१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नोटेसनसहित पन्नाकाजीका गीत

काठमाडौं - ‘तिरिरी मुरली बज्यो वनैमा लौ माया नमारे’ नेपालको सदाबहार गीतको नाम लिनुपर्दा यो गीत पहिला पाँचमा सजिलै अटाउँछ । २०१५ सालमा कलकत्तामा रेकर्ड भएको यही एउटै गीतले पन्नाकाजीलाई संगीतप्रेमीबीच अमर बनाइदिएको छ ।

यति मात्र होइन, प्रेमध्वज प्रधानको स्वरमा गुञ्जने ‘राजमति कुमती’ पनि कुनै समय पन्नाकाजीले नै गाएर नेपालभाषीबीच परिचत गराएका थिए । अझ यो गीत त पन्नाकाजीले रेडियो नेपालमा स्वर परिक्षा पास गरेको गीत मानिन्छ । २० कोे दसकमा पन्नाकाजीले लोकदेखि राष्ट्रिय भावका गीतसम्ममा आफ्नो गला प्रस्तुत गरेका छन् जुन आज लगभग बिस्मृत भइसकेका छन् ।नयाँ पुस्ताले गाउन चाहेपनि ती गीतहरू उपलब्ध छैनन् । पन्नाकाजी मात्र होइन उनको पुस्ताले गाएका सबै गायक गायिकाको अवस्था उस्तै छ । गायक तथा संगीतकारहरू डिबीमहेश पाल्पाली, तारादेवी, शिवशंकर, नातीकाजी लगायतका सयौं गीत कहाँ छन् कसैलाई थाहा छैन ।

उसबेला अधिकांश गायकले गीत रेकर्ड गराउने स्थान रेडियो नेपालमा पनि यसबेलाका गायकले गाएका गीतको रेकर्ड छैन । तर पन्नाकाजीका छोरा प्रीतममान शाक्यले बाबुका छरिएका गीतहरू एकै एकै ठाउँ भेला गर्दै ‘स्वर्णिम गीतिलहरी ः स्वरहरूमा पन्नाकाजी’ शीर्षकमा पुस्तक निकालेका छन् । हेम भण्डारीले सम्पादन गरेकोे पुस्तकले पन्नाकाजीको स्वर तथा संगीत रहेका चर्चित गीतहरू एकै ठाउँ जम्मा गर्ने मात्र होइन, उनका गीत गाउन सजिलो होस् भनेर ती गीतका नोटेसनसमेत राखिएको छ ।

‘पुराना गीतहरू नयाँ पुस्ताले विर्संदै गएका छन् । कुन गीत कसको हो भन्ने पनि थाहा हुन छाडिसक्यो ,शाक्यले किताब छाप्नुको उद्देश्य खोल्दै भने , ‘त्यस्तो स्वर्णिम गीतहरू नयाँ पुस्तालाई थाहा दिन पुस्तक निकालेको हो । प्रीतमका अनुसार उनका पिताको अन्तिम समयमा रेडियोमा आफ्ना गीत सुन्ने उत्कट चाहना थियो । तर नगरैपिच्छे खुलेका एफ.एम.रेडियोले ती गीत कहिले बजाइदिएनन्।

‘नयाँ पुस्तामाझ मेरा गीत नै पुगेनन् भन्ने कुरा त्यहीबेला उहाँलाई लागेको थियो । ५३ वर्षको अवधिमा रेकर्ड भएका गीत संकलन गर्ने र नयाँ प्रविधीमा रुपान्तरण गर्नुपर्ने जटिल काम थियो । आफ्ना गीत रेडियोमा बजेकोे सुन्ने चाहना राख्दा राख्दै २०७३ साल माघ १२मा उहाँ बित्नु भो,’ प्रीतमले भने,‘ बुबा बितेर गएपछि उहाँको त्यो इच्छा पूरा गर्नु पर्छ जस्तो लाग्यो । त्यही बेलादेखि म गीतको संकलनमा लागे र यो पुस्तक तयार भयो।

