१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जोखिम बढे'नि तान्छ डलरले

शव लिन काबुल पुगेको नेपाल एयरलायन्सको चार्टड विमानमा फर्किएका नेपाली कामदार। तस्बिर : विजय गजमेर

काठमाडौं- • आतंकवादी समूह तालिबानको आत्मघाती आक्रमणमा सोमबार अफगानिस्तानको काबुलमा १२ नेपाली मारिए, सात घाइते भए।

• दुई वर्षअघि सन् २०१४ मा पनि तालिबानको आत्मघाती आक्रमणमा दुई नेपालीले ज्यान गुमाएका थिए भने एक गम्भीर घाइते।

• सन् २००८ अप्रिल १८ मा तालिबानले एक नेपालीको अपहरण गरी महिनादिनपछि मुक्त गरिदिए।

अफगानिस्तानमा तालिबानले बारम्बार नेपाली कामदारमाथि आक्रमण गर्दै आएका छन्। वैदेशिक रोगजारका लागि अति जोखिमयुक्त अफगानिस्तानका केही ठाउँ जानका लागि मात्र सरकारले खुला गरेको छ। अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघअन्तर्गत निकाय र दूतावासबाट श्रमस्वीकृति लिएपछि मात्र नेपाली जान पाउँछन् तर आकर्षक तलब सुविधाका कारण जोखिम उठाएरै अवैध तरिकाले बिनाश्रमस्वीकृति अफगानिस्तान पुग्ने नेपालीको संख्या ठूलो छ।

सोमबार मारिएका १२ नेपालीमध्ये ११ जना वैध तरिकाले त्यहाँ पुगेका थिए भने एक जना मात्र अवैध रुपमा। यो संयोग मात्र हो, नत्र वैध रुपमा भन्दा दलालको प्रलोभन र आकर्षक तलबको मोहमा अवैध बाटो अपनाएर अफगान पुग्ने नै बढी छन्। 

उनीहरु कुवेत, युएईको 'भिजिट भिसा' लिएर अफगान पुग्छन्। यस्ता धेरै नेपालीसँग अफगानिस्तानको भिसा नै हुँदैन।

अफगानिस्तानमा कति नेपाली छन्, यकिन तथ्यांक सरकारसँगै छैन। तथ्यांक छ त वैधानिक रुपमा गएकाको मात्र। अवैध तरिकाले जानेहरु कुनै दुर्घटनामा परे न क्षतिपूर्ति पाउँछन् न बिमा रकम।

'हामीसँग श्रमस्वीकृति लिएर गएकाको मात्र तथ्यांक छ। अवैध तरिकाले कति अफगानिस्तान पुगेका छन्, हामीसँग तथ्यांक छैन,' वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले नागरिकसँग भने, 'सोमबार मारिएका १२ नेपालीमध्ये एक जनाको तथ्यांक हामीकहाँ भेटिँदैन।'

सरकारी तथ्यांकअनुसार २०६३ सालदेखि २०७३ वैशाखसम्म श्रमस्विकृति लिएर अफगानिस्तान जाने नेपाली कामदारको संख्या ९ हजार ८ छ जसमा ४२ जना महिला छन्। पछिल्लो १० महिनामा १ हजार २ सय १३ जना नेपाली अफगानिस्तान पुगेका छन्। आर्थिक वर्ष २०७१/७२ मा यो संख्या १ हजार ५ सय १ थियो।

 

'तेस्रो मुलुक हुँदै कतार, युएईलगायतको भिजिट भिसामा अवैध रुपमा अफगानिस्तान पुग्ने गरेको हामीले सुनेका छौं,' अधिकारीले सुनाए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार अवैध रुपमा जानेहरु समस्यामा परेपछि मात्र नेपाली दूतावासको सम्पर्कमा आउने गर्छन्। पाकिस्तानस्थित नेपाली दूतावासलाई अफगानिस्तान समेत हेर्ने जिम्मेवारी दिइएको छ। 'केही आकर्षक तलब पाइने हुँदा लोभिएर आफैं अफगानिस्तान पुगेको देखन्छ भने केहीलाई दलालले झुक्याएर पुर्‍याएका छन्,' पाकिस्तानका लागि नेपाली राजदूतको कार्यकाल सकेर केही साताअघि मात्र परराष्ट्र मन्त्रालय फर्केर प्रवक्ताको जिम्मेवारी सम्हालेका पौड्यालले भने।

अहिले अफगानिस्तानमा बढीमा साढे २ हजार नेपाली कार्यरत रहेको अनुमान पौड्यालको छ। सन् २०१४ मा त्यहाँ रहेको नेटो फोर्सको आकार घटाएपछि नेपालीको संख्या पनि घटेको बुझाइ उनको छ तर अफगानिस्तानमा अवैध तरिकाले पुग्नेको संख्या ठूलो रहेको उनी स्विकार्छन्।

'श्रमस्वीकृति लिएर जाने दुर्घटनामा परिहाले पनि उपचार खर्च, अन्य सेवासुविधा पाउँछन् तर अवैध तरिकाले जानेले रोजगारदातासँग कस्तो सम्झौता गरेका हुन्छन्, त्यसमा निर्भर गर्छ,' उनले भने।

