१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस्ती बनाउन घर धरौटी राखिन् नायिक स्वेता खड्काले

स्वेताश्री फाउन्डेशनद्वारा साँगाचोक झ्याडीमा निर्माणाधीन एकीकृत नमूना माझी बस्ती

सिन्धुपाल्चोक – आफ्नो अगुवाईमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा बनिरहेको एकीकृत नमूना माझी बस्ती निर्माणमा रकम अभाव भएपछि नायिका स्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । 

अभियन्ता खड्काले स्थापना गरेको स्वेताश्री फाउन्डेसनको अगुवाइमा अविरल बहिरहने इन्द्रावती नदी किनारको यो गाउँमा एक वर्षदेखि ५३ घरधुरीसहितको एकीकृत नमूना बस्ती बनिरहेको छ । एकीकृत नमूना माझी बस्ती विकास परियोजनाका नाममा सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलमा निर्माणाधीन परियोजनामा रकम अभाव भएपछि सहकारी संस्थाबाट ऋण निकालेर लगानी गरेको उनले बताइन् । 

‘काठमाडौँको बागबजारमा रहेको घर सहकारीमा धितो राखेर जुटाएको २० लाख रुपैयाँ बस्ती विकासमा लगाएको छु । त्यस बापत सहकारीलाई मासिक व्याज मात्र २२ प्रतिशत तिरिरहेको छु,’ परियोजनाबारे सरोकारवालालाई जानकारी दिन शुक्रबार सदरमुकाममा आयोजित अन्तक्र्रियामा फाउन्डेसनकी अध्यक्ष रहेकी खड्काले भनिन् । 

सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाई भएको र कानुनी जटिलताले बैंकबाट भूकम्प पीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम रोक्न नदिन निजी सम्पत्ति धितो राखेर लगानी जुटाउनु परेको गुनासो उनले गरिन् । पीडितले अनुदानको ३ लाखमा बैंकबाट ४ लाख ऋण थपेर ७ लाख रुपैयाँ जुटाउने र बस्तीको सम्पूर्ण भौतिक पूर्वाधार विकासमा फाउन्डेसनले सघाउने गरी खड्काले गत वर्षको जेठमा परियोजना शिलान्यास गरेकी थिइन् । 

फाउन्डेशनका अनुसार १९ रोपनी क्षेत्रफल जमिनमा निर्माण भइरहेको बस्तीमा तीन घर सम्पन्न भइसकेका छन् भने गारो लगाइसकिएका २२ घर निर्माण अन्तिम चरणमा पुगेका छन् । १० घरको भुईँ तलाको संरचना (डिपिसी) तयार हुँदा अरु सात घरको जग खन्ने काम भइरहेको छ । बाँकी १३ घरको जग खन्ने काम सुरु हुन सकेको छैन । 

‘निर्माण सामग्री, कामदार अभाव लगायत धेरै कारण बस्ती निर्माणमा ढिलाई भइरहेको छ,’ अभियन्ता खड्काले भनिन्, ‘मुख्य त लगानी अभावमै कामलाई तीव्रता दिन सकिएको छैन ।’ गत वर्षको दशैँमै स्थानीयलाई बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएको फाउन्डेसनले उक्त समयभित्र नसकेपछि यो जेठको भाका बनाएको थियो । सबैको सहयोग पाए आउने साउन पहिलो साताभित्र स्थानीयलाई ‘गृह प्रवेश’ गराउन सकिने गरी काम भइरहेको नायिका खड्काले जानकारी दिइन्।

फाउन्डेशनकै अगुवाइमा निजी क्षेत्रको लक्ष्मी बैंक पीडितलाई सहुलियत ब्याजमा ४ लाखका दरले ऋण उपलब्ध गराउन तयार छ । आवास बन्ने एकीकृत बस्तीको जग्गा कित्ताकाट नहुँदा उक्त ऋण पीडितले लिन नसकेको फाउन्डेशनका सचिव तथा परियोजना संयोजक यज्ञराज कार्कीले बताए । ‘बैंकले धितोमा जग्गा खोजेको छ । कित्ताकाट हुन नसक्दा धितो जुटाउन सकिएन,’ उनले भने । 

