१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मलेसिया रोजगारीबारे अझै अनिश्चित : मलेसियन राजदूत

नेपालस्थित मलेसियन राजदूत अहमद फाडिल इस्माइल तस्बिर : नागरिक

काठमाडौं - नेपालका लागि मलेसियन राजदूत अहमद फाडिल इस्माइलले रोकिएको मलेसियाको रोजगारी कहिले खुला हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको बताएका छन्।

मलेसिया जाने कामदरसँग अवैध ढंगले रकम असुली गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुुक्षा मन्त्रालयले मलेसिया कामदार पठाउने सम्बद्ध चार संस्था खारेज गरेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

उनले मलेसिया सरकारको स्वीकृति र तोकिएको मापदण्ड अनुसार ती संस्थाले काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा नेपालले गरेको खारेजीबारे मलेसियन सरकारले छलफल गर्न नभ्याएको जानकारी दिए । ‘हाम्रो सरकारले विदेशी कामदार लैजाने अहिलेको नीतिगत निर्णय फेरबदल नगरेसम्म अर्को प्रक्रिया सुरु हुन सक्दैन,’ उनले भने, ‘तर, मलेसियामा भर्खर नयाँ सरकार बनेकाले एक सय दिनसम्म छलफल होला जस्तो देखिँदैन।’

मलेसियाले विदेशी कामदारलाई व्यवस्थित गर्न १४ मुलुकका लागि आइएससी, बायोमेट्रिक, ओएससी र माइग्राम्स सुरु गरेको उनले बताए । सुरक्षा लगायत विभिन्न कारणले मलेसियाले नेपालबाट काम गर्न जानेको हकमा पनि अन्य मुलुकसरह आइएससी, बायोमेट्रिक, ओएससी र माइग्राम्स सुरु गरेको इस्माइलको भनाइ छ । मन्त्रालयले चार संस्था खारेज गरेलगत्तै प्रहरीले ती संस्थाका सञ्चालक÷प्रतिनिधिलाई पक्राउ गरेपछि यतिखेर मलेसिया कामदार पठाउने क्रम रोकिएको छ । पक्राउ परेका ४० व्यवसायी प्रहरी नियन्त्रणमा छन् । उनीहरूलाई लगाउने मुद्दाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘मान्यता प्राप्त ती संस्थाले काम गर्न नपाएपछि ती संस्थाले गर्ने काम कसले गर्ने यकिन भएन,’ इस्माइलले भने, ‘त्यसैले अहिले मलेसिया कामदार पठाउने क्रम रोकिएको हो ।’ काम गर्नबाहेक अन्यको हकमा भने भिसा जारी भइरहेको उनले जानकारी दिए । यतिखेर मलेसियाले आफ्ना नागरिकलाई रोजगारी दिलाउन जोड दिइरहेकाले करिब २० लाख विदेशी कामदार घट्न सक्ने उनको भनाइ छ । ‘हाल मलेसियामा १४ देशका ६० लाख कामदार छन्,’ उनले भने, ‘तीमध्ये २० लाख विदेशी घटाउने प्रयासमा मलेसियन सरकार छ।’

उनले बेलाबेला देखिने अन्योल अन्त्यका लागि मलेसिया र नेपालबीच श्रम सम्झौता हुन आवश्यक रहेको समेत बताए । मन्त्रालयका एक अधिकारी कामदार ठगी गर्ने संस्था खारेज र उनीहरूको असुल गरिएको रकम फिर्ता नगरिएसम्म मलेसिया रोजगारी रोकिन सक्ने जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेका संस्थाका प्रतिनिधिले कानुन अनुसार काम गरेको दावी गर्दै आइरहेका छन् ।

 

 

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App