१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावको रिस विकास निर्माणमा

कलैया उपमहानगरपालिका–१७, ब्रह्मपुरीमा नाला निर्माणका क्रममा विवाद भएपछि समाधानका लागि नगरप्रमुख राजेश राय यादव छलफल गर्दै। तस्बिरः उपेन्द्र यादव/नागरिक

बारा – स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको महिनौं भए पनि त्यही चुनावका बेला भएको रिसइबी साँध्न खोज्दा बारामा विकास निर्माणमा अवरोध देखिएको छ।

स्थानीय तहमा निर्वाचित धेरैजसो प्रतिनिधिले विपक्षीहरूलाई तथा कतिपय विपक्षीले जनप्रनिधिहरूलाई अनावश्यक दुःख दिन खोज्दा विकास निर्माणमा विवाद हुने गरेको हो।

कलैया उपमहानगरपालिका–२० बसतपुरमा निर्माण गर्न लागिएको सामुदायिक भवन र सडक ढलानमा विपक्षीहरूले सुरुदेखि नै अवरोध गर्दै आएको वडा अध्यक्ष इमामुदिन ठकुराई बताउँछन्। नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका ठकुराईले विकास निर्माण गर्दा पनि विपक्षीहरूले अनेक बहानामा बाधा पु-याउने गरेको आरोप लगाए।

भारतको बिहार राज्यसँग सीमाना जोडिएको बसतपुरमा सीमा क्षेत्र विकास कार्यक्रम शीर्षकबाट करिब १६ लाख लागतमा सामुदायिक भवन र २६ लाख रुपैयाँ लागतमा सडक ढलान भइरहेका बेला अनावश्यक विवाद झिकेको उनको आरोप छ।

‘सुरुमा सामुदायिक भवन निर्माणका लागि उपभोक्ता समिति गठन गर्न जाँदा विपक्षीहरूले मठको जग्गामा भवन बन्न नदिने भन्दै उपभोक्ता समिति गठन गर्नमै अवरोध गरे,’ ठकुराईले भने, ‘जसोतसो उपभोक्ता समिति बनेपछि सामुदायिक भवन निर्माण सुरु गरेदेखि नै दिनहुँ विभिन्न बहानामा अवरोध गर्दै आएका छन्।’ स्थानीय तह निर्वाचनमा संघिय समाजवादी फोरमबाट वडा अध्यक्षका प्रत्यासी बनेका विनोद साह तेलीको समूहले सडक निर्माणमा अवरोध गर्न जग्गा अतिक्रमण गरेको ठाकुराईको आरोप छ।

यस विषयमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई जानकारी गराएपछि प्रहरी परिचालन गरेर सडक ढलान अघि बढाइएको छ।

कलैया उपमहानगरपालिका–१२ का वडाध्यक्ष राजेश्वर केशरीले सडक फराकिलो पार्ने काममा अवरोध गर्नेहरूलाई वडाबाट दिने सिफारिसमा रोक समेत लगाएका घटना सार्वजनिक भइसकेको छ। तर धर्मनगरका सन्तोष केशरीले भने वडाध्यक्षलाई चुनावमा भोट नदिएको निहुँमा अहिले सडक फराकिलो पार्ने नाममा आफूहरूको निजी जमिनसमेत मिचिने काम गरेको आरोप लगाए।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। बारामा रहेका १६ वटै स्थानीय तहमा चुनावको रिसइबी साँधेर विकास निर्माणमा विभिन्न विवाद भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।

कलैया उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन भइरहेका विकास योजना कार्यान्वयनका क्रममा दिनहुँ विवाद हुने गरेको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए। यस्ता विवाद मिलाउन गाउँगाउँमा पुगेर सर्वपक्षीय भेला गराउनु परिरहेको उनले जानकारी दिए।

बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले स्थानीय तहहरूले अहिले गरिरहेको विकास निर्माणका क्रममा आफू मर्कामा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी आउने गरेको जानकारी दिए। उजुरीका आधामा बुझ्दा कतिपय स्थानमा राम्रै काम भइरहेको तथा कतिपय स्थानमा भने मनोमानी किसिमले काम भइरहेको पाइएको उनले बताए।

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App