ठ्याहा र मठ्याहाको द्वन्द्व

शुक्रबार, २५ जेठ २०७५, १० : ०४ युवराज गौतम

21


बहुचर्चित पुस्तक ‘ब्रेकिङ इन्डिया’को लोकार्पण समारोहमा हार्वर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक भारतीय विद्वान् डा. सुव्रमण्यम् स्वामीले उत्तर भारततिरका बासिन्दालाई आर्य तथा दक्षिण भारतीयलाई द्रबिड भनेर अंग्रेजहरू नै झगडाको बीउ रोपेको खुलासा गरेका छन्। दिल्ली नजिकै नोयडाको ब्राह्मण कुलमा जन्मेका रावणले श्रीलंका जितेपछि उतै बसाइँ सरेर राज्य गरे भने उनकी पत्नी मन्दोदरा मेरठमा जन्मेको कुरा पनि सुव्रमण्यम्ले सप्रमाण बोलेका छन्।

पश्चिमाहरूले जे भने पनि पत्याउने हाम्रो बानी बसेको छ। नेपालका हिमाल, पहाड र तराईका सनातन धर्मावलम्बी र बौद्धलगायत प्राचीन धर्म–संस्कृति मान्नेहरूबीच कुनै ठूलो मतभेद छैन। तर मधिसे–पहाडेको झगडा लगाउने, चुच्चे र थेप्चे भन्दै नेपालीहरूलाई आपसमा जुधाउने र नेपाली–नेपालीलाई ‘ठ्याहा र मठ्याहा’ सरह विभाजन गर्न खोज्ने कुबुद्धि आइएनजिओहरूले विषादिझैँ छरिरहेका छन्। ‘हामी नेपाली’ भन्ने एकताको पाठ सिकाउनुपर्ने संविधानमै दलित, जनजाति, आदिवासी, खसआर्य, मधेसी आदिको पर्खाल लगाएर नेपाललाई मानसिक रूपले प्लटिङ गरिएको छ भने संघीयताले भौगोलिक विभाजन र विद्वेषको भाव फैलाइहेरको छ। यो पनि नेपालीहरूलाई ठ्याहा र मठ्याहा बनाएर विभाजित गर्ने विदेशी षड्यन्त्र मात्र हो । तर कतिपय राजनीतिक दलहरूले यसलाई महान् उपलब्धि भनिरहेका छन्।

‘मैले भनेपछि जे पनि हुन्छ’ भन्ने अभिमानपूर्ण मानसिकताले काम गरेको हुँदा अहिले पनि ‘हुकुमी शासन’ छँदै छ।

प्रधानमन्त्री पदमा रहेकै बेला भीमसेन थापा थुनामा परे। बन्दी अवस्थामै उनले आत्महत्या गरे। प्रधानसेनापति भइसकेका दामोदर पाँडे लुमडी मन्दिर (भद्रकाली) नजिकै काटिए। उनी नेपोलियन बोनापार्टको युगमा ‘ग्राउन्ड ब्याटल’ (स्थलयुद्ध) र अन्य रणनीतिका महारथि थिए। मुलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्या र अंग्रेजसँग व्यापार–सन्धि गरेको अभियोगमा मारिए दामोदर । मारिने र थुनिने मात्र होइन, देश त्यागेर भाग्नेहरू पनि धेरै थिए।

दामोदर पाँडेसहित मृत्युदण्ड पाउनेको पंक्तिमा प्रबल राना मगर पनि थिए। ‘दिसा–पिसाब गरेर आउँछु’ भनी टुकुचा छेउबाट बेपत्ता भएका मगर केही दिनमा भागेर बनारस पुगे। भीमसेन थापाका कट्टर विरोधी देवीप्रसाद उपाध्याय (कूटनीतिज्ञ) सँग उनको भेट भयो बनारसमा। देवीप्रसादले मगरलाई उकासे “भीमसेन थापा प्रधानमन्त्री र प्रधानसेनापति भएपछि सर्वशक्तिमान भए। दामोदर पाँडे र तिमीजस्ता देशभक्तलाई मृत्युदण्डको सजाय दिने भीमसेन साह्रै निरंकुश व्यक्ति हुन् । तसर्थ, उनलाई अपदस्थ र असफल बनाउने रणनीतिमा अब हामी लाग्नुपर्छ।”

