१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रथम काभ्रे आलु महोत्सव सकियो

बनेपा – काभ्रे जिल्ला दक्षिणी भेगको बेथान्चोक गाउँपालिका–२, ढुंखर्कमा जिल्लाकै पहिलो आलु महोत्सव आयोजना गरिएको छ। फस्टाउँदो आलु खेती र यसका नौलो परिकारबारे जानकारी दिन महोत्सवको आयोजना गरिएको हो।

काभ्रेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपरजोन एकाइको सहयोग र गाउँपालिका, महोत्सवलाई आलु जोन, भक्तपुर र जिल्ला कृषिविकास कार्यालय काभ्रेको सहकार्यमाआलु महोत्सव २०७५ को आयोजना गरिएको एकाइका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत किशोर पन्तले जानकारी दिए।

‘काभ्रेका विभिन्न क्षेत्रमा आलुको पकेट, ब्लक, जोन तथा सुपर जोन स्थापनाले प्रविधिको प्रसार, यान्त्रिकीकरण प्रवद्र्धन गर्दै आलुको उत्पादन तथा उत्पादकत्व बढाउने र लागत मूल्य घटाउने तरिकाबारे जानकारी दिँदै आएका छौं,’ उनले थपे, ‘आलुजन्य उत्पादनको विविधीकरणबारे जानकारी दिनका लागि महोत्सव आयोजना गरिएको हो,’ पन्तले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवमा आलुका परिकारहरुको प्रदर्शनी तथा परिकार बनाउने तरिकाका साथै बजारीकरणबारे जानकारी दिइएको छ।

त्यस्तै कृषियन्त्र उपकरण प्रदर्शन, आलु सम्बन्धी उन्नत प्रविधिबारे वृत्तचित्र प्रदर्शन, बाली उपचार शिविर, विविध सांस्कृतिक कार्यक्रम तथा उत्कृष्ट आलु उत्पादक कृषकलाई सम्मान गरिएको कृषि प्रसार अधिकृत कृष्ण धितालले जानकारी दिए। ‘पहिलो पटक भएकाले यस पटक २५ स्टल मात्रै राख्न सकियो। महोत्सवलाई प्रत्येक वर्षको आलु खन्ने सिजनमा सञ्चालन गर्ने लक्ष्य रहेकाले आगामी वर्षबाट धेरैको सहभागिता हुने अपेक्षा गरेका छौं,’ उनले भने।

सधैंभरि दुर्गम भनेर सदरमुकामबाट हेपिँदै आएकोमा सुपरजोन एकाइको समन्वयले पहिलो पटक आलु महोत्सव गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए। ‘चिसो हावापानी भएको ढुंखर्क क्षेत्र र समग्र बेथानचोक गाउँपालिकामा गुणस्तरीय र स्वादिलो आलु उत्पादन हुँदै आएको थियो। व्यापारीले यहाँको र अन्यत्रको आलु एकै ठाउँमा मिसाएर बेच्ने भएकाले उपभोक्ताले स्वाद लिन पाएका थिएनन्। महोत्सवले अब बजारीकरणमा सहयोग पुग्ने भयो,’ उनले थपे।

सुपरजोनकै सहयोगमा ढुंखर्कमा न्युक्लियस आलु बीउ उत्पादन केन्द्रको स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत भइरहेको उनले जानकारी दिए। सुपरजोन इकाइका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आव ०७३/७४ मा करिब नौ हजार आठ सय हेक्टर क्षेत्रफलमा लगाइएको आलु बालीबाट एक लाख ८५ हजार टन आलु उत्पादन भएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App