१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

काठमाडौंका समस्या मान्छेले नै निम्त्याएका हुन्

सन्तोष लामा, गायक

घुमेकामध्ये मनपरेको सहर कुन हो ?
मलाई अस्ट्रेलियाको मेलबर्न सहर ज्यादै सुन्दर लाग्यो । यो सहर शान्त र व्यवस्थित छ । सहरका हरेक कुरा व्यवस्थित पारिएको छ । यहाँ नेपालकोजस्तै हावापानी र भौगोलिक क्षेत्र छ । समुद्र र वनजंगल पनि छ । एकै दिनमा चार सिजन देख्न पाइने ठाउँ हो, मेलबर्न । वातावरणीय हिसाबले पनि यो ठाउँ राम्रो मानिन्छ ।

नेपालभित्र मनपर्ने सहर ?

पछिल्लो समय सबैले काठमाडौंलाई धिक्कार्छन् । सहर बिग्रियो भन्छन् । तर, मलाई यहीँ सहर राम्रो लाग्छ । काठमाडौंमा देखिएका समस्या मानिसकै कारण निम्तिएका हुन् । प्रदूषण हामीले नै निम्त्याएका हौं । विकास निर्माण पनि हाम्रै कारणले नभएको हो । सहरवासी र राज्यमा बस्नेहरूले सहरको विकासबारे सिन्को पनि भाँचेनन् । त्यसकारण सहरको अवस्था यस्तो भएको हो ।
हाम्रा सहर विकास हुन नसक्नुको कारण के हो ?

सरकारी निकायको लापर्वाहीले सहर विकास हुन नसकेको जस्तो लाग्छ । सरकारी निकायमा काम गर्ने कर्मचारीहरूमा दूरदर्शिता छैन । उनीहरूले आफू अनुकूल विकास गरेका छन् । जनपक्षीय विकास विरलै भएको छ । अहिलेसम्मको विकास निर्माण भविष्यलाई नहेरी गरिएको पाइन्छ । यसले भविष्यमा ठूलो समस्या निम्त्याउन नसक्ला भन्न सकिन्न । सडक, खानेपानी र अन्य विकास निर्माण देख्दा विकासको नाममा विनास भएको जस्तो लाग्छ ।

किनभने ती काम भविष्यलाई नहेरी गरिएका छन् । कर्मचारीले मनलाग्दी गरेका छन् । सबैतिर भ्रष्टाचार मात्रै गरेको सुनिन्छ । एक वाक्यमा भन्दा सरकारी निकायले तदारुकता नदेखाउँदा नेपालको विकास हुन नसकेको हो । सरकारी निकायमा बस्नेले आफ्नोमात्रै हेरे । यहाँको विकासलाई ध्यान दिएनन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ ।

उपत्यका बाहिरका सहर कतिको घुम्नुभएको छ ?
उपत्यका बाहिर धेरै राम्रा ठाउँहरू छन् । हालैमात्र पश्चिम क्षेत्रका केही सहर र ठाउँहरू पुगेर आएको थिएँ । त्यहाँका सहर र गाउँहरू धेरै सुन्दर तथा ऐतिहासिक लाग्यो । दाङ, नेपालगन्ज, महेन्द्रनगर पनि पछिल्लो समय सुन्दर बनेका छन् । पोखरा पनि पुगेको छु । मलाई यो सहर मलाई साह्रै मनपर्छ ।

पोखरा मनपर्नुको कारण ?
पोखरा सहर मनमोहक र सुन्दर छ । अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ । धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन । सहर शान्त र हल्लामुक्त छ । पछिल्लो समय पोखरा छिर्ने बाहिरी सडक पनि फराकिलो भएका छन् । फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र बनेको छ । पोखरामाथिको ठाउँहरू पनि मनमोहक छन् ।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?

दुबई, अस्टे«लिया, अमेरिका, कोरिया, हङकङलगायत सहर पुगेको छु ।

त्यहाँका सहर कस्तो लाग्यो ?
अति नै व्यवस्थित र सफा लाग्यो । त्यहाँका सहरमा कसैले पनि गलत काम गर्न पाउँदैन । हाम्रो सहरजस्तो फोहर र प्रदूषण विदेशका सहरमा छैन । त्यहाँ सहर कानुनी परिधिमा चलेका छन् । सरकारको नीति नियमलाई सबैले मानेका छन् । बाहिरका सहरको तुलनामा हाम्रा सहर धेरै नै पछि छन् ।

बाहिरी मुलुकको तुलनामा नेपालका सहरमा के भिन्नता पाउनुभयो ?

