१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोटमा सात गुणा बढी वाथमुटु रोगी

जाजरकोट– विगतमा विभिन्न रोगका महामारीको पीडा भोग्दै आएको जाजरकोटमा वाथमुटु रोगको गम्भीर अवस्था भएका बालबालिकाहरु  अत्यधिक भएको तथ्य भेटिएको छ । 
सहरी क्षेत्र र अन्य जिल्लाको तुलनामा  ७ गुणा बढी वाथमुटुरोगी बालबालिकाहरु रहेको एक मुटुरोगसम्बन्धी शिविरबाट उक्त तथ्यांक फेला परेको हो । नेपाल हृदय रोग प्रतिष्ठानले तीन दिनसम्म जिल्ला सदरमुकाम र अन्य आसपासका गाउँमा सञ्चालन गरेको निशुल्क शिविरमा  काठमाडौं लगायत अन्य सहरहरुको तुलनामा जाजरकोटमा सात गुणा बढी वाथमुटुरोगी बालबालिकाहरु भेटिएको वीर अस्पतालका  मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले जानकारी दिए । 
उनका अनुसार काठमाडौंलगायतका सहरहरुमा एक हजारमा एक वा दुई जनामात्र वाथ मुटुरोगी भेटिने गरेपनि जाजरकोटमा भने एक हजारमा  सात जना वाथ मुटुरोगी भेटिएका छन् । यो अत्यन्तै गम्भीर समस्या जाजरकोटमा भेटिएको डा. रेग्मीले बताए । उनले  आफूहरुले  जिल्लाका  डेढ दर्जन विद्यालयका  ५ हजार ४ सय ५० विद्यार्थीमा गरेको मुटु परीक्षणबाट ५० जना वाथ मुटुरोगी बालबालिका भेटिएको र तीमध्ये ५ जनालाई तत्काल अप्रेसन गर्नुपर्ने अवस्था रहेको बताए । 
उनका अनुसार ५ जनामध्ये तीन जनाको मुटुमा प्वाल परेको, एक जनाको मुटुको  नसा जन्मदै बन्द रहेको र एक जनाको मुटुको भल्व साँघुरो रहेर गम्भीर अवस्था सिर्जना भएको भेटिएको हो । 
उनले अन्य ४५ जनालाई तीन महिनासम्म तीन–तीन हप्तामा अनिवार्य रुपमा सुइ लगाउने र औषधि सेवन गराउनैपर्ने अवस्था रहेको बताए ।  उनीहरुले लगाउनुपर्ने सुइ र सेवन गर्नुपर्ने औषधि भने जाजरकोट अस्पतालमा नभएकाले उनीहरुको  स्वास्थ्य समस्या गम्भीर बनेको   डाक्टर रेग्मीले बताए ।  
उनले  जिल्लामा यति धेरै वाथमुटु रोगीका बिरामीहरु भेटिनुले जाजरकोट निकै विपन्न र गरिबहरुको वस्ती जनाउ भएको बताए ।  गरिबी, कूपोषण, विपन्नता, औषधि उपचारमा पहुँचको अभाव र चेतनाको अभावका कारण  मुटुरोगको डरलाग्दो अवस्था देखिएको उनले बताए । 
नेपाल हृदय रोग निवारण प्रतिष्ठान जाजरकोटका अध्यक्ष सनतकुमार कार्कीले  सरकारले जाजरकोटका लागि गम्भीरु रुपमा सोच्नैपर्ने अवस्था आएको बताए । 

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App