अवैध रुपमा जानेले प्रत्येक वर्ष दसैंको मुखमा पाकिस्तानस्थित नेपाली दूतावासलाई सामुहिक पत्र लेख्ने गर्छन्। उनीहरुको एउटै आग्रह हुन्छ नेपाल आउँदा र अफगानिस्तान फर्कदा नेपालको अध्यागमनले कुनै अवरोध नगरोस्। अवैध तरिकाले भिजिट भिसामा जाने हुँदा स्वदेश फर्कदा उनीहलाई अध्यागमनले पक्राउ गर्नेगर्छ। यही पक्राउबाट जोगिन र पुनः काममा अफगानिस्तान फर्कन उनीहरुले प्रत्येक वर्ष दसैंको मुखमा दूतावासलाई पत्र लेख्ने गर्छन्।

'म अफगानिस्तानको भिसा नलिई अफगानिस्तान पुगेको थिएँ। भिजिट भिसामा दुबई पुगेपछि मलाई सिधै हेलिकप्टरमा राखी काम गर्ने स्थानमा झारिएको थियो। काम गर्ने स्थानबाट बाहिर निस्कन पाइँदैनथ्यो। नेपाल फर्कंदा हेलिकप्टरबाट दुबई गइयो, त्यसपछि जहाजमा नेपाल,' दुई वर्ष अफगानिस्तानमा काम गरी एक वर्षअघि मात्र नेपाल फर्केका एक नेपाली कामदारले भने।

दुई वर्षअघि अवैध रुपमा अफगानिस्तान पुगेर दसैमा घर फर्कन पाउँ भनी नेपाली दूतावासलाई ५ सय ५५ जनाले हस्ताक्षर गरी बुझाएको पत्रमा उनीहरुलाई त्यहाँसम्म कसरी पुर्‍याइयो भन्नेसमेत स्पष्ट उल्लेख छ। आकर्षक तलबकै आसले ठूलो जोखिम उठाएर अफगानिस्तान गएको उनीहरुले पत्रमा स्विकारेका छन्। उनीहरुले पत्रमा अफगानिस्तानको कान्दाहार एयर बेसलाई आधार बनाई कार्यरत नेपाली संख्या २ हजारदेखि २ हजार ५ सय रहेको उल्लेख गरेका छन्।

पूरै अफगानिस्तानमा २० देखि ३० हजार नेपाली कार्यरत रहेको उनीहरुको आँकलन छ।

 

'मासिक आम्दानीका हिसाबले हरेक नेपालीको न्यूनतम तलब ६ सय अमेरिकी डलरदेखि अधिकतम ८ हजार अमेरिकी डलरसम्म छ। अधिकांश नेपालीको औसत तलब मासिक १ हजार डलरभन्दा बढी छ,' उनीहरुले पत्रमा उल्लेख गरेका छन्।

अवैध रुपमा जाने धेरै जसो नेपाली भारतबाट दुबई हुँदै अफगानिस्तान पुग्ने गर्छन्। दुबईबाट उनीहरुलाई चार्टर गरिएका विमानमा सम्बन्धित स्थान पुर्‍याइन्छ। यसरी जाँदा अफगानी भिसासमेत नचाहिने उनीहरुले पत्रमा स्पष्ट लेखेका छन्।

'सम्पूर्ण रुपमा नेटो सैनिकको स्वामित्व र नियन्त्रण रहेको यस्ता एयर बेसमा अफगानी अध्यागमन मात्र नभई अरू कुनै सरकारी प्रतिनिधित्वसमेत हुँदैन जसले कुनै विदेशीलाई पनि अफगान भिसाको आवश्यकता पर्दैन,' पत्रमा छ।

पौड्यालका अनुसार अफगानिस्तानमा अवैध रुपमा जाने क्रम रोकिएको छैन। वैध तरिकाले जानेभन्दा अवैध तरिकाले अफगानिस्तान पुग्ने नेपालीको संख्या निकै ठूलो छ। अफगानिस्तानमा जोखिम दिनप्रतिदिन बढ्दो छ, तैपनि नेपाली वैध तथा अवैध दुवै तरिकाले जान रोकिएको छैन। आतंकवादी तालिबान समूहले सर्वसाधारण र विदेशीलाई लक्षित गरी ठूला आक्रमण गर्दै आएको छ। पछिल्ला दिन उक्त समूहले विदेशीप्रति आक्रमण बढी लक्षित गरेको छ।

सन् २०१६ को जुन १ यता मात्र तालिबान र इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा १२ नेपालीसहित ९३ जना सर्वसाधारण र सुरक्षाकर्मी मारिएका छन्। यही अवधिमा तालिबान र आइएसको आक्रमणमा १ सय ६७ जना अफगानिस्तानमा घाइते भएका छन्। अघिल्लो महिना (मे) पनि तालिबान र आइएसको आक्रमणमा ६९ सर्वसाधारणले ज्यान गुमाएका थिए भने २ सय ७५ जना घाइते बनाइए। तालिबान र आइएसले नेटो बेस क्याम्प, अफगानी सुरक्षाकर्मीको कार्यालय, युएन कार्यालय, दूतावास, सार्वजनिक यातायात, अदालतलगायत स्थानलाई निसाना बनाउँदै आएका छन्। तालिबान र आइएसले निसाना बनाएका क्षेत्रमै नेपालीलाई रोजगार प्रदान गरिँदै आएको छ। अझ यस्ता ठाउँमा वैध तरिकाले भन्दा पनि अवैध तरिकाले नेपाली पुग्दा जोखिम झन् बढेको छ।

प्रकाशित: ९ असार २०७३ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App