेमा जानकार सुमन गुरुङ पेसाले प्राविधिक हुन् । अहिले जनप्रतिनिधि आएपछि गाउँमा कर्मचारी केही जान थालेपनि पहिले भने उत्तरी गोरखाको सबैजसो योजना अनुगमन र स्टमेट उनले गर्थे । भाषा बुझ्ने, लामो समयदेखि काम गरेको र उत्तरी गोरखाकै भएकाले सुमन दाजुसँग झाँक्री लगाउने परम्पराबारे सोधखोज गर्दै थियौँ । यत्तिकैमा बेलुकी झाँक्री लगाउँदैछन् रे भन्ने थाहा भयो। करिब नौ बजे खानाखाएर झाँक्री लगाउने घरमा पुग्यौं। पहिलोपटक झाँक्री लगाएको हेर्ने रहर र त्यो दुर्गम गाउँमा स्वास्थ्य संस्थामा सिटामोल, जीवनजल नहुनु, सबैले झाँक्रीको भरमा उपचार गर्नु सञ्चार माध्यमका लागि राम्रो विषय लाग्यो। त्यसपछि झनै झाँक्री लगाएको फोटो खिच्ने र समाचार संकलन गर्ने ठानेर त्यहाँ पुगेँ। करिब एक घन्टा झाँक्री लगाएको हेरेर फर्कंदा लाग्यो, यो पनि एउटा संस्कार र परम्पराको रूपमा यो समुदायले मान्दो रहेछ।

यो समयमा उहियाका करिब ८० प्रतिशत घरमा झाँक्री लगाउने चलन रहेछ। स्थानीय जंगबहादुर गुरुङले भने, ‘यो नयाँ होइन सर, यहाँ हरेक दिन कुनै न कुनै घरमा ढ्यांग्रो बज्छ। यो सुनेपछि समाचार बलियो भयो भन्ने लाग्यो । तर अर्कोतर्फ अहिलेसम्म झाँक्री लगाउने समुदायलाई किन चेतनाको स्तर उकास्ने गरी सरकारले कार्यक्रम र योजना ल्याउन नसकेको होला भन्नेमा चिन्ता बढ्यो। ढ्यांग्रो दुई किसिमले ठटाइने रहेछ । एकः घरमा भुत, प्रेत, पिचास नलागोस्, कोही बिरामी नपरोस् भनेर। दुई: बिरामीलाई रोग निको बनाउन। यी दुवै काम गर्न जान्ने धामीझाँक्री उहिया गाउँमा ३० जना भन्दाबढी छन्।

धामीझाँक्रीलाई केही समयअघि केही संघसंस्थाले तालिम दिएका रहेछन् । तालिममा झाँक्री लगाएपछि स्वास्थ्य चौकीचाहिँ जानुपर्छ भनेर सिकाएका रहेछन् । अन्तिम अवस्था आयो भने अहिले पनि झाँक्रीले त्यही गर्ने रहेछन् । तर, स्थानीय स्वास्थ्य चौकीभन्दा पहिले झाँक्रीकहाँ जाने गर्दा गम्भीर रोग नलाग्दासम्म औषधि उपचारमा ध्यान दिँदैनन् ।

पूजापाठका सबै सामग्री, सँगै लोकल मदिराको गिलास, चुरोट। अम्मलीको सुर्को र चुस्कीमा थरथर काप्दै गरेको झाँक्री । मातृभाषामा ग्रन्थ पढेजस्तो गरी भट्याउँदै थिए । शरीरभरि काँधमा घन्ट झुड्याएका, हातमा ढ्यांग्रो ठटाउँदै मच्चिएर उफ्री रहेका थिए । ‘सात दिन भयो सुतेको छैन’ मदिराको चुस्कीलिँदै झाँक्रीले मुख खोले। उनीसँग कुरा गर्ने चाहना जागेर उनलाई सोधेँ, ‘बिरामीको उपचार गर्दै हिँड्नु भएको हो? ‘होइन, बिरामी हुन नदिन, केही नराम्रो नहोस् भनेर पूजा पाठ गरेको हो अहिले’,झाँक्रीले भने । ‘तर, बिरामीको उपचार पनि हामीले गर्ने हो । हामीले उपचार गरेन भने बिरामी निको हुँदैन,’ झाँक्रीले दोहो¥याएर भने। फुकेर मात्रै पनि निको नहुने तर फुकेपछि स्वास्थ्य चौकी जाँदा बेस हुने तर्कले उनले आफ्नो कुरा माथि पारिछाडे । धर्मग्रन्थ, धार्मिक मूल्य मान्यतालाई उनले जोड्दै कुरा थपे । धेरै बिरामीलाई फुकेर रोग निको बनाएको अनुभव छ भन्दै उनी सुनाउन खोज्दै थिए । तर,तिनै झाँक्री रहेछन् दिउँसो स्वास्थ्य चौकीबाट फर्कंदै गर्दा स्वास्थ्य चौकी जान लागेको भनेर जाँदै थिए । त्यहाँबाट फर्केपछि सँगै रहेका साथीले सुनाए।

