१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

काठमाडौं– अनुकूल मौसमको फाइदा उठाउँदै मंगलबार एकै दिन स्वदेश तथा विदेशका ४१ आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झन्डा फह-याएका छन्। 

सगरमाथाको आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये मंगलबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्। 

‘विभिन्न आरोहण दलमा आबद्ध २३ नेपाली र १८ विदेशी आरोहीले साधारण रुट (दक्षिण–पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट मंगलबार नागरिकसँग टेलिफोनमा भने, ‘उनीहरू कुन देशका, प्रत्येक आरोही कति बजे शिखर पुगे लगायत विस्तृत विवरण आइसकेको छैन।’

श्रेष्ठका अनुसार यसपालि वसन्त ऋतुमा आरोहण सुरु भएयता हालसम्म स्वदेश तथा विदेशका ४ सयभन्दा बढी आरोही शिखर पुगिसकेका छन् भने डेढ सयजति शिखर पुग्न नसकेर फिर्ता भइसकेका छन्। सगरमाथाको मौसम विस्तारै अनुकूल हुँदै गएपछि आधारशिविरदेखि विभिन्न क्याम्पमा रहेका अझै सयौं आरोही शिखरतर्फ जाने तयारीमा छन्। 

‘नेपालीसहित विभिन्न देशबाट आएका लगभग ४ सयहाराहारी आरोही शिखर पुग्न बाँकी छन्,’ सरकारी सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘मौसमले साथ दिए केही दिनभित्र अधिकांश आरोही शिखर पुग्नेछन्।’

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार यसपालि वसन्त ऋतुमा विभिन्न देशबाट आइपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयजना सगरमाथा पुगेका थिए। तीमध्ये करिब आधाजति ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरदेखि पहिलो, दोस्रो, तेस्रो र चौथो क्याम्पमा अनुकूल मौसम कुरेर बसिरहेका छन्।

यसपाली वसन्तमा गत वैशाख ३० गते आठ नेपालीले चुचुरोमा विजयी झन्डा फह-याएसँगै सगरमाथाको सफल आरोहण सुरु भएको थियो। ती आठजनाले आधारशिविरबाट चुचुरोसम्म डोरी टाङ्दै गएका थिए र सबैले सफल आरोहण समेत गरेका थिए। त्यसपछि सफल आरोहणको दोस्रो दिन ५० आरोही, चौथो दिन ९४ आरोही र पाँचौं दिन १८ आरोही, छैठौं दिन ६८ आरोही, सातौं दिन ४१ आरोही शिखर पुगेका थिए। तेस्रो दिन भने एक्कासी मौसम प्रतिकूल भएका कारण कुनै पनि आरोही शिखर पुग्न सकेका थिएनन्। 

सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले त्यसबेला  आरोहण गतिविधि स्थगन गरेको थियो। त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो।  

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो। 

विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर तिर्नुपर्छ। त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। 

यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकल आरोहीलाई २५ हजार डलर, समूहमा जाने दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

नेपाली शेर्पाको मृत्यु

आरोहण सहयोगीका रूपमा सगरमाथा गएका नेपाली आरोही दमाइसार्की शेर्पाको सोलुखुम्बुको नाम्चेबजारमा मृत्यु भएको छ। शिखरतिर जाने क्रममा दोस्रो क्याम्पमा खर्पस (हिमखाडल) मा खसेर घाइते भएका शेर्पाको उद्धार गरी थप उपचारका लागि नाम्चे ल्याइएको र उपचारक्रममा सोमबार राति मृत्यु भएको सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०७५ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App