१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

काठमाडौं - ठूलो लगानी आवश्यक पर्ने सिमेन्ट उद्योगको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा स्वदेशी उत्पादन बढ्दै गएको छ । हाल मुलुकमा आफैं कच्चा पदार्थ उत्पादन गर्ने १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको अवस्थामा थप १० यस्ता उद्योग आउने तयारीमा छन् ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७४-७५ का अनुसार मुलुकमा हाल १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्, जसले आफैं क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गरिरहेका छन् । थप १० वटा यस्ता सिमेन्ट उद्योग निर्माणाधीन अवस्थामा छन्।

मुलुकभर कुल ५४ सिमेन्ट उद्योग रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । उनका अनुसार आफैं क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्ने उद्योगको संख्या १५ पुगेको छ । जसलाई ‘इन्टेग्रेटेड प्लान्ट’ भनिन्छ । त्यसैगरी, बाहिरबाट क्लिंकर उत्पादन आयात गरेर वा स्वदेशकै उद्योगका क्लिंकर किनेर सिमेन्ट उत्पादन गर्ने उद्योगको संख्या ३९ छ ।

‘हाल मुलुकमा वार्षिक ७२ लाख टन सिमेन्ट उत्पादन भइरहेको छ,’ थापाले भने, ‘माग ८० लाख टन छ ।’ उनका अनुसार वार्षिक झन्डै १० प्रतिशतले सिमेन्ट माग बढिरहेको छ ।आर्थिक सर्वेक्षणमा भने मुलुकमा वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन भइरहेको उल्लेख गरेको छ ।‘वार्षिक ४० लाख टन सिमेन्ट स्वदेशमै उत्पादन भएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘यो मुलुकमा हाल मागको ८० प्रतिशत हो ।’ सञ्चालनमा रहेका १३ सिमेन्ट उद्योगको प्रतिदिन उत्पादन क्षमता आठ हजार चार सय ५० टन रहेको सर्वेक्षणमा उल्लेख छ । सिमेन्ट उद्योगको खानी क्षेत्रसम्म सडक तथा विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले प्राथमिकता दिएकोले सिमेन्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेख्य सफलता मिलेको सरकारको दाबी छ।

स्वदेशी उद्योग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । यसले आयात घट्दै गएको मात्र होइन निर्यात पनि गर्न सकिने निजी क्षेत्रको भनाइ छ । आत्मनिर्भर मात्र नभएर निर्यातको वातावरण बनाउन सरकारले विशेष पहल गर्नुपर्ने व्यवसायीको आग्रह छ । आगामी पाँच वर्षभित्र सिमेन्टको माग आपूर्ति स्वदेशी उत्पादनबाटै हुने र निर्यात समेत गर्न सक्ने अवस्था रहेको सर्वेक्षणमा उल्लेख छ ।

सरकारले सिमेन्ट उद्योगको विकास गर्न भनेर औद्योगिक पूर्वाधार विकास अन्तर्गत पहिलो प्राथमिकतामा राखेर सडक तथा प्रसारण लाइन बनाइरहेको छ । चुनढुंगा खानीसम्मको सडक निर्माण गर्न सरकारले हरेक वर्ष बजेट छुुट्ट्यउँछ ।
हाल सञ्चालनमा रहेका, सञ्चालन हुने क्रममा रहेका र निर्माणाधीन सिमेन्ट उद्योगलाई प्राथमिकता दिई नेपाल विद्युत् प्राधिकरणमार्फत प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिरहेको छ भने सडक विभाग मार्फत पहुँच सडक निर्माण कार्य भइरहेको छ ।

विभिन्न १४ सिमेन्ट उद्योगको लागि सरकारको सेयर लगानी रहने गरी प्रसारण लाइन तथा सवस्टेसन निर्माण र ३१ खानीस्थलमा पहुँच मार्गको लागि चार सय २० किलोमिटर सडक निर्माण गर्ने कार्य अघि बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा एक सय ९२ किलोमिटर खानीस्थलसम्म पहुँच मार्ग निर्माण सम्पन्न भएको छ ।देशका विभिन्न स्थानमा रहेका खानीको उत्खनन गरी सिमेन्ट उत्पादन, बिक्री र निकासी गर्ने सिमेन्ट उद्योगको लागि सरकारले आर्थिक वर्ष ०६४÷६५ देखि सडक तथा विद्युत् पूर्वाधारहरू उपलब्ध गराउने नीति लिएको हो ।

मुलुकको विभिन्न क्षेत्रमा करिब ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य गरी करिब एक अर्ब सात करोड टन चुनढुंगा अन्वेषण भएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ ।मुलुकमा चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम टुर्मालिन, काइनाइट लगायत एक सय २६ खानी सञ्चालनमा छन् । यसमा करिब ६ हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । चालु आवमा कुल गार्हस्थ उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.६ प्रतिशत हुने अनुमान छ ।

अहिले पनि ठूला परियोजनाका लागि झन्डै २० प्रतिशत सिमेन्ट आयात हुने गरेको छ । ठूला आयोजना निर्माण गर्न ग्रेडको सिमेन्ट चाहिने भएकाले भारतबाट आयात भइरहेको व्यवसायी बताउँछन् । विशेष गरी आइबिसी (इन्टरनेसनल बिडिङ कम्पेटिसन) का कारण सिमेन्ट र डन्डी ल्याउँदा भन्सार छुट पाइने भएकाले आयात गरिएको हो । कुनै पनि ठूलो आयोजनालाई कुनै विशेष किसिमको सिमेन्ट–– जस्तै ५३ ग्रेडको–– चाहिन्छ भन्ने प्रावधानका कारण बाहिरबाट सिमेन्ट आएको हो । नेपालमा अहिलेसम्म ग्रेडका आधारमा सिमेन्ट उत्पादन भएको छैन।

सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर हुन क्लिंकरमा पनि आत्मनिर्भर हुनुपर्छ । सिमेन्ट उत्पादन गर्न चाहिने प्रमुख कच्चा पदार्थ क्लिंकर पनि भारत लगायत विभिन्न देशबाट आउने गरेको छ । गत वर्षको तथ्यांक अनुसार नौ अर्ब ८३ करोड ५४ लाखभन्दा धेरैको क्लिंकर आयात भएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App