‘हामी नेपाली’ भन्ने एकताको पाठ सिकाउनुपर्ने संविधानमै दलित, जनजाति, आदिवासी, खसआर्य, मधेसी आदिको पर्खाल लगाएर नेपाललाई मानसिक रूपले प्लटिङ गरिएको छ। भौगोलिक विभाजन र विद्वेषको भाव फैलाइरहेको छ। यो पनि नेपालीहरूलाई ठ्याहा र मठ्याहा बनाएर विभाजित गर्ने विदेशी षड्यन्त्र मात्र हो।

कैँयन् दिन भोकभोकै यात्रा गरेर बनारस (काशी) पुगेका प्रबल राना मगरलाई आफ्नो भन्दा पनि नेपालको बढी चिन्ता थियो। देवीप्रसादको आँगनमा डोरीको खटियामा बसेर बात मारिरहेका थिए, देवीप्रसाद र प्रबल। देवीको कुरा सुनेपछि प्रबलले भने, “दाजु, तपाईंलाई त भीमसेन थापाले दुःख मात्र दिए । त्यही भएर काशीमा बस्नुभएको छ । मलाई त उनले मृत्युदण्ड दिने निधो गरे । तर पनि भीमसेन थापा साँच्चैका देशभक्त हुन्। उनी अंग्रेजसँग झुक्न चाहँदैनन् । तपाईं हामीले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर उनैलाई सहयोग गर्नुपर्छ । किनभने नेपाल अहिले संकटमा छ।”

प्रबलको कुराले देवीप्रसादको मन पग्लियो। “तिमीले भन्या कुरा सही हो भाइ। भीमसेनले निरंकुश भएर शक्तिको व्यापक दुरुपयोग गरे । पाँडे परिवारका साना केटाकेटीसमेत मारे भीमसेनले। पाँडे भारदारहरूलाई मारेर पँडेनीहरूलाई च्यामे–पोडेको जिम्मा लगाए। तर उनी हाम्रा शत्रु भए पनि राष्ट्रघाती होइन्न भन्ने तिम्रो तर्क मनासिब छ । तिम्रो विवेकप्रति म नतमस्तक छु । स्यावास भाइ, यसैलाई भन्छन् देशभक्ति।”

देवीप्रसाद र प्रबल दुवैका आँखा रसाए। दुवैले भीमसेनलाई सहयोग गर्ने प्रण गरे । “अब यस्तो कहिल्यै नहोस्” पुस्तकमा इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाको अभिमान र स्वाभिमानको सूक्ष्म विश्लेषण गरेका छन् । प्रबलको देशभक्ति र उदात्त चिन्तनको चर्चा गरेका छन्।

कुनै बेला नेपाल सामरिक दृष्टिले एसियाको मात्र होइन, विश्वकै उत्कृष्टमध्येमा पथ्र्यो । जर्मन सम्राट् विलियम केजरले पर्सियाका राजा समेतको बागडोर सम्हालेर सन् १८८८ देखि १९१८ सम्म शासन गरे । उनी ब्रिटिस साम्राज्ञी भिक्टोरियाका छोरीतिरको नाति हुन्।

सर्वशक्तिमान थिए विलियम केजर तर गोर्खाली सैनिकसँग मात्र डराउँथे। उनले भनेका छन्, “मेरा सैनिकहरू संसारका सबैजसो शक्तिशाली सेनासँग युद्ध गर्न सक्छन् तर गोर्खाली सेना भनेपछि मेरो मुुटु थर्किन्छ।” फ्रेडरिक इबर्टको नेतृत्वमा सन् १९१९ मा गणतन्त्र स्थापना भएपछि राजतन्त्र मासियो जर्मनीमा। त्यसपछि जर्मनी पूर्वी र पश्चिमी भागमा विभक्त भएर बीचमा पर्खाल लाग्यो । पूर्वी जर्मनीमा कम्युनिस्ट शासन सुरु भयो।

