१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

खत्रीको चिया दोकान

नेपालको पूर्व क्षेत्र झापाको बिर्तामोडबाट शनिश्चरे हुँदै उत्तरतिर जाँदा जयपुर भन्ने गाउँ आउँछ। झण्डै पचास वर्षअघि त्यहाँ प्राथमिक विद्यालय र केही पुराना घरमात्र थिए । खत्रीको चिया दोकान गफाडीहरूको प्रतियोगिता हुने ठाउँ थियो। सात आठ वर्षको थियो, पंक्तिकार। त्यो बाटो हिँड्दा कहिलेकाहीँ हजुरआमाले ‘तँलाई भोक लाग्यो होला नाति, दूध बिस्कुट खा’ भन्नुहुन्थ्यो । खत्रीको दोकानमा भेला भएका केही टाठाबाठाले हजुरआमालाई आदरपूर्वक नमस्कार गर्थे, माहिला मुखियाकी आमा भनेर। झण्डै आधा घण्टा बस्दा चिया दोकानमा गाउँका ठूलाबडाले गरेको गफ सुन्ने मौका मिल्थ्यो यदाकदा। कतिपय कुरा अहिले पनि सम्झना आउँछ र हाँसो लाग्छ।

एकदिन सेतो कमेज–सुरुवाल लगाएका एकजना अधबैँसे मानिस बोले– हिन्दी फिलिमको देवानन्द भन्ने हिरो छ नि, त्यो त हाम्रै झापाको राजवंशी केटो र’छ। भाँडा माझ्न बम्बई गएका बेला फिलिममा काम पाएछ। बजिया भाग्यमानी र’छ हौ...।

२०२८ सालमा ५/६ कक्षामा पढुन्जेलसम्म मेरो बाल मस्तिष्कमा ‘देवानन्द’ हिरो झापाकै राजवंशी हुन् भन्ने थियो। सुकिलो लुगा लाएका ती ‘भद्र’ मानिसले ढाँटेनन् होला भन्ने लागेकोे थियो। सुकुमार राय भन्ने बंगाली शिक्षक हामीलाई पढाउँथे। उनले भने– ‘देवानन्दलाई केचनातिरको राजवंशी हो भन्ने त्यो मान्छे चैँ पागल हो। तँ कक्षामा फस्र्ट, सेकेन्ड भइरहने केटाले पनि त्यस्तो वाहियात कुरा पत्याउँछस्?’ मलाई सुकुमार सरको कुराले एउटा नौलो ज्ञान प्राप्त भयो। उमेर छिप्पिएका, सुकिलो लुगा लगाएका र मीठो कुरा गर्नेहरू पनि ढाँट्दा रहेछन् भन्ने थाहा भयो। त्यसपछि ठूला मान्छेको कुरा ‘फिल्टर’ गर्न थालेँ।

डम्पिङ साइट जस्तो ह्वास्सै गन्हाउने हुलका सरकार राष्ट्रलाई ‘सुख, शान्ति र समृद्धि दिने’ भन्दै प्रवचन दिइरहेका छन्। टुकुचा ठूलो नदीमा मिसिएको छ।

घरबाट बिहान आएर तीन चार ‘गिलास’ चिया खाँदा जसले नयाँ गफ सुनायो, ऊ नै जान्नेसुन्ने ठहरिँदो रहेछ, खत्रीको चिया दोकानमा। नेपालका राजनीतिक दल पनि आज खत्रीकै चिया दोकान जस्ता भएका छन्। नेपाललाई  सिंगापुर बनाइदिन्छु भन्थे २०४७ सालतिर । झन्डै पच्चीस वर्षपछि एकथरि नेताले बोले– ‘स्विट्जरल्यान्ड बनाइदिन्छौँ ।’ कोही सिंगापुर र दक्षिण कोरिया बनाउँछु भन्छन् । पचास वर्षअघि बालक छँदा पंक्तिकारले जे÷जे सुन्नुपरेको थियो, आज पनि त्यस्तै गफ सुन्न परिरहेको छ, ५८ वर्षको उमेरमा । कति कुरा पत्याउने, कति नपत्याउने?

