१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनसुन एक साताभित्रै सुरु हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन एक साताभित्र सुरु हुने जनाएको छ। सोमबार काठमाडौंमा आयोजित मनसुन फोरम तथा अन्तरदेशीय बाढी पूर्व सूचनासम्बन्धी एकदिने कार्यशालमा यस्तो जानकारी गराइएको हो।

जल तथा मौसम विज्ञान विभाग, लुथर्न वल्र्ड रिलिफ र एसिएन डिसास्टर प्रेपेडनेस सेन्टर, थाइल्यान्डको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा यो वर्षको मनसुन औसत हुने जानकारी गराइएको छ। प्रि–मनसुनदेखि नै पर्याप्त मात्रामा वर्षा भइरहेको अवस्थामा मनसुन भने औसत हुने विभागले जनाएको छ। विभागले यस वर्षको मनसुनमा धेरै वर्षा नहुने र खडेरीको अवस्था पनि नरहने जनाएको छ।

कार्यक्रममा बाढी पूर्वानुमान महाशाखाले यस वर्षदेखि नेपालका मुख्य नदीमा बाढीको अनुमान तीन दिनअगाडि नै गरिने जनाएको छ। यस वर्षदेखि नेपालका मुख्य नदीहरू कोसी, गण्डकी, कर्णाली, बागमती र पश्चिम राप्तीलगायतमा ३ दिनअगावै बाढी पूर्वानुमान गर्ने प्रणालीको विकास गरेको हाइड्रोलजिस्ट विनोद पराजुलीले जानकारी दिए । ‘कम्प्युटर मोडेलको प्रयोगमार्फत बाढी पूर्वानुमान गर्ने र मुख्य सरोकारवालालाई जानकारी गराउने कार्य यस वर्षदेखि विधिवत सुचारु गरिँदैछ, यसले बाढीको लिड टाइम बढाउने छ,’ उनले भने।

मनसुनका बेला बाढी पूर्वानुमान तथा मौसम पूर्वानुमान शाखा २४ घण्टा सञ्चालनमा रहने तथा साना नदीमा बाढीको पूर्वानुमान २४ घण्टाअगाडि गरिने तयारी भइरहेको पराजुलीको भनाइ छ। विभागले आपतकालीन मनसुन कार्ययोजना जारी गरिसकेको छ भने बाढी पूर्वसूचना कार्यसञ्चालन विधिसमेत पारित गरिएको छ।

मनसुन आपतकालीन कार्ययोजना २०७५ मा जल तथा मौसमजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्ने विभिन्न कार्ययोजना तय गरिएको छ। कार्ययोजनामा देशका बाढी प्रभावित विभिन्न नदीनालाको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विस्फोट वा अन्य कारणले उत्पन हुन सक्ने बाढीसमेतका लागि पूर्वसूचना प्रवाह गर्न जलविज्ञान महाशाखाअन्तर्गतको बाढी पूर्वानुमान शाखा मनसुनको अवधिभर २४ सै घण्टा सुचारु गरिने उल्लेख छ।

त्यस्तै मनसुनको समयमा हरेक दिन बिहान ६ बजे र बेलुकी ६ बजे बाढीको पूर्वानुमान बुलेटिन जारी गरिने तथा पूर्वानुमानको समय कम्तीमा २४ घण्टादेखि ३ दिनपछिसम्मको हुने उल्लेख गरिएको छ।

प्रि–मनसुन अवधिभर नियमित वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु हुनुभन्दा एक साताअघिदेखि नियमित वर्षा हुने जनाएको छ।

प्रि–मनसुनका बेला छिटफुट वर्षा हुने भए पनि हाल मनसुनकै जस्तै वर्षा भइरहेको महाशाखाले जनाएको छ। पछिल्ला केही दिनमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो अवस्था मनसुन सुरु हुने बेलासम्म रहिरहने महाशाखाले जनाएको छ। मंगलबार पनि दिउँसोबाट वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘सामान्यत प्रि–मनसुनमा मेघ गर्जनसहित छोटो समयका लागि वर्षा हुने गर्छ तर यसपटक लामो अवधिसम्म पनि वर्षा भइरहेको छ,’ मौसमविद् समिर श्रेष्ठले भने। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले प्रि–मनसुनमै वर्षा भइरहेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठले प्रि–मनसुनको अवस्थामा पनि निरन्तर वर्षा भइरहेकाले मनसुनका लागि अनुकूल वातावरण भइरहेको जानकारी दिए।

हाल दक्षिण भारतमा मनसुन सुरु भइसकेको र नेपालमा पनि छिट्टै मनसुन सुरु हुने श्रेष्ठको भनाइ छ। श्रेष्ठले ३० वर्षयता प्रि–मनसुनको अवस्था हेर्दा यो वर्ष सामान्यभन्दा बढी वर्षा भएको बताए। नेपालमा जुन १० तारेखबाट मनसुन सुरु हुने भए पनि यसपटक पहिले नै मनसुन सुरु हुने महाशाखाले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App