१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एउटै फिल्ममा चार चरित्र

काठमाडौं – कलाकारको आयु उसले निर्वाह गर्ने चरित्रले निर्माण गर्छ । नामसँगै आउने चरित्रको नामले उसको कलाकारिताको आयतन देखाउँछ । यो मान्यतामा रहेर विपिन कार्कीलाई हेर्ने हो भने नामसँगै उनले निर्वाह गरेका विभिन्न चरित्र हाम्रो दिमागमा आउँछन्।

‘छड्के’को इन्दुबिन्दु, ‘पशुपतिप्रसाद’को भष्मे, ‘जात्रा’को फणिन्द्र विपिनको नामसँगै आउने नाम हुन् । फरक चरित्रमा देखिने मात्र होइन, त्यो चरित्रलाई दुरुस्त निर्माण गर्ने खुबीकै कारण विपिन स्टारडम बिक्ने बजारमा पनि ढुक्कले बिकिरहेका छन्, जबकि शारीरिक बनोटका हिसाबले उनी कुनै कोणबाट पनि स्टार देखिन्नन् । अनि, यिनै विपिन फेरि एक पटक फरक कामका साथ पर्दामा आउन लागेका छन् । उनको यो फरक रुप देखिनेछ ‘हरि’मा जहाँ उनलाई दर्शकले चार भिन्न भूमिकामा देख्नेछन्।

फरक चरित्रमा देखिने मात्र होइन, त्यो चरित्रलाई दुरुस्त निर्माण गर्ने खुबीकै कारण बिपिन स्टारडम बिक्ने बजारमा पनि ढुक्कले बिकिरहेका छन्, जबकि शारीरिक बनोटका हिसाबले उनी कुनै कोणबाट पनि स्टार देखिन्नन्।

आउँदो जेठ १८ मा प्रदर्शन हुन लागेको फिल्ममा विपिन जिजुबा, हजुरबुवा, बुवा र छोराको चार चरित्रमा देखिँदैछन् । ‘चारवटै चरित्रको भूमिका भिन्न छ तर नाम चाहिँ हरि नै हुन्छ । जिजुबाजे र हजुरबुवाभन्दा हरिको बुवा जँड्याहा र मांसहारी हुन्छ,’ विपिनले भने, ‘बाबुको बानीबाट आजित भएकी आमाले छोरा हरिलाई प्रणामी बनाउँछिन् । बावु बिग्रेपछि छोरालाई पनि बावुजस्तो नबनोस् भनेरै आमाले शाकाहारी बनाउँछिन्।’

विपिनका अनुसार ‘हरि’ एक सहकारीको मेनेजर हुन्छन् । जसले सहकारी कार्यालयको व्यवस्थापनदेखि अन्य क्षेत्रमा काम गरिरहेको हुन्छ । ‘हरि पहिचान खोज्ने चरित्रको हुन्छ । अर्थात ऊ आफ्नो पुस्ताको जस्तो सामाजिक बन्धनमा बाँच्न चाहँदैन । उसले आफ्नो स्वतन्त्रता र पहिचान खोजिरहेको हुन्छ,’ विपिनले बिहीबार गफिँदै भने ,‘त्यही कुराको संघर्ष हो, हरि । अन्य फिल्ममा काम गर्दा स्क्रिप्ट तथा चरित्रलाई केही परिस्कृत गर्न सक्थें । तर यो फिल्ममा मेरो केही चलेन । किनकि मेरो चरित्र नै त्यस्तै छ।’

फिल्ममा चार चरित्रमा विपिन देखिए पनि उनलाई चरित्र बुवाको चरित्र खास लागेको छ । ‘हरिको बाबुको भूमिका त्यति गाह्रो किसिमको छैन । लामो कपाल र रमाइलो गरिरहन चाहने बुवाको चरित्र छ,’ विपिनले हाँस्दै भने, ‘यो चरित्र र मेरो वास्तविक चरित्र  ठ्याक्कै मेल खान्छ । त्यसकारण पनि यो चरित्र मलाई निकै सजिलो भयो।’

विपिनका अनुसार फिल्मले धार्मिक अन्धविश्वासलाई पनि प्रस्तुत गरेको छ । ‘धर्मप्रति आस्था राख्ने भएकैले हरिकी आमा अलिक धार्मिक छिन् । बिरालोले बाटो काट्दा, काग र परेवाले टाउकोमा दिसा गरिदिँदा त्यसको अपसगुन हुन्छ भन्ने मान्यता राख्छिन् । त्यसैको घनचक्करमा हरि पनि परेको हुन्छ,’ विपिनले भने, ‘यो घनचक्कर र पारिवारिक गञ्जागोलबाट पनि हरि उम्किन चाहन्छ।’

फिल्म ‘हरि’मा कलाकार कमलमणि नेपाल नकारात्मक चरित्रमा छन् । ‘म भिलेन नै त होइन, तर व्यवहार भने भिलेनकै जस्तो छ,’ मुस्कुराउँदै उनले भने, ‘हरि र म एउटै कार्यालयमा काम गर्ने कर्मचारी हुन्छौं । साथी भए पनि म हरिको काममा समस्या मात्र ल्याउने भूमिका छ।’

फिल्मको मास्टहेड ‘हरि’को अंग्रेजी अक्षरांकन उनी आफैंले गरेका हुन् । ‘मैले नेपालीमा पनि पोस्टरको धेरै पटक मास्टहेड बनाउन खोजें तर उपयुक्त चाहिँ अंग्रजीकै लाग्यो,’ उनले बताए । फिल्ममा सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन तथा निर्देशन छ । फिल्म ‘लुट’मा सहायक निर्देशक रहेका सफलसँग प्रतीकको भेट फिल्म ‘मुखौटा’मा मात्र थियो । फिल्म ‘मुखौटा’मा प्रतीक पनि सहायक निर्देशक थिए।

‘विपिनसँग भेट भएदेखि नै उसमा फरक चरित्रमा काम गर्ने इच्छा थियो । फिल्मको सुटिङबाट फुर्सद पाउँदा ऊसँग भिन्न शैलीको कथामा फिल्म गर्ने योजना बनिरहेको थियो,’ सफलले ‘हरि’ बन्ने कारण खुलाए, ‘हामीले सुरुमा एउटा आत्महत्याको विषयलाई लिएर कथा बनाएका थियौं । तर स्क्रिप्ट लेख्न थालेपछि फिल्म ‘हरि’ बन्यो।’

अर्का निर्देशक प्रतीकले फिल्मले पुस्तान्तरणको राम्रो र नराम्रो पक्षलाई ‘हरि’ चरित्रमार्फत् देखाइने बताए । ‘अहिले बनिरहेका फिल्मभन्दा हरि पक्कै फरक छ । फिल्मको टिजर र ट्रेलरले पनि विपिनको चरित्र कस्तो छ भन्ने केही खुलाएको छ,’ उनले भने।

शुभलक्ष्मी फिल्मको बयानरमा निर्मित फिल्ममा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत र सुनिशा बजगाईंको अभिनय छ । यज्ञेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राज भण्डारीको छायांकन छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App