१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमती सफाइका दुई सय ६२ साता

काठमाडौ – शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

पाँच वर्ष अर्थात एक हजार आठ सय २५ दिनको सम्झनामा शनिबार बाग्मती र मनोहराको संगमस्थल शंखमुलमा एक हजार आठसय २५ दिप प्रज्वलन गरिएको छ। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको उपस्थितिमा अभियानको पाँच वर्षे कार्यकाललाई विशेष ढंगले मनाइएको हो।

अभियान सुरु भएको पाँच वर्षको अवधिमा बाग्मतीबाट १८ हजार टन ठोस फोहोर निकालिएको छ। यस अवधिमा झण्डै आठ लाखे स्वयमसेवीले अभियानमा सहभागिता जनाएका छन् भने एक हजार आठ सय संघसंस्थाले हैसेमा होस्टे गरेका छन्। पहिलेको तुलनामा बाग्मतीमा फोहोर फाल्ने प्रवृत्ति पनि कम भएको छ। तर अझै पनि बाग्मतीबाट स्वच्छ पानी बग्ने अवस्था भने सिर्जना हुन सकिरहेको छैन।

नागरिकको तर्फबाट बाग्मती सफाइका लागि सक्दो प्रयास भएपनि सरकारी तहबाटै बाग्मतीलाई स्वच्छ बनाउने लक्ष्य नभएसम्म पूर्ण स्वच्छ बाग्मतीको परिकल्पना पुरा हुन कठिन हुने महाअभियानका अभियान्ता डा. राजु अधिकारी बताउँछन्। ‘नागरिकको तहबाट सक्नेसम्मको प्रयास भएका छन, अब सरकारको तर्फबाट काम हुन आवश्यक छ,’ अधिकारीले भने।

सरकारले बाग्मतीमा मिसिने ढल व्यवस्थापन, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने , नदी नीति ल्याउने, तथा वातावरण र नदीलाई प्राथमिकतामा नराखेसम्म बाग्मती पूर्ण रुपले सफा हुन नसक्ने उनी बताउँछन्। ‘हामीले प्रतिकात्मक रुपमा काम गरिरहेका छौँ, ५० लाखले गरेको फोहोर केही सय मानिसको सहभागीताले पूर्ण सफा गर्न सम्भव हुँदैन, त्यसका लागि सरकारी तत्परता आवश्यक हुन्छ,’ अधिकारीले भने।

अधिकारी अभियानले फोहोर गर्ने प्रवृत्तिमा भने कमि ल्याएको बताउँछन्। ‘अभियान सुरु भएपछि नदीमा फोहोर फाल्ने प्रवृत्तिमा कमि आएको छ,’ उनले भने। अभियान सुरु भएपछि बाग्मती बाहेक उपत्यका बाहिर पनि सफाईसम्बन्धी दुई दर्जन भन्दा बढि अभियानहरु सञ्चालन भइरहेको र अभियानले आशा र प्रेरणाको सञ्चार गरिरहेको अधिकारीको भनाई छ। अभियान्ता अधिकारी मनोहरा भन्दा माथिको बाग्मती केही सफा भएपनि सहायक नदीहरु मनोहरा, हनुमन्ते, टुकुचा तथा विष्णुमतिका कारण बाग्मती थप फोहोर भइरहेकाले यसको व्यवस्थापन आवश्यक रहेको बताउँछन्।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेत भने सरकारी तवरबाट पनि महत्वपूर्ण काम भइरहेको बताउँछन्। उनी हाल सरकारको मुख्य प्राथमिकता बाग्मतिलाई ढल मुक्त बनाउनु रहेको बताउँछन्।

‘हामी अहिले बाग्मतीलाई ढलमुक्त बनाउने अभियानमा छौँ बाग्मति पछि अन्य सहायक नदिबाट पनि ढलमुक्त बनाउने लक्ष्य राखेका छौँ,’ बस्नेतले भने। उनले हाल एडिबीको सहयोगमा गोकर्णबाट बाग्मती सफाइका वृहद ढंगले काम भइरहेको बस्नेतले जानकारी दिए। बाग्मनी नदीमा ढल नियन्त्रण गर्ने देखि नदी आसपास पार्क बनाउने तथा समुदायलाई हस्तान्तरण गर्ने जस्ता कामहरु भइहरेको उनको भनाई छ।

बस्नेत बाग्मतीमा सरसफाइकालागि महानगर तथा नगरपालिकाको भूमिका पनि महत्वपूर्ण हुने बताउँछन्। ‘महानगरपालिका र नगरपालिकाले घर बनाउँदा सेफ्टी ट्याङकी बनाउने तथा नदीमा ढल मिसाउने काममा रोक लगाउनुपर्छ , यसबाट मात्र सफाइ अभियानले मूर्त रुप पाउन सक्छ,’ बस्नेतले भने। बस्नेतले सफाइ अभियानको तीन सय सप्ताहसम्म बाग्मतीमा सुद्ध पानी बग्ने अवस्था सिर्जना गरिने बताए। ‘सबैको सहयोग भएमा तीन सय सप्ताहसम्म पुग्दा बाग्मतीमा सुद्ध पानी बग्ने अवस्था सिर्जना गर्छौै,’ उनले भने।

बाग्मती सफाइको पाँच वर्षको अवधिमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु हुदै आएका छन् । अभियानको ५० औ सप्ताह पुगेको अवसरमा तत्कालीन मुख्य सचिव तथा अभियान्ता लिलामणी पौडेलसमेतले गुहेश्वरीमा बाग्मती स्नान गरेका थिए।

एक सय सप्ताह पुरा भएको अवसरमा सुन्दरीजल देखि चोभारसम्म २८ किलोमिटर खण्डमा तत्कालिन प्रधानमन्त्री तथा सभामुखको उपस्थितिमा करिब एक लाख मानिसले नदीको दुवै किनारामा मानव साङलो बनाएर बाग्मती सफाइमा ऐक्यबद्धता जनाएका थिए। महाअभियानको दुइ सय सप्ताहको अवसरमा सुन्दरीजल देखि चोभारसम्म पदयात्रा र १० बुँदे घोषणा पत्र जारी गरिएको थियो। सुरुको एक सय सप्ताह बाग्मती नदीमा मात्र सिमित भएको सफाई अभियान हाल सहायक नदीहरुमा पनि विस्तार भइरहेको अभियान्ताहरुको भनाई छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App