हामीमा सरकारले बनाएको नीति–नियम पालना गर्ने चेतना आएको छैन । राज्यले गर्ने काम पनि फितलो छ । सरकारले नै कडाई गर्न सकेको छैन । ज्ञान भएकाहरू पनि अज्ञान जस्तै बनेर सहरलाई कुरूप बनाउनतर्फ लागिपरेका छन् । अरु त परकै कुरा, हाम्रो सहरमा त जेब्राक्रसिङमै ज्यान जाला भन्ने जगजगी छ । विदेशमा त्यस्तो छैन ।

गल्ती गर्ने मध्यरातमै पनि कार्वाहीमा पर्छन् । मौलिकताको कसीमा नेपालका सहर अगाडि छन् । यहाँका मठ मन्दिर विश्वकै धरोहर हुन् । हिमाल र डाडाँकाडाँले नेपाललाई सुन्दर बनाएको छ । आधुनिकतालाई हेर्दा विदेशका सहर अगाडि छन् । यस हिसाबमा हामी पछि परेका छौं । अरु देशका सहर धेरै विकसित भइसक्दा पनि हाम्रोमा अझै सडक चौडा पार्ने काम सकिएको छैन ।

तपाईंकोे सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
पछिल्लो समय जनप्रतिनिधिले ल्याएका योजनाहरू निकै आशलाग्दा थिए । तर, ती योजना कागजमै सिमित रहने भए भन्दा फरक पर्दैन । किनभने एक बर्ष बित्दा पनि जनप्रतिनिधिले सिन्को भागेका छैनन् । सबै आ–आफ्नै स्वार्थको पछि लागेका छन् । सहर सुन्दर बनाउने सपना कसैले देखेनन् । मेरो विचारमा सहर सुन्दर र व्यस्थित हुनुपर्छ ।

सहरमा खुला ठाउँ र सास फेर्ने ठाउँहरू प्रशस्त हुनुपर्छ । मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने लाग्छ । सहरमा सबैखाले सेवा सुविधाहरू पाइयोस् । सहरका चोकहरू सुन्दर र सुरक्षित हौंन । सहरवासीमा एकताको भावना होस्, माया होस् । यति भयो भने सहर सुन्दर हुन्छ ।

उपत्यकालाई सपार्न के गर्नुपर्ला ?

काठमाडौंले आज कैयौं मानिसहरूका सपना पूरा गरिदिएको छ । यहाँका सेवा–सुविधा लिएर मानिसहरू संसारमै चर्चित बने । तर, उनीहरूले काठमाडौंलाई केही पनि दिएनन् ।

पछिल्लो समय उपत्यका दिक्कलाग्दो भएको छ । सहरवासीकै हेलचेक्रयाइले बिग्रिएको हो । अब यसलाई सपार्न सहरवासीहरू जुट्न आवश्यक छ । सरकारी निकाय र नागरिक समाज मिलेर काम गर्ने हो भने सहरको विकास पर छैन । माथिल्लो निकायले काम गर्ने हो भने १० वर्षमै काठमाडौं कायापलट हुन्छ ।

काठमाडौंलाई व्यवस्थित बनाउन सहरवासीको के भूमिका रहला ?
सहरवासीको मुख्य भूमिका रहन्छ । भइरहेका विकास निर्माणलाई छिटो सक्न सरकारी निकायलाई घच्घच्याउने । यहाँका पुराना कलाकृतिको रक्षा र संरक्षण गर्ने, सडक विस्तारलाई समयमै सक्नेलगायत काम गर्ने हो भने सहरको विकास हुन सक्छ । सरकारी निकायले पनि जनताले जुन कुरामा बढी दुःख पाएका छन् उक्त समस्यालाई केन्द्रमा राखेर काम गुर्नपर्छ ।

उपत्यकाको मुख्य समस्या के देख्नुभएको छ ?

यहाँको मुख्य समस्या भनेको खानेपानी हो । अहिले सहरमा जताततै खानेपानीको हाहाकार छ । सडकमा जताततै खाल्डाखुल्डी, ट्राफिक जाम र धुवाँधुलो सहरका मुख्य समस्या हुन् । यसले गर्दा सहर नै कुरूप भएको छ।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?

धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायतलाई केन्द्रमा राखेर काम गर्न जरूरी देखिन्छ । यी समस्या हल भएपछि काठमाडौं बल्ल सहरजस्तै बन्नेछ ।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
उपत्यकामा सबैखाले सेवा–सुविधा पाइन्छ । मौसम सदावहार छ । मलाई यहाँको मठ–मन्दिर पनि राम्रो लाग्छ । गर्न सक्ने र इच्छा हुनेलाई काठमाडौंले हरेक सुविधा दिएको छ ।

सहरभित्र घुम्न जाने ठाउँ ?

डाडाँतिर जान्छु । पछिल्लो समय उपत्यकाभित्र हिँड्डुल गर्न पनि बाटोको असुविधा छ ।

यहाँको मनपर्ने खानेकुरा के हो ?
यहाँको नेवारी खानेकुरा मनपर्छ ।

मन भएर पनि घुम्न नपाएको ठाउँ कुन हो ?

मलाई आफ्नै देशका ठाउँहरू घुम्ने रहर छ । अन्नपूर्ण बेसक्याम्प, मनाङ तथा मुस्ताङमा घुम्ने रुचि छ ।

पछिलो समय घुमेको सहर ?
केही दिनअघिमात्रै दाङ, धनगढी र महेन्द्रनगर पुगेको थिएँ ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App