१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यी हुन् सुन तस्करीका नाइके

काठमाडौं - नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ।

३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो ।समिति स्रोतका अनुसार गुरुङ, अग्रवाल र घले तस्करीको सुनमा लगानी गर्ने प्रमुख व्यक्तिसमेत हुन् ।

उनीहरुकै योजनामा नेपाल आएको सुन यहाँबाट रोशन अग्रवाल तथा सलमान भनिने भारतीय सुन व्यापारी र उनका सहयोगीले भारततर्फ लैजाने गरेका छन् । दुबईमा सलिम भनिने पाकिस्तानी र हरि भनिने हरिशरण खड्काले बिक्री गरेको सुनमा गुरुङ, अग्रवाल, घले र अन्य दुई भारतीय व्यापारीको संयुक्त लगानी रहने गरेको समितिको दाबी छ । खड्का ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त हुन्।

समितिका अनुसार गुरुङ २०४० सालदेखि नै सुन तस्करीका संलग्न थिए भने एमके र घले २०६९ पछि तस्करीमा सक्रिय भएका हुन् । एमके २०७० साल असार २६ गते कोटेश्वरमा बरामद भएको ३५ किलो सुनको प्रमुख लगानीकर्ता थिए । खासाबाट ल्याइएको त्यो सुनका अर्का लगानीकर्ता आकाश बज्राचार्यसँगै एमकेलाई २०७३ चैत १६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले सफाइ दिएको थियो । सफाइ पाएपछि एमके फेरि सुन तस्करीमै फर्केको समिति स्रोतको दाबी छ । समितिका अनुसार दुबईबाट नेपाल ल्याइने सुनमा अमूल भनिने एक भारतीय नागरिकको लगानी छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलेको संयोजकत्वमा रहेको समिति स्रोतका अनुसार एमके लामो समयदेखि निरन्तर रुपमा सुन तस्करीमा संलग्न छन् । २०६९ पछि उनको समूहमा गोरे भनिने चूडामणि उप्रेती, पवन अग्रवाल, सुनिल अग्रवाल र डा. डेबिट भनिने छिरिङ वांगेल घले संलग्न भए । समिति स्रोतका अनुसार तीमध्ये गोरे, घले र एमके अहिलेसम्म सोही समूहमा छन् । एमके उक्त समूहका नाइके हुन् । उनलाई सलमान भनिने पाकिस्तानी र नाम नखुलेका दुई भारतीयले सहयोग गर्दै आएका छन्।

स्रोतका अनुसार दुबईबाट नेपालमा र नेपालबाट भारततर्फ तस्करी हुने सुनमा कृष्णगोपाल अग्रवाल, सुनिलकुमार अग्रवाल, चाचाजी भनिने महावीरप्रसाद गोल्यानको पनि लगानी रहने गरेको छ । चाचाजीचाहिँ भारतीय व्यापारीलाई सुन लगिदिने भरिया हुन् ।

समिति स्रोतका अनुसार गुरुङले गोपालकुमार श्रेष्ठ र वसन्तप्रसाद बिजुक्छेको संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्सार्फत नेपालमा ल्याउँथे । उनले त्यसरी ल्याएको सुन काठमाडौंका सुनपसलमा बिक्री गर्थे । उनले सुन खरिदका लागि नेपाली रकम संकलन गरी सो रकम हङकङ बसोबास गर्दै आएका नेपालीको नेपालमा रहेका आफन्तलाई बुझाउने गरेको स्रोतको दाबी छ ।

समिति स्रोतका अनुसार गुरुङले नै एमके, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको सुन दिँदै आएका थिए । २०६९ सालपछि भने गोरे, घले, एमकेको छुट्टै समूह बनेको थियो । सो समूहमा गोपालकुमार श्रेष्ठ, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका मालिक राजेन्द्र शाक्य पनि आबद्ध भए ।

सुन तस्करीका लागि एमके अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने, सो रकम बैंकक र दुबईमा रहेका नेपालीको नेपालमा रहेका आफन्तलाई दिई सोधभर्ना बैंकक र दुबईमा पठाइदिने गरेका थिए । उनले कहिलेकाहीं आफैंले लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन विमानस्थलमा ल्याएपछि एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतको सहयोगमा तस्करी गर्ने गरेका थिए।

समिति स्रोतका अनुसार विगत ३५ वर्षदेखि सुन तस्करीमै काम गरेका गुरुङले तस्करीको सञ्जालमा एमके अग्रवाल र घलेलाई जोडेका थिए । भारतीय व्यापारीसँग समन्वय गर्ने भएकाले एमकेलाई गुरुङले आफ्नो समूहमा राखे पनि पछि एमके आफैं सुन तस्करीको प्रमुख लगानीकर्ता भएका थिए ।

समितिका अनुसार काठमाडांै डिल्लीबजारस्थित सिल्भर सिटीमा बस्दै आएका एमके हाल फरार छन् । सुनसरी धरान उपमहानगरपालिका–३ स्थायी घर भएका एमके ३३ किलो सुन लुटिएसँगै फरार भएका हुन् । आफ्नो लगानीको सुन हराएपछि उनले गोरेलाई कुटपिटसमेत गरेका थिए ।

स्रोतका अनुसार एमके यतिबेला भारतमा छन् । एमके बस्दै आएको उक्त घरमा करिब तीन महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै एमके फरार भएका हुन् । समितिले उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App