आज पनि समग्र राजनीति खत्रीको चिया दोकानको नवीनतम् रूपमात्रै हो कि जस्तो लाग्छ । उन्नाइस वर्षको उमेरमा झापाको विवेचना साप्ताहिकको सहायक सम्पादक भएर पत्रकारितामा प्रवेश गरेको यो पंक्तिकारले राजधानीमा बसेर अध्ययन गर्ने क्रममा रेडियो, टेलिभिजन र पत्रपत्रिकामै बितायो, चालीस वर्ष। राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्)–बाट समाचार संकलन गरेर रेडियो नेपालमा हरेक साँझ बुझाउने क्रममा २०३८ सालदेखि केही वर्ष रेडियोमा समाचार समीक्षा लेख्ने काम मिल्यो। दैनिक एक सय पचास रुपियाँसम्म थियो ज्याला। पाँच रुपियाँमा दालभात तरकारी टन्न खान पाइने त्यो जमानामा त्यो रकम धेरै नै हो। धेरैजसो जनप्रतिनिधि खत्रीको चिया दोकानमा भेला हुने ‘ठालु’ जस्तै गफाडी थिए राष्ट्रिय पञ्चायतमा पनि। बाइस केजी सुनको पेटी लगाएर हङकङबाट काठमाडौँ आएका सुर्खेतका राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा विमानस्थलमै पक्राउ परे। केही दिन संसद्मा त्यही समाचार फिटेर सांसदहरूले दिन बिताए, भत्ता पचाए। राष्ट्रिय समस्या र त्यसको समाधान, अन्तर्राष्ट्रिय परिस्थिति एवं आवश्यक पर्ने कानुनबारे गम्भीर छलफल हुनुपर्ने ठाउँमा उट्पट्याङ गफमात्र धेरै हुन्थ्यो। पंक्तिकारलाई लाग्यो– यो पनि खत्रीकै चिया दोकान जस्तो रहेछ।

मकवानपुरका रापंस रूपचन्द्र बिष्ट (रुदाने) दार्शनिक कुरा गर्थे। उनी कसैकसैलाई मात्र तपाईँ भन्थे, अरु सबै परिचितलाई तँ र तिमी भन्थे। गेरु रंगको स्कुटर चढेर आउँथे। ‘एइ पत्रकार, आज तैँले मेरो पर्चा किन्नुपर्छ’– मलाई उनले पर्चा बेचे । एक रुपियाँको पर्चामा महत्वपूर्ण कुरा थियो– ‘सत्य थाहा नपाउने मान्छे, मान्छे नै होइन।’ हुन पनि हो, समाज, संस्था र राष्ट्र ध्वस्त पार्न चाहनेका बारेमा समयमै ‘थाहा’ पाएको भए नेपाल यति धेरै कमजोर हुने थिएन। चित्रबहादुर केसीको आरोपझैँ ‘संसद् गफाडीहरूको चिया खाने ठाउँ’ जस्तो मात्र हुँदै गएको छ । राष्ट्रिय सुरक्षाको स्थितिसमेत कमजोर देखिएको छ।

मुसा नपाउन्जेल बिरालोले दूधभात मात्र खान्छ, शाकाहारी भइदिन्छ। नेपालको राज्यसत्ता बिरालोलाई मीठो लाग्ने मुसाजस्तै हो। त्यसैले अवसरवादको पर्याय बन्यो, मुसा प्रवृत्ति।

