१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई प्रहरी र एक सर्वसाधारण मारिए

आक्रमणकारीले गोली प्रहार गरी दुई प्रहरी र एक सर्वसाधारणको हत्या गरेको बेल्जियमको पूर्वी सहर लिगीस्थित घटनास्थल । तस्बिर : एजेन्सी

ब्रसेल्स– बेल्जियमको पूर्वी सहर लिगीमा एक आक्रमणकारीले गोली प्रहार गरी दुई प्रहरी र एक सर्वसाधारणको हत्या गरेको छ।

प्रहरीले बन्दुकधारीलाई गोली प्रहार गरेर मारेका थिए । गोली प्रहार गर्नुअघि उक्त बन्दुकधारीले सरसफाई गर्ने एक महिलालाई एउटा विद्यालयमा बन्धक बनाएका थियो । बन्दुकधारीको गोली लागेर दुई प्रहरी घाइते भएको बिबिसीले जनाएको छ ।

प्रहरी र सर्वसाधारणमाथि गोली प्रहार गर्ने आक्रमणकारीको नियतबारे अझै प्रष्ट नभए पनि बेल्जियम अधिकारीले घटनालाई आतंकवादी कार्यका रूपमा लिएको बिबिसीले जनाएको छ । बन्दुकधारीले ‘अल्लाहु अकबर’ भनेको सुनिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।बेल्जियम प्रसारक संस्था आरटिबिएफका अनुसार बन्दुक धारी सोमबार मात्रै जेलबाट अस्थायी रिहा भएका थियो । लागूपदार्थको मुद्दामा उक्त आक्रमणकारी जेल परेको बताइएको छ । जेलमा रहँदा बन्दुकधारीलाई अतिवादी बनाइएको हुनसक्ने अधिकारीहरुलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

के भएको थियो ?
बेल्जियमको उत्तरी सहर लिगीस्थित सिटी सेन्टरमा रहेको क्याफेमा मंगलबार बिहान अबेर गोली चलेको आवाज सुनिएको थियो । सरकारी अभियोजनकर्ताका अनुसार आक्रमणकारीले सुरुमा चक्कुले प्रहरीलाई आक्रमण गरेको थियो । त्यसपछि प्रहरीकै बन्दुक लिएर उसले गोली चलाएको बिबिसीले उल्लेख गरेको छ ।

दुई प्रहरीसहित आक्रमणकारीले नजिकैबाट गइरहेको एउटा कारको यात्रु सिटमा बसेका यात्रुलाई गोली हानेको बताइएको छ । ती यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा बसेका यात्रुको हत्या गरिसकेपछि आक्रमणकारी नजिकैको विद्यालयतर्फ गएको थियो । त्यहाँ पुगेपछि आक्रमणकारीले एक जना सरसफाई गर्ने महिलालाई बन्धक बनाएको बताइएको छ ।

गोली चलेको धेरै आवाज आएपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागिरहेको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजमा देखिएका छन् । आक्रमणकारी विद्यालय पसेका कारण विद्यालयमा रहेका विद्यार्थीलाई सुरक्षित तरिकाले सुरक्षित स्थलतर्फ लगिएको थियो ।गोलीकाण्डलाई आफूले अत्यन्तै नजिकबाट नियालिरहेको बेल्जियमका प्रधानमन्त्री चार्लेस मिकेललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनले आक्रमणका प्रभावितप्रति गहिरो समर्थनसमेत जनाएको बिबिसीले उल्लेख गरेको छ । छिमेकी फ्रान्स र देशका विभिन्न क्षेत्रमा जिहादीहरुको शृंखलाबद्ध आक्रमण बढाएपछि बेल्जियममा उच्च शतर्कता अपनाइएको बिबिसीले जनाएको छ । पेरिसका विभिन्न ठाउँमा सन् २०१५ मा एक सय ३० को ज्यान जाने गरी गराइएको आतंकवादी आक्रमणपछि ब्रसेल्समा प्रतिआतंकवादी सेल स्थापना गरिएको थियो । ब्रसेल्स आफैले पनि सन् २०१६ को मार्च महिनामा तीन वटा आत्मघाती आक्रमण भोगेको थियो ।

ती आक्रमणमा ३२ जनाको मृत्यु भएको थियो । पेरिस र ब्रसेल्स दुवै ठाउँमा गराइएको आतंकवादी आक्रमणको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले लिएको थियो । सन् २०१६ कै अन्त्यतिर एक मानिसले दुई प्रहरीमाथि चक्कुले आक्रमण गरेको थियो । प्रहरीले आक्रमणकारीलाई गोली हानी हत्या गरेको थियो ।

 

प्रकाशित: १६ जेष्ठ २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App