१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रीले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौं- मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले साना–ठूला जहाज ल्याएर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको श्रीले चाँडै स्वदेश तथा विदेशमा उडान गर्ने तयारी तीव्र गतिले अगाडि बढाएको छ। यसका लागि श्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उडान इजाजतका लागि आवेदन दिइसकेको छ।

'हेलिकोप्टरपछि अब जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय गर्न पर्यटन मन्त्रालयमा आवेदन दिएका छौं र त्यहाँबाट चाँडै काम पूरा हुने विश्वास छ,' श्रीका प्रबन्ध निर्देशक सुधीर मित्तलले बिहीबार नागरिकसँग भने, 'डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवपछि अब फिक्स्ड विङ जहाजमा जाने निर्णय गरेका छौं तर सँगसँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिन्छौं।'

पर्यटन मन्त्रालयले श्रीलाई हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय उडान गर्ने इजाजत भने विगतमै दिएको थियो। श्रीले जहाज कम्पनीको नाम नयाँ नराख्ने र पुरानै नामबाट जहाज सञ्चालन गर्ने उनले बताए। नियामक निकायबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) श्री एयरलाइन्सको नाममा जारी भएका कारण त्यही एओसीबाट जहाज सञ्चालन गर्ने मित्तलले जानकारी दिए। 

अब जहाज उडानमा जाने भएपछि त्यहीअनुसार तयारी अगाडि बढाइएको उनले बताए। यसमा मन्त्रालय तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट राम्रो सहयोग र प्रोत्साहन प्राप्त भएको उनको भनाइ छ।

उनका अनुसार जहाजबाट पहिलो चरणमा आन्तरिक उडान गर्ने र दोस्रो चरणमा मात्र अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ। आन्तरिक उडानका लागि ५० सिटसम्मका जहाज सञ्चालन गरिने छ भने अन्तर्राष्ट्रियतर्फ सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गरिने छ।

'छिमेकी भारतका विभिन्न सहरमा उडान गर्न १ सय १० सिटसम्मका जहाज ल्याउँछौं र त्यसभन्दा पर जान १ सय ५० सिट क्षमताका जहाज प्रयोग गर्छौं,' मित्तलले भने, 'तीनदेखि चार महिनाभित्र आन्तरिक उडान तथा त्यसको बढीमा एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुसार काम भइरहेको छ।'

श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने तयारी तीव्र गतिले अगाडि बढेको बताए। 'श्रीकै नाममा जहाज कम्पनी सञ्चालन हुने भए पनि त्यसमा थप डेढ सयदेखि दुई सयजनाले नयाँ रोजगारी पाउनेछन्,' उनले भने, 'यसबाट रोजगारीसँगै पर्यटक आगमन पनि बढ्ने छ भने सरकारलाई राजस्वदेखि नेपाली यात्रुले सहज र सरल तरिकामा हवाई यात्रा गर्न पाउनेछन्।'

उनका अनुसार आन्तरिक उडानका लागि क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ५० सिट क्षमतायुक्त 'सिआरजे–२००' सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने छ। ती जहाजबाट काठमाडौंलाई आधार गरी सुरुमा भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि नियमित उडान गरिने छ।

त्यसपछि अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त 'इआरजे–१९०' सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने मानन्धरले जानकारी दिए। उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक/अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुई/दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि तीन/तीन थान जहाज ल्याउन लागिएको उनले बताए।

'पहिलो खेपमा काठमाडौंबाट भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र बनारस उडान गर्छौं,' कर्पोरेट म्यानेजर मानन्धरले भने, 'त्यसभन्दा पर जान डेढ सय सिटसम्मका जहाज ल्याउँछौं र दुबई, साउदी अरब, बैंकक, क्वालालम्पुर लगायत गन्तव्यमा उडान गर्छौं।'

हेलिकोप्टर राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीको आफ्नै 'ह्यांगर' पनि छ। त्यहिँ नै जहाज राख्ने व्यवस्था मिलाइने श्रीले जनाएको छ। 'आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हामी प्रतिस्पर्धा गर्न तयार छौं,' मानन्धरले भने।

श्री 'एमआई–१७' सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो। अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ। यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकोप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो।

श्रीले १७ वर्षदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ। कम्पनीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा फ्रान्सको एयरबस हेलिकोप्टर्स कम्पनीले उत्पादन गरेका ६ सिट क्षमताका चारवटा 'एएस३५० बिथि्रई' हेलिकोप्टर सञ्चालनमा छन्। विगतमा युरोकप्टर नामबाट परिचित एयरबस हेलिकोप्टर्स युरोपेली जहाज निर्माता कम्पनी एयरबसको सहायक कम्पनी हो।

प्रकाशित: १७ भाद्र २०७३ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App