१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हरिको अलराउन्ड प्रदर्शन

काठमाडौं – हरि चौहानको अलराउन्ड प्रदर्शनमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १ सय २९ रनको फराकिलो अन्तरले पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार पहिलो जित हात पारेको छ।

प्रदेश नम्बर ४ को जितका लागि हरि चौहानले १ सय १५ बलको सामान गर्दै ८ चौका र १ छक्काको मद्दतमा शतक बनाएका थिए । त्यसलगत्तै उनी सन्दीप ढुङ्गानाको बलमा क्याच भए । ५ ओभर बलिङ गरेका उनी ह्याट्रिकसहित १९ रन खर्चिएर ४ विकेट लिन सफल भए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर सय १० रन जोड्न सफल भएको थियो । हरिको शतकका अलावा प्रदेश नम्बर ४ का सुमा घिमिरेले ५३ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा ८३ रन जोडेका थिए । १ सय २९ रनमा ५ विकेट गुमाएको प्रदेश ४ का लागि हरिले सुमा घिमिरेसँग छैटौं विकेटका लागि १ सय ३६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए।

यस्तै मन्जिल न्यौपानेले पुष्प थापाको बलमा एलबिडब्लु आउट हुनुभन्दा अघि २८ जोडेका थिए । आक्रामक ब्याटिङ गरेका विपिन खत्री भने ९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे । अर्का खेलाडी अनिल गुरुङ पनि ५ रनमा अविजत भए । बलिङमा सुनील ढ्ङ्गाना र पुष्प थापाले समान २/२ विकेट हात पार्दा मनोज तामाङ र मिनास थापाले १/१ विकेट लिए।


प्रदेश नम्बर ४ को जितका लागि हरि चौहानले ८ चौका र १ छक्काको मद्दतमा शतक बनाएका थिए । स ५ ओभर बलिङ गरेका उनी ह्याट्रिकसहित १९ रन खर्चिएर ४ विकेट लिन सफल भए।

उता ३ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले ३५ ओभरको समाप्तिमा मात्र १ सय ८१ जोड्न सक्यो । प्रदेश नम्बर १ का लागि ओपनर सुनील ढुङ्गानाले सर्वाधिक ७१ रन बनाउँदा २ बल खेलेका अर्का ओपनर रवि रोय शून्यमा पवेलियन फर्किएका थिए । यस्तै, मिनास थापाले १९ रनको योगदान गर्दा राजन मगरले १०, फिर्दोस अन्सारीले १३ रन जोडेका थिए । श्रवण यादव १९ रनमा अविजित रहे भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रदेश नम्बर १ को इनिङलाई सस्तैमा समेट्न ओपनिङ बलिङ गरेका हरिले पहिलो ओभरमै प्रदेश १ का रवि रोयलाई शून्यमा आउट गर्दै सानदार सुरुआत गरेका थिए । ३५औँ ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै उनले ह्याट्रिक पूरा गरे । हरिले फिर्दोस अन्सारी, मनोज तामाङ र अभ्यास तिमल्सिनालाई लगातार आउट गरे । जारी प्रतियोगितामा हरि शतकसँगै पहिलो ह्याट्रिक लिने खेलाडी बनेका छन् । प्रदेश नम्बर ४ का विपिन खत्री र राजु गुरुङले समान २/२ विकेट लिए । यस्तै गोविन्द प्रधान र सन्तोष न्यौपानेले समान १/१ विकेट हात पारे ।

पहिलो जित निकालेको प्रदेश नम्बर ४ समूह ‘ए’ को दोस्रो स्थानमा छ भने एपिएफ पहिलो, प्रदेश नम्बर २ तेस्रो र प्रदेश नम्बर १ तालिकाको पुछारमा छन्।

यस्तै बुधबारै मूलपानी क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित भएपछि प्रदेश नम्बर ७ र प्रदेश नम्बर ५ ले १/१ अंक बाँडेका छन् । जारी प्रतियोगितामा ३ खेलबाट ३ अंक नै जोडेको प्रदेश नम्बर ७ समूह ‘बी’ को शीर्ष स्थानमा छ भने समान १/१ खेलमा नेपाल पुलिस, प्रदेश नम्बर ३ र ५ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । यस्तै, दुई खेलमध्ये दुवै खेलमा पराजित भएको प्रदेश नम्बर ६ तालिकाको पुछारमा छ।

प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी र प्रदेश नम्बर २ बीच कीर्तिपुर मैदानमा खेल हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App