२०४८ सालमा भारतको तल्लो सदनका गतिविधि अध्ययन गर्न जाँदा दिल्लीका पत्रकार साथीहरू भन्थे– यहाँ ५४५ जना सांसद छन्। तर टाटा, बिडला र डालमिया जस्ता ठूला व्यापारिक घरानाका दलाल र तस्कर पनि धेरै छन्। कैयन् त अपराधी छन्। डाँका र हत्यारा छन् ।’ २०६२/६३ सालपछि नेपालमा त्यस्तै प्रवृत्ति र प्रकृतिका सांसदहरू छिचिमिराझैँ आए । ‘फरार अभियुक्त’ भनिएकाहरूका सम्पूर्ण अपराध बृहत् शान्ति सम्झौताको गंगाजलले पखालियो । सञ्चारमाध्यममध्ये धेरैजसो दलकै मादल बजाउँछन् । उनीहरूले पनि नेपाली राजनीतिको मूल प्रवाह (?) ‘अझ स्वच्छ भएको’ टिप्पणी गरे। ६४ वटा बैंक लुट्ने, हजारौं निर्दोष मानिसको ‘हलाल’ गर्ने र एमाले–कांग्रेसलगायत दलका सयौँ कार्यकर्ताको घाँटी रेट्नेलाई सत्ताको समीकरण मिलाउन महामानव बनाइयो। डम्पिङ साइट जस्तो ह्वास्सै गन्हाउने हुलका सरकार राष्ट्रलाई ‘सुख, शान्ति र समृद्धि दिने’ भन्दै प्रवचन दिइरहेका छन् । टुकुचा ठूलो नदीमा मिसिएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकका बारेमा छानविन गर्न बनेको आयोगका दराजमा साठी हजार जति मुद्दा मुल्तबीमा छन्। ती सबै मुद्दाको सत्यनिरुपण, तहकिकात, अनुसन्धान र निरुपण यो जुनीमा संभव देखिँदैन। ‘जो अगुवा उही बाटो हगुवा’ भनेझैँ अपराधका कतिपय कारक तत्व नै शक्तिमान भएर बसेका छन् । घ्यु बेच्ने र तरबार बेच्नेहरूको कथाझैँ मौका परे एक–अर्कालाई छिर्के हान्ने दाउमा छन् सत्तारुढ दलका मठाधीशहरू । भीमनिधि तिवारीले कवितामा भनेझैँ ‘मामा, यहाँको माटै उल्टो छ ।’ देशलाई सात ‘परदेश’ (त्यस्तै उच्चारण गर्छन् कतिपय नेता) बनाउने दलका नेताको पचासौँ वर्ष पुरानो ‘दोस्ती’ टुट्दै गएको छ। ‘लेफिट्नेन्ट जनरल’ भएर पार्टीका उच्चासनमा बसेकालाई समेत ‘ब्रिगेडियर जनरल’ बनाएर घटुवा गरिएकामा एमालेका एकजना पूर्वअध्यक्षले आगो ओकलिरहेका छन् । अरुहरूको असन्तुष्टि पनि मुखरित हुँदै आएको छ। कतिपय नेताको भाषणले मदनकृष्ण, हरिवंश र सन्तोष पन्त जस्ता हाँस्य कलाकारहरूलाई ओझेलमा पारिदिएको छ । नेताहरू हाँस्यरसमा मस्त छन् भने धुर्मुस–सुन्तली समाजसेवामा।

लियो तोल्स्तयले सन् १८८६ मा लेखेको एउटा कथा छ– ‘मान्छेलाई कति जमिन चाहिन्छ ?’ (हाउ मच् ल्यान्ड डज अ म्यान निड) । कथाको प्रमुख पात्र पाओम लोभी हुन्छ । उसलाई प्रशस्त जग्गा जमिन जोड्ने चाहना हुन्छ । जग्गा खोज्दै जाँदा रुसको एउटा गाउँमा एक हजार रुबल (रुसी मुद्रा) मा जति पनि जग्गा किन्न पाइने तर खरिद गर्नेले दौडेर त्यो जग्गालाई परिक्रमा गर्नुपर्ने सर्त राख्छन् गाउँलेले । म्याक्सिम गोर्कीको मदर (आमा) उपन्यासको नायक पावेलभन्दा उल्टो चरित्रको छ तोल्स्तयको कथाको नायक। ऊ झण्डै काठमाडौँ उपत्यका जत्रै ठूलो भूखण्ड दौडेर परिक्रमा गर्न खोज्छ र मुटु फुटेर मर्छ। अन्त्यमा ६ फिट लामो खाल्डोमा पुरिन्छ उसको लास । उसलाई त्यति जमिन पर्याप्त थियो।