धामीझाँक्रीलाई केही समयअघि संघसंस्थाले तालिम दिएको रहेछ । तालिममा झाँक्री लगाएपछि स्वास्थ्य चौकीचाहिँ जानुपर्छ भनेर सिकाएका रहेछन् । अन्तिम अवस्था आयो भने अहिले पनि झाँक्रीले त्यही गर्ने रहेछन्। तर, स्थानीय स्वास्थ्य चौकीभन्दा पहिले झाँक्री कहाँ जाने गर्दा गम्भीर रोग नलाग्दासम्म औषधि उपचारमा ध्यान दिँदैनन्। निको नहुने अवस्थामा झाँक्रीले स्वास्थ्य चौकीको नाम लिने भएपछि त्यहाँको स्वास्थ्य चौकीमा जटिल उपचार सम्भव छैन। अन्ततः कि सदरमुकाम वा हेलिकप्टर चार्टर गरेर काठमाडौंका ठूला अस्पताल जानुको विकल्प स्थानीयसँग हुँदैन।

स्वास्थ्यकर्मी पनि काम धेरै गर्नुनपरे हुन्थ्यो भन्ने चाहना राख्दा रहेछन् ।उहिया जस्तै दुर्गममा बस्ने अधिकांश स्वास्थ्यकर्मीको निजी मेडिकल पनि हुँदो रहेछ । त्यहाँपनि थियो । बिहान १० बजेदेखि बेलुकी ४–५ बजेपछि स्वास्थ्यकर्मी त्यहाँ नबस्ने रहेछन् । अन्य समयमा बिरामीहुनेलाई आफ्नो निजी मेडिकलबाट सेवा दिन्छन्। त्यो पनि महँगोमा। स्वास्थ्य चौकीमा औषधि ल्याउन चासो नदिने, मेडिकलमा जहिले सबैखाले औषधि राख्ने, बिहान बेलुकी बिदाको दिन पनि निजी मेडिकलबाट सेवा दिने जस्ता कारणले सरकारी कर्मचारीको स्वास्थ्य चौकीप्रति ध्यान र चासो घटेको छ । तलब सुविधा लिनका लागि मात्रै हाजिर गर्न स्वास्थ्य चौकी जाने क्रम धेरै छ । दुर्गम ठाउँमा राज्यको उपस्थिति न्यून हुने, सदरमुकामबाट र गाउँपालिकाबाट पनि नियमित अनुगमनमा जाने कोही नहुने हुँदा कर्मचारी बिदा बस्ने, आलोपालो गर्ने प्रवृत्ति छ।

कर्मचारी नियमित गाउँ नबस्ने, गाउँघर क्लिनिक नियमित नगर्ने, गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम गर्न गराउन नसक्ने, स्थानीय बुद्धिजीवी भद्र भलाद्मीलाई सम्झाउँदै चेतनास्तर जगाउनेखालको कार्यक्रममा ध्यान नदिँदा उहिया गाउँका हरेक घरमा ढ्यांग्रो बज्ने गरेको छ। समाज बदल्न र स्थानीयमा चेतनाको स्तर बढाउन भन्दा पनि उनीहरूको कमजोर चेतनालाई उठ्न नदिएरसँगै रमाउने प्रवृत्तिले पनि कुरीति बदलिन सकेको छैन। धामी झाँक्री एउटा अन्धविश्वास हो। औषधिले गर्ने काम झारफुकले हुँदैन। कालो भाले भुतप्रेतलाई होइन कमजोर भएका सुत्केरी महिलालाई खुवाउनुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि यसको मूल कारण हो।

प्रकाशित: २७ जेष्ठ २०७५ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App