भिक्टोरियाका सन्तानले बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, लक्जेमवर्ग र स्वीडेनमा मात्र होइन, ग्रीस, रोमानिया र रसियामा पनि शासन गरे। युरोपका इतिहासहरूले महारानी भिक्टोरियालाई ‘युरोपकी हजुरआमा’ भनेका छन् । सन् १८१९ मा जन्मेकी ती हजुरआमा लामो चुल्ठो बाट्थिन् । भारतमा समेत उनको तस्बिर भएको पैसा चल्थ्यो अंग्रेजको शासनकालमा । भारतीयले आफ्नै मुद्रा र झन्डा देख्न पाएको सत्तरी वर्ष मात्र भयो । यता नेपालका लिच्छवि राजा मानदेवले झन्डै सोह्रसय वर्ष पहिले मानाङ्क नामक मुद्रा प्रचलनमा ल्याएको इतिहासमा पाइन्छ । चन्द्र–सूर्य अंकित देवध्वज हजारौँ वर्ष पुराना मन्दिरहरूमा देख्न पाइन्छ।

नेपालको पाँच हजार वर्षभन्दा पुरानो लिखित इतिहासका प्रशस्त आधार छन् । त्यसैले नेपाल र नेपालीले हीनभावना लिएर शिर झुकाउनुपर्ने कुनै कारण छैन। तर राष्ट्रलाई कमजोर बनाउन विदेशीका नोकरचाकरहरू सक्रिय छन् भन्ने हामीले बुझ्नैपर्छ । युवावर्गले यो यथार्थ बिस्तारै बुझ्न थालेको पाइन्छ । उनीहरू ब्युँझे भने त्यो अवस्थामा विदेशीको आदेश–निर्देश नमान्ने प्रबल सरकार बन्न सक्छ । र त्यस्तो सरकारलाई मात्र राष्ट्रवादी सरकार भन्न सुहाउँछ।

इतिहासको लामो कालखण्डमा नेपाल आज जस्तो कमजोर थिएन । तर बिस्तारै हामीले राष्ट्रभक्ति, साहस र इमानको बाटो त्यागिरहेका छौँ । गणेश रसिकको गीत छ, “दाइ त काले, भाइ पनि काले, कालेकाले मिलेर खाऊँ भाले।” त्यो गीत वर्तमान नेपालको कूटनीति र राजनीतिको आधार एवं आदर्श भएको छ । नेपाली राजनीतिज्ञहरूमध्ये अधिकांशले इतिहासप्रति रुचि राखिरहेका छैनन् । इतिहासबाट केही सिक्न पनि खोजिरहेका छैनन् । त्यसैले उनीहरूले कार्लमाक्र्स, माओ, गान्धी, नेहरु, स्टालिन, चे ग्वेभारा, लेनिन आदि बाहेक धेरैलाई चिन्दैनन्। मेचीपारिको नक्सलबाडी बजार छेउछाउका कानु सन्याल, जंगल संथाल (सतार) तथा चारु मजुमदारलाई चिन्छन्। तर नेपालमा राणा शासनकामै नागरिक हकका लागि संघर्ष गर्ने पचासाँै नायक–नायिका ओझेलमा पारिएका छन् । नागरिक हकका लागि वि.सं. १९८० देखि नै चेतना जागृत हुन थालेको पाइन्छ । २००७ सालमा आन्दोलन गर्ने हाम्रा पूर्वज र अग्रजले जनताका अधिकार दलले कब्जा गर्लान् भन्ने सायद चिताएका थिएनन्। आज जनअधिकार दलअधिकारमा रूपान्तरित हुँदै गएको छ।

