१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्थानीय तहमा योजना तथा बजेट निर्माण गर्न प्रशिक्षण

रसुवा - स्थानीय तहमा योजना तथा बजेट निर्माण कार्य सुरु भएसँगै जिल्लाका स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।स्थानीय तहमा योजना छनोट, प्राथमिकिकरण र बजेट निर्माण बारे भएका कानुनी व्यवस्था, योजना कार्यान्वनका लागि निर्वाह गर्नुपर्ने भूमिका र वडास्तरमा योजना प्राथमिकीकरण लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सञ्चालन गरिएको हो।

प्रशिक्षण बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्लाको पाँचवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सहभागी भएका थिए । वार्षिक योजना निर्माण गर्नका लागि गर्नुपर्ने पूर्व तयारी तथा योजना कार्यान्वयन लगायतको विषय प्रशिक्षणमा समेटिएको छ ।प्रशिक्षण कार्यक्रममा स्थानीय तहको वार्षिक योजना र बजेट तर्जुमा पूर्व तयारी, स्रोत अनुगमन तथा बजेट सीमा निर्धारणबारे जानकारी दिइएको जिल्ला समन्वय अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

‘बस्तीस्तरका योजना छनोट र वडास्तरमा योजना प्राथमिकीकरण गर्न यो प्रशिक्षण उपयोगी हुने छ,’ जिल्ला समन्वय अधिकारी पाण्डेले भने, ‘कार्यपालिकाका विभिन्न समितिमा बजेट छलफल र कार्यपालिका एवं सभाबाट स्वीकृति प्रक्रियाबारे समेत जानकारी दिएका छौं ।’आर्थिक ऐन, विनियोजन ऐन, तथा वजेट सम्बन्धी अनुसूचीहरुको जानकारी दिएको उनले बताए । ‘प्रशिक्षणमा हामी सैद्धान्तिक कुरा मात्रै होइन,’ उनले भने, प्रस्तुत भएका विषयबस्तुको अभ्यास समेत गराएका छौं ।’

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले प्रशासन सुधार र स्थानीय तहसँगको समन्वयबारे जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले तयार पारेको जिल्ला मार्गदर्शनको ड्राफ्टबारे प्रशिक्षणमा फिड ब्याक लिएको उनले बताए ।जिल्लाका स्थानीय तहहरुले बस्तीस्तरका योजना छनोट गर्ने कार्य गरिरहेका छन् । असार १० गतेभित्र गाउँसभा गर्नका लागि गाउँपालिकाहरुले कार्ययोजना बनाएर कार्य गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

प्रशिक्षणमा योजना कार्यान्वयन अनुगमन र मूल्याकंन सम्बन्धी व्यवस्थाबारे समेत जानकारी गराइएको आयोजकले जनाएको छ । आर्थिक वर्ष ०७५-७६ मा रसुवा जिल्लाको लागि ७४ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ।

मंगलबार सार्वजनिक भएको बजेटअनुसार जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा १६ करोड ३४ लाख, नौकुण्ड गाउँपालिकामा १५ करोड ८१ लाख, कालिका गाउँपालिकामा १५ करोड ६७ लाख, उत्तरगया गाउँपालिकामा १५ करोड ५४ लाख र आमाछोदिङ्मो गाउँपालिकामा ११ करोड आठ लाख बजेट परेको छ । यस पटकको बजेटमा सबैभन्दा बढी गोसाइँकुण्ड र सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकाको लागि बजेट विनियोजन भएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App