आजीवन सुख, सुविधा, सत्तामात्र चाहिने । नयाँ पुस्तालाई ‘एक इन्च जमिन’ दिन नचाहने कतिपय नेता रोगी, अशक्त र अधमरो भएर पनि पाहोमले झैँ ठूलो फेरो लगाएर ‘सेरोफेरो सबै मेरो’ भनिरहेका छन् । उनीहरूले आफू नभए नेपाल डुब्छ भनिरहेका छन् । राजा रणबहादुर शाहले भनेका थिए– म मरेँ भनेँ मुलुक डुब्न्या छैन, भीमसेन (थापा) म-यो भने मुलुक डुब्न्या छ।’ २९ वर्ष प्रधानमन्त्री र प्रधानसेनापति हुँदा भीमसेनले धेरै असल काम गरे । आजका अधिकांश नेताले त पेटमात्र भरे।

श्री ३ जुद्धशमशेरले प्रधानसेनापति रुद्रशमशेरलाई पनि विश्वास नगरेर पाल्पा धपाए । हिरण्य शमशेरलाई धनकुटा पठाए । हिरण्य रोगी छ, पहाडको हावापानीले पुष्ट हुन्छ भनिदिए। प्रतापशमशेर (सानु राजा) लाई इलाम पठाउने निर्णय गरे। प्रताप त्यहाँबाट दार्जिलिङ गएर बसे। त्यहाँको चौरस्तामा उनको सालिक छँदैछ। आफ्ना बाबु धीरशमशेरका नाममा धीरधाम मन्दिर बनाए दार्जिलिङमा । पानीका धाराहरू राखे। उनको कीर्ति फैलियो । स्थानीय जनताले चौरस्तामा प्रतापशमशेरको सालिक बनाए । उनका छोरा माधव शमशेर वृद्धावस्थामा स्वयंपाक्य थिए। फोहरा दरवारमा पुग्दा उनलाई आफँैले खाना बनाइरहेको अवस्थामा पंक्तिकारले भेटेको थियो ।

जुद्धले मन नपरेका सबै राणालाई लखेटे । ‘गोर्खापत्र’ स्थापना गर्ने सुधारवादी शासक श्री ३ देवशमशेरलाई उनकै भाइ चन्द्रशमशेरले लखेटेपछि उनी पहिले धनकुटा र पछि झरीपानी (नैनीताल नजिक) गएर बसे । मन नपरेका नेता÷कार्यकर्तालाई लखेट्ने ‘जुद्धशमशेर’ प्रवृत्ति हरेक पार्टीमा छ। त्यसैले दर्शन, आदर्श र  नैतिकताका कुरा नगरेर अधिकांश नेता÷कार्यकर्ता आफ्ना दलका दलाई लामा, पोप, शंकराचार्य तथा रिम्पोछे रिझाउन ब्यस्त देखिन्छन्। बीसौँ वर्ष दुःख गर्नुभन्दा पार्टीका नेतालाई लाखौँ रुपियाँ टक्र्याएपछि सांसद र मन्त्री हुन पाइन्छ । त्यस्तै हो भने कुनै दिन नेपालमा तस्कर दल पनि सत्तामा पुग्न सक्छ । किनभने पैसामा किन्न पाइने चीज धेरै छन् नेपालमा । महाकाली सन्धिमै बिके धेरै ‘राष्ट्रवादी’ नेता, त्यसपछि पनि बिकेकै देखिन्छ । मुसा नपाउन्जेल बिरालोले दूधभात मात्र खान्छ, शाकाहारी भइदिन्छ । नेपालको राज्यसत्ता बिरालोलाई मीठो लाग्ने मुसाजस्तै हो । त्यसैले अवसरवादको पर्याय बन्यो, मुसा प्रवृत्ति । प्रत्येक पलपलमा उनीहरूको परीक्षा भइरहेको छ। राज्यसत्ताका हरेक अंगमा जनतालाई दास र आफूलाई मालिक ठान्ने प्रवृत्ति यथावत छँदैछ । महँगी र भ्रष्टाचार बढिरहेकै छ। जनताले कष्ट भोग्नुपर्ने अवस्था उस्तै छ। त्यसैले दिल खोलेर ‘जिन्दावाद’ भन्नुपर्ने कुनै ठाउँ छैन। जनताले ‘स्यावास’ भन्नुपर्ने दिन आएकै छैन।