सत्तामा पुग्नेबित्तिकै विधिको शासनलाई चुनौती दिँदै जेलमा रहेका जघन्य अपराधीलाई पनि ‘असल चरित्रको’ भन्दै क्षमादान गर्ने चलन केही वर्षयता सरकारको विशेषाधिकार जस्तो भएको छ। विगतमा नेपाली कांग्रेस, एमाले र माओवादीले पनि हजाराँैलाई माफी दिएकै हुन् । भैँसी र कुखुरा चोर्ने आदि ‘निर्दलीय कैदी’ मात्र जेल बस्नुपर्ने भयो । ‘मैले भनेपछि जे पनि हुन्छ’ भन्ने अभिमानपूर्ण मानसिकताले काम गरेको हुँदा अहिले पनि ‘हुकुमी शासन’ छँदै छ, फरक रंगरूपमा।

जंगबहादुरले वीर शमशेरलाई हाकिम बनाएर पाल्पा पठाए । वीरकी विवाहित पत्नी उद्दण्ड, जिद्दी र घमण्डी भएकाले दाम्पत्य जीवन सुखद थिएन भनेर ‘राणाशासनको वृत्तान्त’ पुस्तकमा प्रमोद शमशेरले लेखेका छन्।  

कच्कचे, दुष्ट र घमण्डी जीवनसाथी जसलाई पनि नदेखिने ठाउँको पिलो जस्तो हुन्छ । वीर श्मशेर पनि खञ्जन नानी (तोपकुमारी) भन्ने सुसारेसँग टाँसिन थाले । उनको गर्भबाट जन्मिए एक बालक । प्रधानमन्त्री जंगबहादुरले वीर शमशेरकी नयाँ पत्नीलाई ‘रानीसाहेब’ पद दिए । आज पनि कुनै दलको नेता प्रधानमन्त्री हुनासाथ त्यसरी नै सांसद, मन्त्री, राजदूतलगायतका पद बाँड्ने गर्छन् । प्रियजनलाई मान–पद्वी र अलंकार दिन्छन् । राज्यको सुख सुविधा प्राप्त गर्न तोपकुमारीले जस्तै सेवा गरे पुग्छ । पुरुष हुन् वा महिला, चाकडीबाज नै पहिला । यो कसरी लोकतन्त्र भयो?

जंगबहादुरका कान्छा भाइ धीरशमशेरका सत्र भाइ छोरामध्ये प्रायः सबै भाग्यमानी ठहरिए । तर जंगबहादुरका छोराहरूकै बिचल्ली भयो । सत्ताका लागि जे पाप गरे पनि हुन्छ भन्ने मानिसकता प्रबल हुँदै गयो । पछि गएर विवाहित पत्नीपट्टिका सन्तान (ठ्याहा) र ल्याइते पट्टिबाट जन्मेका (मठ्याहा) ध्रुवीकृत भए । आज हरेक दलमा ठ्याहा र मठ्याहा प्रवृत्ति र भेदभाव स्पष्ट देखिन्छ । पार्टी प्रमुखले रुचाएकाहरू मात्र ‘ठ्याहा’ हुन्छन् । बाँकी सबै मठ्याहा । दलमा नलाग्ने विज्ञ, ज्ञानी र अनुभवीहरू त झन् किनाराका साक्षी जस्ता मात्र भएका छन् । प्रहरी प्रशासनदेखि लिएर निजामती क्षेत्रलगायत हरेक ठाउँमा योग्य, इमानदार र सक्षमहरू समेतलाई फरक विचारको भन्दै मठ्याहा बनाइएको छ।

नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मात्र होइन, अधिकांश प्रभावशाली सञ्चारमाध्यममा विदेशी शक्तिको दबाब, प्रभाव छँदै छ । अभावमा बाँचिरहेका केही व्यक्ति र संस्थाले विरोध गर्दैमा विदेशीको हुकुम रोकिँदैन । बक्सरयुद्ध चलाउँदा चीनका राष्ट्रवादीहरू मारिएझैँ वा जापानका राष्ट्रवादीले ‘हाराकिरी’ गरेझैँ आफ्नै आँखा सामुन्ने मातृभूमिमाथि भइरहेको बलात्कार टुलुटुलु हेरिहेका छौँ हामी । न्यायदाताका कुर्सी, टेबलमा विदेशी दातृ निकायबाट प्राप्त भन्ने दरिद्रताको स्टिकर टाँसे पनि, जनप्रतिनिधिलाई विदेशी दालभात खुवाएर तालिम दिइयो भन्ने सुनेर जगत् हाँसे पनि आफूलाई बाह्य शक्तिका वैधानिक वा ठ्याहा सन्तान मान्नेहरू प्रसन्न देखिन्छन्।

सयाैँ ठाउँमा भारतले सिमाना मिचेको चाल नपाउने निष्प्राण सुरक्षा अंगहरू राष्ट्र र जनताको होइन, दलको सुरक्षा गर्ने ‘सेक्युरिटी सर्भिस प्रालि’ बन्दै गएको देखिन्छ। सीमान्त क्षेत्रका हजारौँ जनता भारतले दिनैपिच्छे सिमाना मिचेको प्रमाण देखाएर रोइरहेका छन्। जनताले बिरामी पर्दा जीवनजल नपाएर मर्नु परेका खबरहरू आइरहेका छन् । सात करोड रुपियाँभन्दा धेरै रकमको स्वागत–सत्कार गरेर छिमेकी देशका नेतालाई चुनाव प्रचारको वातावरण बनाइदिएको भन्दै जनकपुरकै बुद्धिजीवीहरू आलोचना गरिरहेका छन् । मठ्याहाहरू ठ्याहा बन्न आतुर छन् । नेपाली राजनीतिमा ‘ठ्याहा’ प्रमाणित हुन लैनचौरको मूलभट्टले आशीर्वाद दिनुपर्छ । प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतमै गर्नुपर्छ। नत्र टंकप्रसाद आचार्य वा मरीचमानसिंह जस्तो एकपल्ट मात्र प्रधानमन्त्री भएर चित्त बुझाउनुपर्छ। पटकपटक गरेर नौ वर्ष सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला र एकपल्ट मात्र प्रधानमन्त्री भएका टंकप्रसाद आचार्यको तुलना गर्दा नेपाली कांग्रेसका केही कार्यकर्ताबाहेक सबैले टंकप्रसादकै गरिमा उच्च रहेको बताउँछन् । टंकप्रसाद कसैसँग झुकेनन् र विदेशीसँग चुकेनन् । गिरिजाप्रसादले के गरे, के गरेनन् भन्ने चर्चा गर्दा चुनाव हारेर मूच्र्छित भएको कांग्रेस पुनः बेहोस हुन सक्छ।

संसदीय प्रणालीमा ५१ प्रतिशतले आफू अहंकारी, मूर्ख, राष्ट्रघाती, अनुभवहीन वा अयोग्य भए पनि ४९ प्रतिशत बुद्धिजीवी, सक्षम र योग्यहरूलाई पनि अल्पमत भन्दै पेल्न सक्छन्, पेल्छन्। विपक्षीहरू जति रोए पनि ‘लोकतन्त्रात्मक’ तानाशाही चल्छ । यसलाई राजनीतिशास्त्रका विद्वान्हरूले बहुमतको निरंकुशता (टाइरेनी अफ मल्टिच्युड) भनेका छन् । आइरिस राजनेता एडमन्ड बुर्केले भनेका छन्, “बहुमतको निरंकुशता ठट्टा होइन, निरंकुशता पनि दोब्बर हुँदै जान्छ ।” तलदेखि माथिसम्म विरोध वा आलोचना गर्नेहरू जति कमजोर बन्छन्, सरकार त्यतिकै ‘ठ्याहा’ बन्छ । अरू सबै मठ्याहा हुन्छन्।