फाउन्डेसनका अनुसार सबै पीडितले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् । बल्ल ३१ परिवारले दोस्रो किस्ता हात पारेका छन् । तेस्रो किस्ता १ लाख रुपैयाँका लागि प्रक्रिया नै सुरु भएको छैन । तेस्रो किस्ता लिन अनिवार्य शौचालय निर्माण वा सोलार बत्ती जडान गर्नु पर्ने व्यवस्था छ । तत्कालै सहज रुपमा पीडितले यो किस्ता पाउने देखिँदैन । 

‘अनुदान वितरणमा बिलम्ब हुँदा र ऋण पाउन सहज नदेखिँदा काम नरोकियोस् भनेर नायिका खड्काले आफ्नो घर नै धितोमा राख्नु पर्‍यो,’ परियोजना संयोजक कार्कीले स्पष्ट पारे । लामो र झञ्झटिलो सरकारी प्रक्रियाकै कारण समयमै पीडितले अनुदान नपाउँदा बस्ती निर्माण धकेलिँदै गएको उनले दुःखेसो पोखे । उनका अनुसार हालसम्म १४ परिवारको घँडेरी मात्र कित्ताकाट भएको छ । 

पीडितले आवास निर्माणको लागि ३ लाख सरकारी अनुदान र ४ लाख बैंक ऋण गरी ३ करोड ७१ लाख जुटाउने र समग्र भौतिक संरचना निर्माणमा फाउन्डेशनले २ करोड ९ लाख रुपैयाँ सहयोग गर्ने गरी एकीकृत बस्ती विकासको काम थालिएको थियो । भौतिक संरचना निर्माणका लागि धेरै सहयोग जुटिसके पनि रकम अभावमा पहिला पीडितकै घर ठड्याउन नसकेको फाउन्डेशनको गुनासो छ । ‘निर्माणलाई रोक्न नदिन पछि पीडितको अनुदानबाट शोधभर्ना गर्ने गरी भौतिक पूर्वाधार विकासका लागि संकलित सहयोग परिचालन गरिरहेका छौँ,’ कार्कीले भने । 

प्रस्तावित एकीकृत बस्तीका घर तीन रोपनी जग्गामा बनिरहेका छन् । ‘इन्टर लक’ इँटा प्रयोग गरी आरसीसी पिलर जडित घर तीन कोठे छन् । रंगिन जस्ताले छाइने घरमा एकै रंगरोगनको साजसज्जाद्वारा एक रुपता ल्याइने फाउन्डेशनले जनाएको छ । एक घर अनिवार्य एक जनशक्ति निस्किएर सिंगो माझी गाउँ बस्ती ठड्याउन तल्लिन छ । 

गाउँका युवा सम्मिलित झ्याडी टोल सुधार समितिले स्थानीय स्तरमा बस्ती निर्माणको नेतृत्व लिइरहेको छ । फाउन्डेशनले भौतिक पूर्वाधार विकास अन्तर्गत बस्तीसम्म पुग्ने सडक, खुला रंगमञ्च, बाल बगैँचा, पानीको फोहोरा, सामुदायिक भवन, चौतारी, मन्दिर, ढल, नाला, साझा सेफ्टी ट्यांकी, व्यक्तिगत र सार्वजनिक खानेपानी धारा, शौचालय, विद्युत व्यवस्थापन लगायतमा सघाउने प्रस्ताव छ । ‘माझी बस्तीलाई होमस्टे गाउँ बनाउँछौँ । गाउँका युवा र महिलालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगार अवसर सिर्जना गर्ने वातावरण बनाउँदै छौँ,’ परियोजनाकी अभियन्ता नायिका खड्काले भनिन् । 

प्रकाशित: १८ जेष्ठ २०७५ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App