१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

किन भिन्न छन् पौभा र थाङ्का ?

केही दिन अघि राजधानीमा भएको कला प्रदर्शनीमा राखिएको चित्रकारले बनाएको अधुरो हे बज्र मण्डल । साथमा अर्को कलाकारको एक थाङ्का चित्र । तस्बिर : चाँदनी हमाल

काठमाडौं – नेवारी समुदायले बनाउने पौभा कला र बौद्धधर्मावलम्बीले बनाउने थाङ्का झट्ट हेर्दा उस्तै देखिएपनि यसको बनाउने शैली र मर्म फरक छ।

पौभाकलाले देवीदेवताका कथामात्र हैन आम मानिसका जीवनशैलीका कथालाई समेट्दछ तर थाङकाले धार्मिक र सांस्कृतिक संस्कारलाई विशेष प्राथमिकता दिन्छ ।पौभा कलाका खारिएका कलाकार लोक चित्रकारले बनाइरहेको हे बज्रमण्डलमा भने अनन्त देवीदेवताका चित्रहरू कोरिएका छन्।

‘हे बज्रमण्डलको शाब्दिक अर्थ हाँसेको बज्र हो,’ चित्रकारले भने ,‘यसको सैद्धान्तिक अर्थ भने नैरात्मा अथवा आत्मा नभएको बिम्ब हो ।’ उनका अनुसार बुद्धिजममा अनात्मा भन्ने एउटा सिद्धान्त छ । निराकार संसारमा मानिसहरू शून्यमै अनेक आकारको कल्पना गर्छन् । त्यसैको अभ्यासको एउटा रुप नै हे बज्र मण्डल भएको चित्रकारको ठहर छ ।  चित्रकार आफैं २३ वर्षदेखि हे बज्र बनाइरहेका छन् । चित्र पूरा हुन अझै वर्षदिन जति लाग्ने उनी बताउँछन् । ‘मुख्य काम नै बाँकी छ ,’ उनले भने, ‘मसिना गहना, टाउकाको मुकुट, गलाको माला, हातमा समाएका वस्तुहरू लगायत यावत कुराहरू रंगाउनै बाँकी छ।’

यो चित्र पूरा भएपछि  अभिलेखका रुपमा राख्न सकिने उनले उल्लेख गरे । अनि चित्रअगाडि राखेर भिज्युलाइजेसनसँगै साधना गर्न सकिन्छ ।चित्रकारका अनुसार पौभा थांकाको पूर्वज हो ।   तर यी दुईको शैलीमा भिन्नता छ ।  नेपालकोे बेरी शैलीको थांका नेवार शाक्युमुनी समुदायको मौलिक शैली मानिने उनले सुनाए  जुन तिब्बतमा ३ सय वर्ष चलेको अनुमान गरिन्छ । मानबहादुर दोङले भने थाङ्का बनाउन थालेको ४७ वर्ष भैसक्यो । ‘थाङ्का तिब्बतियन आर्टसँग मिल्छ पौभा चाहिँ मिथिला शैलीसँग  मिल्छ,’ उनले थपे, ‘अनि थाङ्कामा सुनको बुट्टाको प्रयोग हुन्छ तर पौभामा त्यति प्रयोग हुँदैन।’


थाङ्काको इतिहास कहिलेबाट सुरु भएको यकिन प्रमाण छैन तथापि आठौं शताब्दीपछि यसको विकास भएको बौद्ध अनुयायी बताउँछन्। थाङ्का तिब्बतियन आर्टसँग मिल्छ अनि पौभा चाहिँ मिथिला कलासँग  मिल्छ । थाङ्कामा सुनको बुट्टाको प्रयोग हुन्छ तर पौभामा त्यति प्रयोग हुँदैन ।


महायानी सम्प्रदायबाट यसको सुरु भएको मानिन्छ । गुरु रिम्पोचेको कालमा महायानी सम्प्रदायबाट थाङ्का लेख्ने चलन चलेको ठानिन्छ । ‘ वुद्ध नेपालमा जन्मेकाले नेवारी शाक्य वंशबाटै थाङ्का विकास भएको हो कि भनेर अनुमान गर्छौ,’ उनी तर्क गर्छन्, ‘अरनिकोले पनि त्यो कला स्वीकारेकाले प्रष्ट हुन्छ।’

महायानी बुद्धधर्मको थाङ्का कला तिब्बती, भुटानी र नेपालको तामाङ, शेर्पा, गुरुङ, थकाली लगायत जनजातिले लेखेको थाङ्का पनि तिब्बतीसँग मिल्छ । बर्माको सिक्किम दार्जलिङतिर लेख्नेपनि यतातिरकै शैलीसँग मिल्छ । बहुसंख्यंक जनजातिमा पर्ने तामाङ जनजातिले पन्ध्रसय वर्षअघिदेखि नै थाङ्का कला लेख्न थालेको इतिहास उनी सुनाउँछन्। महायान सम्प्रदायभित्र पर्ने ङिङमाहावा, काक्युवा, शाक्यपा, गेलोक्मा आदि आन्तरिक सम्प्रदायमा जन्मदेखि मृत्यु सम्मको मानव संस्कारमा थाङ्काको धार्मिक महत्व रहेको  उनले बताए।

कुनै मानिस मर्दाखेरी पनि थाङ्का, मूर्ति र पोष्टरलाई ‘तेन’ भनेर राख्ने चलन सदियौंदेखि पाइन्छ ।‘तेन’ र गुम्बामा टाँग्नकै लागि थाङका लेख्दा लेख्दै  अहिलको पुस्तामा कलाको एउटा विधा बनेर पुस्तान्तरण भएको उनी सुनाउँछन् ।
थाङ्कामा बुद्धधर्म सम्बन्धि पुस्तकमा भए अनुसारका देवीदेवताका चित्र कोर्ने गरिन्छ । शाक्यमुनी, लोकेश्वर, अमिताव तथा हिन्दु धर्ममा समेत मानिने देवीदेवता हरित तारा, स्वेत तारा, गणेश ,बाराही,भैरव लगायतका देवीदेवताको समेत चित्र कोरिने गरिन्छ।

‘जापानी थाङ्काअन्तर्गत बनाइने कोकाकाइ र ताइचोकाई मण्डलामा तीनसय देवीदेवताको चित्र हुन्छ,’ उनले त्यसको पुष्टि गरे ,‘जहाँ गणेशको चित्र पनि बनेको हुन्छ ।’ नागदेवतालाई ल्वाँगी घ्याल्बो भनेर थाङ्कामा उल्लेख गरिन्छ ।थाङ्का र पौभाको कथा भन्ने शैली उस्तै भएपनि यसलाई कोर्ने शैली भने फरक रहेको समीक्षक मदन चित्रकार बताउँछन् । त्यस्तै कला समीक्षक रमेश खनालले स्थानीय लोक शैलीलाई पौभा भनिने गरेजस्तै बुद्ध धर्मावलम्बीको धार्मिक संस्कार बोकेको शैलीलाई थाङका भनेर चिनिने बताए ।  
 

 

प्रकाशित: १६ जेष्ठ २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App