१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ठेकेदार पक्राउ गर्न प्रहरी परिचालन

इटहरी - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टाबारी र हरिपुरमा पुल निर्माण पूरा गर्नुपर्ने समयावधि दुई वर्ष नाघिसक्यो । २०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गर्दा क्षति पुगेको र हरिपुरमा निर्माण थालिएको पुल २०७२ चैत ६ गते नै पूरा गर्नुपर्ने हो । तर, भण्टाबारीको ३३ प्रतिशत र हरिपुरको नौं प्रतिशत मात्र काम पूरा भएको छ।

पुल निर्माणका लागि अरनिको बाम्ती जेबी नामक कम्पनीले भण्टाबारीको पुल दुई करोड सात लाख १० हजार र हरिपुरको तीन करोड ४३ लाखमा निर्माण गर्नका लागि २०६९ चैत ६ गते सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयले ठेक्का लगाएको दुवै पुल निर्माणको जिम्मा लिएको ठेकेदारले लापरबाही गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले ठेकेदार विकासकुमार झालाई पक्राउ गर्न प्रहरीलाई सकुर्लर जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार झालाई पक्राउ गर्न सप्तरीमा प्रहरी टोली पठाइएको छ । ‘ठेकेदार झाको घर सप्तरी रहेको रेकर्डमा उल्लेख भएपछि पक्राउ गर्न प्रहरी त्यहाँ पठायौं, त्यहाँ पत्तो नलागेपछि अरुतिर पनि खोजी गर्न थालिएको छ,’ उनले सुनाए ।

२०६५ भदौमा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि तीन महिनाको निरन्तर प्रयासपछि कोसीलाई पूरानै धारमा फर्काइएको थियो । तत्कालीन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पूरै टुटेको थियो । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरुले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो । डुंगामा यात्रा गर्दा थुप्रैले ज्यानसमेत गुमाउनुपरेको थियो । पुल नबन्दा अहिले पनि राजमार्ग भएर गुड्ने सवारीसाधन आवागमनमा समस्या हुने गरेको छ।

सुनसरीकै सदरमुकाम इनरुवाको सखुवागाछीदेखि बबियासम्म पाँच किलोमिटर सडक निर्माण आर्थिक वर्ष ०७३-७४ मै पूरा गर्नुपर्ने भएपनि अहिले काम रोकिएको छ । ठेक्का लिएको रमन कन्स्ट्रक्सनले २० प्रतिशत काम गरेर अरु काम रोकेको हो । सहरी विकास मन्त्रालयले ठेक्का लगाएको यो सडकको निर्माण रोकिएकोमा प्रशासन कार्यालयले ठेकेदार कृष्ण बोहोरालाई पक्राउ गर्न प्रहरी खटाएको छ ।

जिल्लाभरका थ्रुपै सडक सुस्त गतिमा निर्माण भइरहेकामा  उजुरी परेका छन् । यी सबै सडक डिभिजन कार्यालयले ठेक्का लगाएको सडक निर्माण कम्पनीका ठेकेदारले गरेको कामको निगरानी थालिएको छ ।यता, सुनसरी दुहबी हुँदै मोरङको ततेरियाबाट झापा जोड्ने नयाँ राजमार्गको सिंगिया खोलाको पुल १४ वर्षअघि नै निर्माण पूरा हुनुपर्ने हो।

सिंगिया खोलाको पुल निर्माण गर्न १७ वर्षअघि एक करोड २१ लाख ५८ हजारमा ठेक्का दिइएको थियो । झन्डै २० प्रतिशत काम भएपछि ठेकेदार कम्पनी विवेक निर्माण सेवाले कम गुणस्तरीय सामान प्रयोग गर्दा विवाद हुन पुग्यो । विवादपछि ठेक्का नै रद्द हुन पुग्यो । ठेक्का रद्द गरुन्जेलसम्म ठेकेदारले एक करोड भुक्तानी लिइसकेको थियो । पछि सरकारी नियमकारी निकायले ठेक्का रद्द गर्दा उनले कुल ठेक्काबापत बुझाएको पाँच प्रतिशत रकम जफत गरियो । अहिलेसम्म त्यो पुलको निर्माण अघि बढ्न सकेको छैन ।

जिल्लाकै सिमरिया, तनमूना र छिटाहा जोड्ने टेंग्रा खोला पुल निर्माणको अवधि असारसम्ममा सकिनुपर्ने हो । तर, काम अहिलेसम्म ३० प्रतिशत मात्र भएको छ ।त्यस्तै, मोरङको भौडाहा–कटहरी सडक खण्डको जुडी खोला पुल ६ वर्षअघि नै ठेकेदार कम्पनीले निर्माण पूरा गर्नुपर्ने भएपनि अहिलेसम्म ७० प्रतिशत मात्र काम पूरा भएको छ । खाम्पाचे÷धेलिखेल÷हिमालयन जेभी कम्पनीले निर्माण जिम्मा लिएकोमा पटक–पटक चाँडो काम सक्न ताकेता गरेपनि ठेकेदार कम्पनीले अटेर गर्दै आएको छ ।

दुई वर्षअघि पूरा हुनुपर्ने मोरङको केराबारीको तुर्के पुलको पनि ६० प्रतिशत मात्र काम भएको छ । श्री निलगिरी÷नेसनल जेभी कम्पनीले निर्माणको ठेक्का पाएको पुल २०७३ असार मसान्तभित्रमा सक्ने सम्झौता छ ।सुनसरी–मोरङमा सञ्चालित पुलमध्ये ६ वटा पुलको निर्माण अवधि सकिएको छ ।

यही असार मसान्तभित्र ६ वटा पुलको समयावधि सकिँदैछ । सुनसरी–मोरङ पुल निर्माण आयोजना इटहरीले अहिले ३१ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । यीमध्ये समयावधि मै निर्माण सम्पन्न हुने ६ वटा रहेको जानकारी दिइयो । ‘पुल निर्माण ठूल्ठूला ठेकेदारले मात्र लिने हुँदा काममा भ्याइनभ्याई हुनाले गर्दा सुस्त गतिमा हुने गरेको हो,’ पुल निर्माण आयोजनाका शव इन्जिनियर लालबहादुर विश्वकर्माले भने, ‘काममा लापरबाही गर्नेको सूची प्रशासन कार्यालयमा बुझाएका छौं, अब प्रशासनले गृह मन्त्रालयमा बुझाउँला ।’

प्रशासन कार्यालयले यसअघि सुनसरीमा विकास–निर्माणको जिम्मा लिएर काममा लापरबाही गर्ने १८ ठेकेदारको सूची गृह मन्त्रालयमा पठाइसकेको छ । अब प्रशासन कार्यालयले सुुनसरी जिल्लाभरमा सम्पूर्ण योजनामा लापरबाही गर्नेको सूची बझाउने सहायक प्रजिअ भण्डारीले बताए।

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App