१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

बलात्कारको बिगबिगी : वर्षमा ११३१

म थिएँ। घर परिवार थियो । स्वच्छ वातावरण थियो। साथीसँगीसँग मिली भविष्यको सपना कोर्न तल्लीन थियौँ। तर विधाताले भनौँ या पुरुषको कुकर्मले आफूलाई यहाँ उभ्याउन पुगेँ। म र मेरा साथीहरूलाई भुटानी सेनाले राति समातेर लगे। संयुक्त रूपमा एकोहोरो यौनान्दको अनुभूति लिए। अहंकारी मनको वासनाले लुछिदियो मेरा सबै सपना। सपना उजाड भए। हाम्रो जीवनको प्रत्येक क्षण यही क्रमले महिनौँ लुटिँदै गयो। अन्ततः हाम्रो निरस जीवनलाई एउटा ट्रकमा हाली भारतीय सेनाको छाता ओढाई बंगालको बाटो हुँदै मेची पुलमा ल्याएर छाडिदियो। आज पनि यो नारकीय जीवन बिताउन बाध्य छौँ। हाम्रो यो पीडा सुन्ने कोही भएन। आफ्नो देश र आफन्तबाट टाढा भएर शरणार्थी जीवन बिताउनुका पीडा त छँदै छ। (वर्ष ५० की पार्वती, नाम परिवर्तन)।

आँखाभरि आँसु झार्दै भनिन्— चाहिएको बेलामा काल पनि आउँदैन, न त आत्महत्या नै गर्न सकिँदो रहेछ।

बिस्तारै पार्वतीले यो पीडालाई बिर्सने कोसिस गर्दैछिन् तर समाजमा एकपटक बलात्कृत भएकी नारी बारम्बार बलात्कृत भइरहँदा रहेछन्। यही पुरुष अहं मनले बलात्कार ग-यो। फेरि यही पुरुष मनले बलात्कार भएको भनी छोड्यो कस्तो हुँदो रहेछ। त्यो पुरुष मन चिथोरेर हेर्न पाए हुन्थ्यो। तर आज यो सबै स्मृतिको पानामा  समेटिन पुगेको छ।

यो घटना थियो, एक भुटानी चेलीको, जो हाल चन्द्रगढीमा सानो चियाको पसल खोलेर गुजारा गर्दै आएकी छन्। आज नेपालमा दिनहुँ महिला, युवती, बालिकाहरूको अस्मिता लुटिन पुगेको छ। यसरी लुटिनु या बलात्कार बढ्नुको कारण के हो भनी कुनै निकायबाट खोजी पनि भएको देखिँदैन। प्रहरीले गरेको अनुसन्धानले बढ्दो आधुनिकता, परिवारको लापरबाही, मदिरा सेवन, सामाजिक सञ्जाल, फेसबुकलाई लिएको छ। पंक्तिकारको प्रश्न छ, ती प्रहरीलाई यस्ता घटनामा केही प्रहरी स्वयं दोषी देखिएका छन्। उनीहरूलाई केले प्रभाव प¥यो बलात्कार गर्न?

पंक्तिकारलाई आज पनि स्मरण छ। पोखरा घुम्न गएका नेपाली चेली नमिता, सुनिताको बलात्कार भएको कारणले मलाई बुबाले भन्नुभएको थियो— छोरी एक्लै हिँड्नु हुँदैन। त्यसबेला मेरो बाल मस्तिष्कमा बलात्कार कसले ग-यो भन्ने प्रश्न उठेको थियो। त्यो प्रश्न अहिले पनि यथावत छ। नमिता, सुनिताको बलात्कारपछि हत्या भएको कुरा आज २०७५ साल आइपुग्दासम्म बलात्कारी हत्यारा को थियो भन्ने कुरा र दोषीले सजायसम्म नपाएको अवस्था छ। यसको खोजी कसले गर्ने, कहिले गर्ने?

हाम्रो देशको न्याय प्रणाली, कानुनी आधार फितलो भएकै कारण सुनिता, नमिताका दोषीले उम्कने मौका पाए। ४ अगस्ट २०१३ मा घटेको बलात्कारको फैसला केही दिन अगाडि भारतको जोधपुर अदालतले बलात्कारीलाई आजीवन कैदको सजाय सुनायो। यो एक ऐतिहासिक फैसला थियो। ती बलात्कारी अरू कोही थिएन, धर्मको भक्षक धर्मगुरु आशाराम बाबु (ढोगी) जसले धर्मको आडमा आफ्नै आश्रममा पढ्दै गरेकी एक बालिकामाथि यो दुव्र्यवहार गरेका थिए। सायद त्यस बेला नमिता, सुनिताको केसमा र आज भइरहेका बलात्कार केसमा जोधपुर अदालतले गरेझैँ फैसला गरेको खण्डमा अवश्य दोषीले सजाय पाउने थिए। विडम्बना, यहाँ फैसला गर्दा हात काम्ने गर्छ र अपराधी उम्कन सफल हुन्छ।

