१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसले जित्यो नुवाकोट गोल्डकपको उपाधि

नुवाकोट– ‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित यहि जेठ १७ देखि सञ्चालन भएको ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप २०७५’ को उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ। 

बट्टारमा शनिबार भएको फाइनल खेलमा बलियो प्रतिष्पर्धी मानिएको थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो। पुलिसलाई उपाधि जिताउन खेलको दोस्रो हाफमा रवी पासवानले गोल गरेका थिए। उनले हानेको १ गोल नै उपाधि जित्नको लागि निर्णायक बन्यो। पासवानले गोल हान्नु अघि पहिलो हाफको ३३ मिनेटमा पुलिसको पक्षबाट सुमन लामाले हानेको पेनाल्टी गोल रहित हुन पुगेको थियो। 

प्रतियोगिताको उपाधि विजेता पुलिस क्लबलाई ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपबिजेता थ्रीस्टारलाई ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

अन्तिम खेलको म्यान अफ दि म्याच थ्रीस्टारका एलेन न्यौपाने घोषित भएका छन्। उनलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ। यस्तै खेत अवधी भरमा सर्वाधिक गोल हान्न सफल थ्रीस्टारका अजय मार्टिनलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। उत्कृष्ट खेलाडीको रुपमा नुवाकोट ११ का उचित लामा छनोट भएका छन्। उनलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ।

उपाधि विजेता पुलिस क्लबका अनन्तराज थापा उत्कृष्ट कोच घोषित भएका छन्। उनलाई पनि २५ हजार रुपैयाँ प्रदान गरिएको छ। फाइनल खेलमा उपाधि प्राप्त गर्न निर्णायक गोल हान्न सफल रवी पासवानलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको छ।

विजेता क्लव तथा खेलाडीहरुलाई सम्मान गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले एक प्रदेश एक रंगशाला निर्माण गरिने योजना सरकारको रहेको बताएका छन्। मन्त्री विश्वकर्माले खेलाडीहरुलाई प्रोत्साहन गर्न तलब भत्ताको साथमा उपचार खर्च राज्यले व्यहोर्ने भएकोले उनले खेलाडीहरुलाई खेलमा नै भविष्य खोज्न आग्रह गरेका छन्। 

विशाल सिमेन्ट नुवाकोट गोल्ड कप २०७५ को संरक्षकको रुपमा रहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपाधि विजेताको लागि पुरस्कारको प्रायोजन गर्ने बेलकोटगढीका मेयर राजेन्द्ररमण खनाल र उपविजेता पुरस्कारको प्रयोजन गर्ने तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले नुवाकोटमा खेल क्षेत्र विकासको लागि स्थानीय सरकारले सधै आर्थिक सहयोगको साथमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। 

प्रकाशित: २६ जेष्ठ २०७५ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App