१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यात्रु भन्छन्– बाँच्ने आशा मारिसकेका थियौं, पुनर्जन्म भएको अनुभूति भइरहेछ

जुम्ला– नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको जहाज जुम्ला विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगञ्ज विमानस्थलबाट दिउँसो २ बजेर १५ मिनेटमा उडेको जहाज जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। ९ एन एईभी कलसाइन भएको तारा एयरको ट्वीनटर जहाज ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएपनि रनवे छाडेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी डा. तपन कुमार दाहालका अनुसार रनवे  छाडेर जहाज झण्डै ५० मिटर घासै मैदानमा गुडेको छ। उनले भने, ‘विमानस्थलको नालामा नोज नअड्किएको भए जहाज विमानस्थल भन्दा बाहिर निस्केर ठुलो क्षति हुने सम्भावना थियो।’ 

यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रुले एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मारिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ 

अहिले यात्रु सबै सकुशल छन्। चालक दलका सदस्य पनि सकुशल नै छन्। जहाजमा १६ जना यात्रु, एक बालक, एक शिशु र तीन जना चालक दल गरेर १९ जना सवार थिए। जहाजको नोज काडेतार भित्र पसेको छ। अगाडि इन्जिन बाहिर निस्केको देखिएको छ। डीएसपी दाहालले जहाज ठूलो दुर्घटना हुनबाट चालक दलले जोगाएको बताए। 

प्रत्यक्षदर्शी मयालाल देवकोटा चालक दलले जहाजलाई सहि दिशातिर नलिएको भए स्थानीयको घरमा ठोकिएर ठूलो क्षति हुन सक्ने बताउँछन्। ‘जहाज रनवेमा ल्याण्ड गर्ने वित्तिकै जम्प गरेको थियो। जम्प गरेर रनवेमा टेक्दै गर्दा टायर पञ्चर भएर अनियन्त्रित भएको थियो’, उनले भने, ‘यात्रु चिच्याउदै थिए, विमानस्थल बाहिरबाट आफन्तलाई लिन आएका सबैको रोइकराई शुरु भइसकेको थियो। तर जहाज एक्कासी काडेतारमा ठोकिएर रोकिएपछि ठुलो क्षति बेहोर्नु परेन। जहाज दायाँबायाँ ढल्कदै घासेमैदानमा गुडिरहेको बेला विमानस्थलका कर्मचारी, स्थानीय निकै त्रासिद थिए। जहाजलाई क्याप्टन जेके निरौला र कोपाइलट हिक्मत रोकायाले उडाएका थिए। को पाइलट रोकाया जुम्लाका बासिन्दा हुन्। 

जहाजका यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रु एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मरिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ उनले आजको दिनमा आफ्नो पुर्नजन्म भएको बताए।  

जहाज दुर्घटना भएको खबर पाउने वित्तिकै जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसहित विमानस्थलमा पुगिसकेका थिए। उनले उद्धारका लागि जनशक्तिसंगै उद्धारमा आवश्यक सबै सामाग्री पुगाइसकेको बताए। उनले भने, ‘जहाज दुर्घटनाको खबरले निकै दुःखी बनाएको थियो, तर विमानस्थलमा जहाजको अवस्था हेर्दा यात्रु र चालक दलको अवस्था सकुशल देख्दा खुसी भयौ।’ उनले जहाज दुर्घटना दुःखदायी घटना भएपनि सुखद क्षणको अनुभूति भएको बताए। 

विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार जहाज उडानका क्रममा निकै सन्तुलित थियो। अवतरणका क्रममा जहाज रनवेमा अघि बढ्दै गयो। अगाडिको चक्का एक्कासी पड्कियो।  पाइलटले जहाज रोक्ने प्रयास गरे। विमानस्थलको टु सेभेन बाट जहाज अवतरण गरिएको थियो। चक्काको रिम रनवेमै खसिसकेका थिए। विमानस्थलको ०९ को दक्षिण तिर मा पुगेर आन्तरिक तारबारमा गएर नोज ठोकियो, जहाज रोकियो, दुर्घटना हुन पाएन। उनले भने, ‘जहाज डिसव्यालेन्स भइरहदा चालक दलले रोक्ने अधिकतम प्रयास गर्दै थिए। तर जहाज रोकिएन घासेमैदानमै गएर घिस्रियो।’ 

विमानस्थल प्रमुख शर्माका अनुसार चालक दलका टोली अर्को तारा एयरको जहाजबाट सिमीकोट हुँदै काठमाडौंका लागि उडिसकेको छ। जुम्ला विमानस्थलमा अहिलेसम्म तीन वटा जहाज दुर्घटना भएकोमा यो दुर्घटनामा मानवीय क्षति भएन। शुरुमा नेकाेन एयरको एक पंखे जहाज र यति  एयरलाइन्सको जहाज विमानस्थलको ठिन्केमा ठोक्किएर दुर्घटना भइसकेका थिए।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App