१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

काठमाडौँ (रासस) - प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।

वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्‍याएका कुशल पर्वतारोही उनले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थपेका हुन्।

यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको सातजनाको समूहलाई सगरमाथा आरोहण गराएको र उनीहरूमध्ये चारजनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिए।

एउटै परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा छन्।

फुर्वा तेञ्जिङले यसअघि २४ वर्षको उमेरमा नौपटक र तीन दिनमा दुईपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका थिए।

यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमानी कायम भएको छ। सोलुखुम्बुका कामिरीता शेर्पाले वैशाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर र सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राखेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको नौपटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेका छन्।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो।

यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ।

सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन् । आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन् । आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको खर्पाइमा छन् । बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ।

आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताइन्।

आइतबार आधार शिविर झरे पनि हेलिकप्टर नआएकाले काठमाडौँ फर्कने पर्खाइमा रहेको उनको भनाइ थियो।

सगरमाथा आरोहण सहज

मौसमले साथ दिएका कारण विगतमा भन्दा यस वर्ष सगरमाथा आरोहणमा सहज भएको छ। आरोही फुर्वाले मौसम राम्रो भएकाले नै योपटक आरोहण सहज भएको बताए। योपटक सगरमाथामा बाक्लो हिउँ भएकाले पनि आरोहणलाई सहज बनाएको उनको भनाइ थियो।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु भयो भने एकजना बेपत्ता रहे।

सम्पर्क अधिकृत श्रेष्ठले अघिल्ला वर्षको आरोहणमा भन्दा यो वर्ष कम क्षति भएको बताए।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App