प्रीतममानलाई पुस्तकमा संकलित गीत खोज्नै एक वर्ष लाग्यो । एक्लैले नसकिने यो कामका लागि प्रीतमले हेम भण्डारी, सन्तोष पराजुली र राजु सिंहको सहयाोग लिए । भण्डारीले सम्पादनको अभिभारा लिए भने पराजुलीले पृष्ठभूमि लेखनको । संगीतकार राजु सिंहले पन्नाकाजीका छानिएका गीतमा तीन महिना लगाएर नोटेसन लेखे । ‘यस्ता गीतको शब्दमात्र राखेर भएन सिक्न चाहनेले जानेर सिक्न सक्छन् भनेर स्टाफ नोटेसनसहितको किताब निकालेको हुँ,शाक्यले सुनाए, ‘लोकलय, क्लासिकल ,रोमान्टिक,भक्ति संगीत अब नयाँ पुस्ताले पनि बुझ्न पाउने छन् ।

अन्य देशमा गीत नोटेसनसहित विश्वभर पु¥याउने प्रचलन छ । तर नेपालमा बजुन्जेल सुनिने अनि हराउने अवस्था छ । स्टाफ नोटेसनसहित गीत पाउँदा विदेशीले यताको शब्द र संगीतको मर्म बुझ्न सक्छन् र उनीहरूले अध्ययनका लागि तिनको प्रयोगसमेत गर्न सक्छन्।

पुस्तकमा पन्नाकाजीकोे स्वर तथा संगीत रहेका जम्मा ४४ गीत नोटेसनसहित संग्रहित गरिएको छ । उनले रेडियो नेपालले यति गीतको मात्र तथ्यांक भेटेकाले तिनै गीत मात्र समेटेको बताए । ‘खोजि गर्दा अहिलेलाई यति गीत मात्रै भेटिए । बुबाले तीन चार सय गीत छन् मेरा भन्नु भएको थियो । सबै गीत जम्मा गर्ने र यसैगरी पुस्तक निकाल्दै जाने योजना छ । अहिले थप गीत खोजिरहेका छौं,’ शाक्यले भने ।

पुस्तककोे पहिलो संस्करण गतसालको माघमा प्रकाशित भएको थियो । यो त्यही दिन थियो जुन दिन पन्नाकाजी बितेको एक वर्ष पुगेको थियो । यस्तो बेलामा सामान्यतया नेपालमा दिवंगत व्यक्तिको गुणगान गाइएका स्मृतिग्रन्थ निकाल्ने चलन छ । तर प्रीतमले भने स्मृतिग्रन्थको साटो उनका गीत जम्मा गरेर पुस्तकको स्वरुप दिए । तर प्रचार प्रसार नपाएको किताबले बल्ल बिक्रीमा बल्ल ५ सयको आँकडा परेको छ ।‘छाड्न त काठमाडौंका सबै ठूला पसलमा छाडेको छु । तर खास बिक्री भएको छैन,’ शाक्यले भने, ‘अहिलेसम्म ५ सय प्रति बिक्री भयो होला । तर उहाँका लागि काम लागेको छ भने यसैलाई मैले ठूलो कुरा सम्झेको छु ।’

ब्रेकर ः पुस्तक पन्नाकाजीको वार्षिकीमा प्रकाशित गरिएको थियो । यस्तो बेलामा सामान्यतया नेपालमा दिवंगत व्यक्तिको गुणगान गाइएका स्मृतिग्रन्थ निकाल्ने चलन छ । तर प्रीतमले भने स्मृतिग्रन्थको साटो उनका गीत जम्मा गरेर पुस्तकको स्वरुप दिए जसमा पन्नाकाजीले स्वर तथा संगीत दिएका ४४ गीत नोटेसनसहित राखिएको छ।

प्रकाशित: १० जेष्ठ २०७५ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App