१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'चित्रका चराले मनै उडायो'

चरा आफैंमा राम्रा। निला, हरिया, पहंेला, सेता, राता, काला जस्ता भए पनि राम्रा। कोही किरा खाँदै गरेका, कोही फल टोक्दै गरेका।  कोही उड्न तयार भएका, कोही  आकाशमा कावा खाँदै गरेका। 

चराहरूको अति सुन्दर जमघट शुक्रबार काठमाडौको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा देखियो। बंगलादेशी सौखिन फोटोग्राफर जलाल अहमदले खिचेका ५० थरीका चराका सुन्दर तस्बिर नियाल्दै दर्शकले तस्बिरमै भए पनि चरा हेर्दा मनमा  धेरै खुसी छाउने प्रतिक्रिया दिए।

फोटोग्राफर अहमदले बंगलादेशसँगै नेपाल पनि चराका लागि निकै राम्रो ठाउँ भएको सुनाए।  चरालाई प्रकृतिका अभिन्न अंग मान्ने अहमदले नेपाल बसाइक्रममा गोदावरी,  नगरकोट, पोखरालगायत ठाउँ पुगेर चरा अवलोकन गर्नुका साथै तस्बिर लिएको सुनाए।  प्रदर्शनीमा  बंगालदेशका ४० र नेपालका १० प्रकारका चराका तस्बिर राखिएका छन्।

'चरा सबै राम्रा,' उनले भने, 'किनकी चरा प्रकृतिसँग जोडिएका छन्।' चराले आफूलाई सधैं लोभ्याउने उनले सुनाए। बंगलादेशमा ७ सय ५० जातिका चरा पाइने जानकारी गराउँदै उनले नेपालमा त्यो भन्दा पनि बढी रहेको बताए। 

बंगलादेशको सरकारी सेवाका वरिष्ठ कर्मचारीसमेत रहेका अहमदले कामको क्रममा विभिन्न देश पुग्दा आफूले त्यहाँका चरा पनि अवलोकन गरेकोे सुनाए। उनले उड्दै  गरेका चराले मात्र हैन तस्बिरमा टाँसिएका चराले समेत मानिसको मन लोभ्याउने बताए। चराको सुन्दर तस्बिर क्यामेरामा कैद गर्नुको उद्देश्य मानिसलाई प्रकृतिसँग नजिक्याउनु पनि रहेको उनले सुनाए।

उनले भनेजस्तै प्रदर्शनीमा आएका सबै तस्बिरका चरा नियाल्दै रमाए। 'तस्बिरका चराले मनै उडायो,'  बानेश्वरका मिलन श्रेष्ठले भने, 'चरा नियाल्दै गर्दा उसैसंग जंगल, आकाशमा उडेको अनुभव भयो।' सानैदेखि चरा  मन पराउने उनी आफूलाई बर्ड लभर भन्न रुचाउँछन। 'चरा हेर्दा खुसी लाग्छ,' उनले भने, 'यसकै लागि जंगल यात्रा गर्छु।' 

 अर्का बर्ड लभर सुदर्शन कार्की चरा प्रकृतिसँग जोडिएको बताउँछन्। चराको अवस्थाबाट ऊ बस्ने ठाउँको वातावरण बु‰न सकिने उनले बताए। 'चरालाई हेरेर हामी त्यो ठाउँको  प्रकृतिको अध्यन गर्न सक्छौं,' उनले भने, 'चरा बढ्नु राम्रो हो, घट्नु निकै नराम्रो।'

नेपालमा ८ सय  ८० को हाराहारीमा चराका प्रजाति रहेको बताउँदै उनले काठमाडौं उपत्यकामा भने चराको अवस्था त्यति राम्रो नभएको सुनाए। 'सम्रगमा नेपाल चराका लागि स्वर्ग हो,' उनले भने, 'अनियन्त्रित बस्ती विकाससँगै उपत्यकामा चराको अवस्था र बस्ने वातावरण बिग्रँदै छ।'

 वरिष्ठ पन्छीविज्ञ हरिशरण नेपाली 'काजी' ले चरा धर्तीसँग जोडिएको भन्दै चराबिनाको संसार कल्पना गर्न नसकिने सुनाए। 'चरा नभएको देश के देश, चरा नभएको ठाउँ के ठाउँ,' उनले भने, 'चराको कुनै देश हुन्न तर हरेक देशमा चरा हुनुपर्छ।'

 तस्बिरको माध्यमबाट दुई देशबीच मित्रता बढाउने उद्देश्यले शुक्रबारदेखि राजधानीमा सुरु भएको उक्त प्रदर्शनी आइतबारसम्म चल्ने छ। नेपालका लागी बंगलादेशी राजदूत मासफी बिन्ते साम्स,  नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय र वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरेका थिए।

राजदूत साम्सले  प्रदर्शनीले  दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने सुनाइन्। कुलपति उपाध्यायले यो मानव जातिलाई  चरासँग तुलना गर्दै  दुवै राम्रा रहेको बताइन्। बंगलादेशी राजदूताबासले आयोजना गरेको प्रदर्शनीको नेपाल बंगलादेश बैंकले सहप्रायोजन गरेको  छ ।

प्रकाशित: १८ भाद्र २०७३ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App