१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समुदायले उग्रचण्डी मन्दिर जीर्णोद्धार

ललितपुर पुल्चोकको उग्रचण्डी मन्दिर समुदायकै पहलमा पुनर्निर्माण सुरु भएको छ । समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि अन्य निकायले चासो नदिएकाले समुदायकै सहयोगमा बिहीबारदेखि मन्दिर पुनर्निर्माण थालिएको बताए।

‘यो मन्दिरलाई हामीले कुल देवताका रूपमा पुज्छौँ,’ उनले भने, ‘समुदाय स्तरबाट पनि सक्रिय भूमिका खेल्ने हो भने पुनर्निर्माण कार्य छिटो सकिन्छ ।’ उनका अनुसार यो मन्दिर सातौँ शताब्दीमा बनेको हो । पाटन क्षेत्रमा पुरानो मानिएको उक्त मन्दिरको यसअघि पनि पाँचौँ पटकको जीर्णोद्धार भएको थियो । विगतमा पनि समुदाय स्तरबाटै मन्दिर पुनर्निर्माण हुँदै आएको थियो । ०७२ को भूकम्पले ताम्रकार समाज भवन परिसरमा रहेको सो मन्दिरको माथिल्लो तलालाई नराम्रोसँग क्षति पुर्याएको थियो ।

टेको लगाएर राखिएको मन्दिरको पुनर्निर्माणका लागि समाजकै सदस्यले चासो देखाएकाले पुनर्निर्माण थालिएको हो । अध्यक्ष ताम्रकारले भने, ‘सकेसम्म मन्दिरको पुनर्निर्माण छिटै सकिन्छ ।’ उनले समुदायभित्र हातेमालो गरेर काम थालिएकाले छिटै सकिने जानकारी दिए।मन्दिर पुनर्निर्माणका लागि समाजको मूल कार्यसमितिका तर्फबाट एकजना, समाजमा सदस्य रहेका प्राविधिक इन्जिनियरका तर्फबाट एकजना, जीर्णोद्धारका लागि समाजका कालिगडका तर्फबाट एकजना, फोटोग्राफर एकजना र समाजमा कार्यरत कर्मचारीमध्ये एकजनाको नामावली नै प्रकाशन गरेर काम थालिएको हो।

‘हाम्रा अग्रज काशीनाथ टमोटज्यूको संयोजकत्वमा केही समयअगाडि नै मन्दिरको सबै अभिलेख गरिसकेका थियौँ,’ समाजका सदस्य सन्देश ताम्रकारले भने, ‘प्राप्त अभिलेखअनुसार २०३८ सालअघि चारपटक जीर्णोद्धार भइसकेको छ । यसपालिको जीर्णोद्धारमा केही नयाँ अभिलेख भेटिन सक्छ ।’

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App