तानाशाही कुनै एउटा व्यक्ति, संस्था वा सेनाको मात्र हुँदैन, वैधानिक निरंकुशता पनि हुन्छ । भारतमा जवाहरलाल नेहरु र उनका सन्तानले त्यही गरे। हजारौँ पत्रकारलाई थुनिन् इन्दिरा गान्धीले, सयौँ पत्रिका बन्द गराइन् । हजारौँ विरोधीहरू जेल परे। आपत्काल (इमर्जेन्सी) घोषणा गरेर विरोधीलाई दबाइन् इन्दिराले । सामान्य पत्रकारबाट इटलीको तानाशाही बने बेनिटो मुसोलिनी । मठ्याहा जस्तै हेपिएका दरिद्र रिपोर्टर मुसोलिनीले राष्ट्र हाँक्न थालेपछि धेरैको प्राण विसर्जन गरिदिए । लुई सोह्रौँ मारिएपछि उदाएका सामान्य सिपाही नेपोलियन फ्रान्सका तानाशाह बने । जर्मनीमा जनादेश र बहुमतबाटै उदाए हिटलर । हिटलर तानाशाहीको पर्यायवाची शब्द बन्यो।

‘फरेन पोलिसी’ नामक पत्रिकामा स्टेफन एम बाल्टले लेखेका छन्, “परम्परा, मूल्यमान्यता, इतिहासले स्वीकार गरेका सत्य र बहुसंख्यक जनताको विचारलाई कुल्चिदै जो मनपरी ढंगले चल्न खोज्छ, ऊ नै तानाशाह हो। उसले ‘हामी’ भन्दैन, ‘म’ भन्न थाल्छ।” जर्ज अर्बेलको ‘नाइन्टिन एटी फोर’ उपन्यासमा यस्ता पात्रको चर्चा छ । डा. एलेन्डेजस्ता माक्र्सवादी तानाशाहलाई समाप्त पार्न अमेरिकाले चिलीमा सैनिक तानाशाह अगस्टो पिनोचेलाई अघि सा¥यो । पिनोचे सिआइएको सिफारिसमा मठ्याहाबाट तुरुन्तै ‘ठ्याहा’ भए । वैधानिकता, औचित्य र लोकप्रियता गुमाइसकेका कैँयन् व्यक्ति विगतमा नेपालमा पनि ‘पत्रु’ ठहरिएका थिए । महाकाली सन्धिलगायतका घटनाक्रममा बिकेका त्यस्ता पात्र पुनः नयाँ जलप लगाएर ‘ठ्याहा’ भए।

आतंकवाद र उग्रवादजस्तै अधिनायकवाद ‘जनताकै हित’ भन्ने नारा लिएर आउँछ। क्याथोलिक चर्च, साम्यवाद, साम्राज्यवाद, प्रजातन्त्र, राजतन्त्र वा सैनिक शासनको भेषमा पनि आएको छ अधिनायकवाद। जनवाद, लोकतन्त्र, साम्यवाद वा समाजवादको जामा लगाएर पनि डरलाग्दा तानाशाहहरू आउन सक्छन्। तसर्थ, को कति प्रजातन्त्रवादी छ भन्ने कुरा व्यवहारमा देखिनुपर्छ । घोषणापत्र, भाषण वा कार्यसूचीमा त ठ्याहा–मठ्याहा सबै उस्तैउस्तै लाग्छन्। त्यसैले मानिसको भाषण, अनुहार, घोषणापत्र वा आश्वासन हेरेर होइन, उसको व्यवहार हेरेर राजनीतिका ठ्याहा–मठ्याहा छुट्याउन सकिन्छ। तर ठ्याहा र मठ्याहाको द्वन्द्व युगाैँयुगसम्म चलिरहन्छ। यो वर्गसंघर्षको नयाँ रूप हो।






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon