१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई पानी उद्योगमा सिल

जनकपुरधाम– खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयबाट पानीको गुणस्तर जाँचपास नगरिकनै पानी उत्पादन तथा बिक्रीवितरण गर्ने दुईवटा उद्योगमा सिलबन्दी गरिएको छ। 

जनकपुर –८ स्थित एभरेष्ट पानी र वडा नम्बर ९ स्थित बेल्हीमा रहेको जनकनन्दनी पानी उद्योगमा बिहीबार खाद्य निरिक्षकसहितको अनुगमन टोलीले सिलबन्दी गरेको हो। ती दुवै पानी उद्योगलाई २०७४ वैशाखमै अनुगमनको क्रममा अनुज्ञापत्र (खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयले उत्पादनको नमूना जाँचगरी उपभोग गर्न योग्य ठहर भए दिइने प्रमाणपत्र) बिना उद्योग नचलाउन सुझाव दिइएको थियो। त्यसको एक वर्षपछि भएको अनुगमन क्रममा पनि सुझावलाई पालना नगरेको देखिएपछि कारवाही स्वरुप उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले बताए। 

यसअघि खाद्य निरीक्षक नविन देउजाको नेतृत्वमा खटेको अनुगमन टोलीले धनुषा, लालगढमा रहेको कान्तिपुर पानी उद्योगमा सिलबन्दी गरेको थियो। दर्ता गरिएको भन्दा फरक स्थानमा अनुज्ञापत्र बिनै सञ्चालित उक्त उद्योगमा सिलबन्दी गरिएको दुई हप्ता बितिसक्दा पनि सुझाव अनुरुप सुधार नगरेको देउजाले बताए। ‘मानव स्वास्थ्यसँग खेलबाड हुनेगरी सञ्चालन गरिने कुनै पनि खाद्य पदार्थ सम्बन्धी उद्योग तथा व्यवसायलाई कुनै पनि बहानामा छुट दिन मिल्दैन’ खाद्य निरिक्षक देउजाले नागरिकसँग भने।  

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका गत चैत २६ गतेबाट लागु गरिएको छ। उक्त निर्देशिका अनुसारको मापदण्ड पुरा नगरेका कुनै पनि पानी उद्योग चल्न नदिनेगरी अनुगमनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्देशिकाले पानी उत्पादनमा खटिने कर्मचारीको पोशाक, उपकरण तथा पानी प्रशोधन गर्ने सम्पूर्ण मेशिनरीको गुणस्तर सम्बन्धी निर्देश गरेको छ। 

प्रकाशित: १० जेष्ठ २०७५ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App