१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

काठमाडौं - प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष प्रि–मनसुनमा औसातभन्दा बढी पानी परेको छ ।

यो वर्ष नियमित वर्षासँगै सामान्यभन्दा ४० मिलिलिटर बढी पानी परेको विभागको तथ्यांकमा उल्लेख छ । सामान्यतया प्रि–मनसुनमा २ सय ३० देखि ४० मिलिलिटर वर्षालाई समान्य मानिने भए पनि यस वर्ष दुई सय ८० मिलिलिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार प्रि–मनसुनमा बीच–बीचमा वर्षा हुने र रोकिने भए पनि यस पटक नियमित जस्तै वर्षा भएको छ । ‘प्रि–मनसुनमा पनि औसतभन्दा धेरै वर्षा हुनसक्छ, तर प्रि–मनसुनमै यसरी नियमित जस्तै वर्षा भएको लामो समयपछि यस वर्ष नै हो,’ श्रेष्ठले भने।

महाशाखाको ६ वर्षको तथ्यांकअनुसार सन् २०१३ मा औसतभन्दा कम पानी परेको थियो । त्यतिबेला औसत २ सय मिलिलिटर पानी पर्नुपर्नेमा १ सय ८८ दशमलव २ मिलिलिटर अर्थात एक सयमा ९२ प्रतिशत पानी परेको थियो । सन् २०१४ मा पनि प्रि–मौसममा औसतभन्दा कम वर्षा भएको थियो । सो वर्ष औसत २ सय मिलिलिटर पानी पर्नुपर्नेमा १ सय ७२ मिलिलिटर पानी परेको थियो । २०१४ मा औसतभन्दा २३ प्रतिशत कम पानी परेको थियो ।

सन् २०१५ मा प्रि–मनसुनमा औसतभन्दा झन्डै दोब्बर बढी वर्षा भएको थियो । २०१५ मा औसतमा सय प्रतिशत वर्षा हुनुपर्नेमा २ सय ८ प्रतिशत वर्षा भएको थियो । त्यस्तै सन् २०१६ को तथ्यांकअनुसार नेपालमा प्रि–मनसुनको अवधिमा औसतभन्दा झन्डै साढे चारसय प्रतिशत बढी वर्षा भएको छ । सो वर्ष प्रि–मनसुनको अवधिमा ५ सय ३६ प्रतिशत वर्षा भएको थियो । मौसमविद् श्रेष्ठका अनुसार उक्त वर्ष केही ठाउँमा भारी वर्षा भएकाले वर्षाको मात्रा बढे पनि वर्षा भएको दिन भने कम थियो । ‘पोखरालगायतका स्टेशनमा निश्चित दिनमा भारी वर्षा भएकाले वर्षाको मात्रा औसतभन्दा बढी देखिएको हो,’ श्रेष्ठले भने।

सामान्यत जुन १० बाट मनसुन सुरु हुने भए पनि यो वर्ष त्यस भन्दा पहिले नै मनसुन सुरु हुने विभागले जनाएको छ ।

गत वर्ष पनि प्रि–मनसुनमा औसतभन्दा बढी वर्षा भएको छ । गत वर्ष औसतभन्दा २६ प्रतिशत अर्थात ४२ मिलिलिटर बढी पानी परेको महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ । मौषमविद् श्रेष्ठ पछिल्ला वर्षमा वर्षाको मात्रा औसतभन्दा बढी भए पनि वर्षा हुने दिन भने घटिरहेको बताउँछन् । ‘वर्षाको मात्रा बढिरहेको छ, तर वर्षा हुने दिन घटिरहेको छ,’ श्रेष्ठले भने । वर्षा हुँदा एकै दिन भारी वर्षा हुने भएकाले परिमाणमा बढी देखिएको उनी बताउँछन् । यो वर्ष भने वर्षाको मात्राभन्दा पनि वर्षा हुने दिनमा वृद्धि भएको महाशाखाले जनाएको छ । ‘यो वर्ष विगतका केही वर्ष भन्दा फरक वर्षा हुने दिन बढेको देखिएको छ, वर्षाको मात्रा पनि औसतभन्दा बढी देखिएको छ,’ श्रेष्ठले भने ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष प्रि–मनसुनको समय औसतभन्दा छिटो सकिने जनाएको छ । सामान्यत जुन १० बाट मनसुन सुरु हुने भए पनि यो वर्ष त्यस भन्दा पहिले नै मनसुन सुरु हुने विभागले जनाएको छ । विभागले मनसुन सुरु हुनुभन्दा पहिले अर्थात प्रि–मनसुनको बाँकी समयमा नियमित वर्षा हुने जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले प्रि–मनसुनमा पनि मनसुनमा जस्तै वर्षा भइरहेको हो ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App