१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वाधार मन्त्री धनी, उद्योगमन्त्री गरिब

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ती विवरण अनुसार भौतिक पूर्वाधार मन्त्री खड्क खत्री प्रदेशका सबैभन्दा धनी मन्त्री हुन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सबैभन्दा गरिव मन्त्री हुन्।

निर्माण व्यवसायीसमेत रहेका भौतिक पूर्वाधार मन्त्री खत्रीसँग अर्बौको जमिन र शेयर छ। विवरण अनुसार खत्रीसँग सुर्खेतसहित कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा गरेर अबौंको जमिन छ। खत्रीको व्यक्तिगत नाममा विभिन्न बैङ्क, विद्यालय, क्याम्पसमा ११ करोड ८६ लाख ७१ हजार शेयर छ भने केवी एण्ड हिमाल ग्रुपको नाममा ९ करोड ५७ लाख ५३ हजार शेयर छ। यस्तै विभिन्न बैङ्कमा खत्रीको नाममा ४५ लाख र श्रीमती पुष्पा खत्रीको नाममा ३० लाख रुपियाँ नगद छ।

मन्त्री खत्रीको निर्माण कम्पनी प्रदिप कन्ट्रक्सनका नाममा तीन जीप, तीन मोटरसाइकल, पाँच स्काभेटर, आठ ट्रिपर, दुई ट्रक, तीन भ्याकुलिडर र एक थान स्कुटर छ । सम्पत्ती विवरणमा उनले २१ तोला सुन र एक केजी चाँदी दाइजोबाट प्राप्त भएको उल्लेख गरेका छन्। यस्तै विभिन्न निर्माण कम्पनीको नाममा आठ करोडभन्दा बढी ऋण रहेको उनले सम्पत्ती विवरणमा उल्लेख गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला दोस्रो धनी मन्त्री हुन्। उनीसँग सल्यान, बर्दिया, काठमाडौं र दाङमा घर, घडेरी र जमिन छ। सम्पत्ती विवरणमा ज्वालाले १५ लाख नगद, तीन तोला सुन र १० तोला चाँदी आफूसँग रहेको उल्लेख गरेका छन्। छोरा सौगात र आफ्नो नाममा विभिन्न सहकारी, बैङ्क र फर्ममा ५० लाख ६३ हजार पाँच सय रुपियाँ शेयर रहेको उल्लेख गरेका छन्। ज्वालाले आफ्नो सम्पत्ती विवरणमा एक ट्याक्टर, दुई भैसी, दुई गोरु, चार बाख्रा, दुई टेलिभिजन, दुई ल्याप्टर र छ मोवाइल रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा बुवा धनबहादुर शाहप्का नाममा घर र सम्पत्ती देखाएका छन् भने कैलालीको टीकापुरमा श्रीमती चन्दाकुमारी शाहीको नाममा दुई लाख ४५ हजारमा खरिद गरेको जग्गा देखाएका छन्। यस्तै छ तोला सुन र दुई सय तोला चाँदी रहेको उनको सम्पत्ती विवरणमा उल्लेख छ। मुख्यमन्त्री शाहीले विभिन्न बैङ्कमा सात लाख नगद रहेको देखाएका छन्। उनी आफै अध्यक्ष रहेको सुजो मल्टी प्रपोज प्रालिमा १० लाख र कृषि सहकारी संस्थामा १० हजार शेयर रहेको उल्लेख गरेका छन्। उनले आफूसँग पाँच हजार कुखुरा र पाँच रोपनी जमिनमा तरकारी खेती रहेको उल्लेख गरेका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका नाममा रुकुम, दाङ र सुर्खेतमा जमिन छ। उनीसँग नगद छैन्। उनले पिपुल इनर्जी लिमिटेडमा १५ लाख शेयर रहेको उल्लेख गरेकी छन्। 

सामाजिक विकास मन्त्री दल रावलको बाँके र हुम्लामा घर, घडेरी र जमिन छ। उनले सुर्खेतमा पनि २५ लाखमा जमिन खरिद गरेको उल्लेख गरेका छन्। उनीसँग ५५ तोला सुन र एक सय ५० तोला चाँदी छ। उनले पैतृक सम्पत्ती र दाइजोका रुपमा उक्त सुन र चाँदी प्राप्त गरेको उल्लेख गरेका छन्। विभिन्न बैङ्मा २७ लाख बढी बैङ्क मौज्दात रहेको उनले उल्लेख गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लाको देपालगाउँ र गणेशपुरमा बुवा हरिबहादुर भण्डारीका नाममा जमिन र घर रहेको उल्लेख गरेका छन्। उनीसँग १५ तोला सुन र १० तोला चाँदी छ। भण्डारीले सम्पत्ती विवरणमा एक लाख रुपियाँ नगद रहेको उल्लेख गरेका छन् भने बजाज कम्पनीको एक मोटरसाइकल र सामसुङ र ओप्पो कम्पनीका दुई मोवाइल रहेको सम्पत्ती विवरणमा उल्लेख छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासँग डोल्पामा पुख्र्यौली जमिन र घर छ। सम्पत्ती विवरणमा बुढाले आफूसँग नगद नरहेको बताएका छन्। उनीसँग १५ तोला सुन र एक किलो चाँदी छ। सम्पत्ती विवरणमा २५ वटा गाई, घोडा, भेडा र बाख्रा रहेको उल्लेख गरेका छन्। 

प्रकाशित: २२ जेष्ठ २०७५ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App