नीतिका कुरा गर्दा छुचो भइने डरले धेरैजसो नेता/कार्यकर्ता निगुरो (निउरो) जस्तै ‘निगुरमुन्टी न’ भएका छन् । नेताको मोजा गनाए पनि उनीहरू ‘अत्तरको बास्ना आयो’ भनिरहेका छन् । प्रायः सबै दलमा स्वाभिमानी, इमानदार, सक्षम र अध्ययनशीलहरू नेताको वक्रदृष्टिमा परिरहेका छन्। किनभने नेतालाई ‘हो हजुर’ भन्ने मान्छेमात्र चाहिएको छ । तर्क गर्नेको भविष्य छैन । यही कारणले दलहरू ‘खत्रीको चिया दोकान’ भइरहेका छन् । दलले बनाउने पराधीन थिङ्कट्यांकहरू हामीले देखेकै छौँ।

एसियाको सभ्यता जगत् प्रसिद्ध छ। मेसोपोटामिया र सिन्धु घाटीको सभ्यतामात्र होइन, नेपाललगायतका धेरै राष्ट्र सभ्यता र संस्कृतिमा सम्पन्न छन् । सिमेन्टका अग्ला घरमात्र सभ्यता र समृद्धिका उदाहरण हुन् भन्ने तर्क गरियो भने नगरवधू, तस्कर तथा भ्रष्टका महलहरू सभ्यताका प्रतीक हुन् त ? अवश्य होइनन्। ‘मन्दिरको गजुरभन्दा अग्ला घर नबनाउने’ परम्परा रहेको काठमाडौँ, ललितपुर र भक्तपुर जस्ता सहरको प्राचीन सभ्यता आज उपेक्षित अवस्थामा छ। रानीपोखरीलाई रानीखेत बनाइएको छ । सहरका वरिष्ठ हर्ताकर्ता लज्जित छैनन् । तर भौतिकवादको उत्कर्षमा पुगेका राष्ट्रहरू अब ब्युँझिन थालेका छन् । जापान, चीन र कोरियालगायत राष्ट्रमा सभ्यता  र पुराना कुराहरू जोगाउने प्रयत्न भइरहेका छन्।

हालै राजधानीमा आयोजित कार्यक्रममा पेचिङ विश्वविद्यालयका आजीवन प्राध्यापक हान यु हाइले घतलाग्दो कुरा बोले । उनले सभ्यता, संस्कृति र कूटनीतिक निरन्तरता महत्वपूर्ण भएको बताए। तर त्यही कार्यक्रममा माओवादी दलबाट विगतमा सांसद भएका एकजना ‘विश्लेषक’ हास्यास्पद तर्क गर्दै थिए । ‘भेनेजुयलामा कम्युनिस्ट नेता राष्ट्रपति भए, अब ब्रिटेन र अमेरिकामा पनि कम्युनिस्टले जित्छ ।’ उनको वक्तव्य खत्रीको चिया पसलमा गर्ने गफजस्तै थियो । सैनिक विद्रोह गराउने षड्यन्त्र गरेको भन्दै राष्ट्रपति निकोलस मादुरोले हालै ६ जना अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेर अमेरिकासँग पाखुरा सुर्कन थालेका छन्। कूटनीतिमा भावावेश होइन, सत्यमा टिक्ने साहस र शालीनता चाहिन्छ।

राष्ट्रको जीवनमा अनेक आरोह–अवरोह आउँछन् । वृक्षको पात हरेक वर्ष वसन्त ऋतुमा फेरिए पनि जरा भने सयौँ वर्ष रहिरहन्छ। पहेँला पात झर्छन् र नयाँ पालुवा आउँछ राजनीतिमा पनि। जरा अर्थात राष्ट्रियता, सभ्यता, एकता र विविधताको अर्थ गहिरो छ । तसर्थ, सतही टिप्पणी, घातप्रतिघात, विभाजन र विद्वेष फैलाउने उत्तेजनापूर्ण प्रवचन होइन, राष्ट्रको जरा बलियो बनाउने शक्तिमात्र राष्ट्र निर्माणको स्थायी शक्ति बन्न सक्छ। होइन भने अझै कैयन् वर्षसम्म ‘संक्रमणकाल’ नयाँ नयाँ अनुहार लिएर आइरहने छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App