१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालुवा निकाल्ने दुई एक्स्काभेटर नियन्त्रणमा

इलाम – खोलाबाट बालुवा निकाल्दै गरेका २ एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित रतुवा खोलाबाट बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको हो।

माङसेबुङ गाउँपालिका–५ मा दमक–रवि सडकका लागि भन्दै बालुवा निकाल्दै गरेका एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताए। ‘खोलाबाट अनाधिकृतरूपमा बालुवा निकालिरहेको भेटिएकाले एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘खोलामा एक्स्काभेटर प्रयोग गरेर बालुवा निकाल्नु नै अवैधानिक हो, निकाल्नु नै परे त्यसको कानुनी प्रक्रिया पूरा गर्नुपर्छ।’

उनले जिल्ला समन्वय समितिलाई त्यसबारे आवश्यक कारबाहीका लागि अनुरोध गरी पठाएको पनि जानकारी दिए। ‘प्राकृतिक स्रोत–साधनको करको जिम्मा स्थानीय तहलाई भएकाले स्थानीय तहलाई नै त्यसको जरिमानाका लागि भनेका छौं,’ उनले भने । माङ्सेबुङ गाउँपालिकामा आयोजित एक कार्यक्रम सकेर विराटनगरमा शुक्रबार हुने सुरक्षा गोष्ठीका लागि जाँदै गरेका प्रजिअ तिम्सिनाको टोलीले खोलामा बालुवा निकालिरहेका एक्स्काभेटर भेटेको थियो।

बालुवा निकाल्ने एक्स्काभेटर झापाका ठेकेदारहरूको रहेको हुनसक्ने अनुमान प्रशासनले गरेको छ। जिल्लाको दक्षिणी भेग झापासँग जोडिएकाले यहाँको चुरे क्षेत्रका खोलाको गिट्टी–बालुवा निकासी बर्सेनि विवादित बन्ने गरेको छ। केही महिनाअघि झापाको सीमावर्ती चुलाचुली गाउँपालिकामा बालुवा निकासीको कर विवादित बनेको थियो। जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले खोलाबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नगरी बालुवा उत्खनन् गर्नु अवैधानिक हुने बताए। ‘माङ्सेबुङका कुनै पनि खोलाको आइइई गरेकोजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘आज (शुक्रबार) जिल्ला समन्वय समितिमा छलफल गरी यथार्थ बुझेर त्यहीअनुसार कारबाहीप्रक्रिया अघि बढ्छ।’

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App