नेपालको इतिहासमा नेपाली महिलाहरूको वीरगाथा त लेखिएको छ तर पीडाको गाथा भने लेखिँदैन, खोजिँदैन किन? आज युवती, महिला, बालिकाहरू सामूहिक बलात्कृत भइरहेका छन्। आफ्नै घरपरिवार, छरछिमेक र रक्षकहरूबाटै असुरक्षित हुन पुगेको अवस्था छ।

प्रहरी कार्यालयकै एक तथ्यांकले २०७३/७४ को अन्त्सम्म १ हजार १ सय ३१ वटा र २०७४÷७५ मा ५ सय २९ वटा बलात्कारका घटना दर्ता भएका छन्। यसै हिसाबले बलात्कारको घटना बढ्ने हो भने हाम्रा चेलिबेटीलाई कसरी जोगाउने? मनोवैज्ञानिक दृष्टिमा बलात्कार अनेक कारणले हुन सक्छ भन्छन्। यो एक प्रकारको रोग हो। जुन रोगको कारण रोगीले आफ्नै चेलीबेटीमाथि पनि यस्ता दुव्र्यवहार घटना घटाउन सक्छ।

मानसिक विचलन, व्यक्तित्व विकार, पुरुषतत्वको अहंकार, यौन विकृति, समाजमा रहेको लैंगिक विभेद साथै कामुकताका कारणले नभई नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ भन्ने कुरा महिलावादी लेखक सुसन ब्राउमिलरको लेखमा पढ्न पाइन्छ।

हाल भइरहेका घटनालाई नियाल्दा युवती, बालिकालाई एक्लै देख्नासाथ अधिकार जमाउन, खत्तम पार्न पर्छ भन्ने मनोवृत्ति भएका बलात्कारीहरूको संख्या बढेको छ। बलात्कार यस्तो अपराध हो, जसमा अपराध गर्ने र भोग्ने दुवैले दण्ड पाउँछन्। अपराध गर्ने पक्राउ परेको खण्डमा कानुनले सजाय दिन्छ भने बलात्कृत हुनेले जीवनपर्यन्त आफूले गर्दै नगरेको दोषको सजाय भोग्न बाध्य हुन्छन्।

बलात्कारमा यौन आवश्यकताको भूमिका हुन्छ। तर यो सिर्फ सेक्सुआलिटी या यौनिकतासँग मात्र सम्बन्ध हुँदैन। यसको अधिकार, हक, तागतजस्ता कुरामा भर पर्छ। समाजले छोराहरूको दिमागमा सानैदेखि तिमीहरू छोरा (पुरुष) हौ। तिमीहरूले जे गरे पनि छुट छ। महिला एक वस्तु हो, जसलाई पुरुषले सजिलै कब्जा गर्न, अधिकार जमाउन, अपमान गर्न सक्छ भन्ने भावनावाट प्रेरित भएका हुन्छन्। आफ्ना सन्तानलाई यस्ता नचाहिँदा कुरामा प्रोत्साहित गर्नु हुँदैन। हाम्रो कानुनमा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको खण्डमा ६ देखि १० वर्षको सजाय छ र त्यस्तै नाबालिकामाथि करणी भएमा १० देखि १५ वर्षसम्मको सजाय तोकिएको छ।

बलात्कारसम्बन्धी नयाँ ऐनमा पनि खासै परिवर्तन भएको देखिएको पाइँदैन। २०७५ भदौ १ देखि लागु हुने गरी पारित भएको नयाँ मुलुकी अपराध संहितामा यस्तो जघन्य अपराध गर्नेलाई थप ५ वर्ष सजाय बढाएर २० वर्ष अधिकतम सजायको व्यवस्था गरिएको छ भने सामूहिक बलत्कारमा थप ५ वर्ष यथावत नै छ।

कानुनले जे जस्तो व्यवस्था गरे पनि अपराध न्यूनीकरण गर्न अपराधीलाई दिइने सजायले महत्वपूर्ण भूमिका खेल्छ । यसैले राज्यले जबसम्म यस्ता घटनाका दोषीलाई कठोरभन्दा कठोर सजायको व्यवस्था, कानुनमा ल्याउँदैन तबसम्म बलात्कारी आशाराम (ढाेँगी) जस्तै भएर खुला रूपमा हाम्रो गाउँघरमा हिँडिरहनेछन् र फेरि अर्काे सिकारको प्रतीक्षामा रहनेछन्।

प्रकाशित: २३ जेष्ठ २०७५ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App