१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक निर्माणमा ढिलाई गर्ने ठेकेदार प्रहरी चौकीमा

पोखरा- सम्झौता भएको मितिमा पनि सडक निर्माणकार्य सम्पन्न नगर्ने ठेकेदारलाई प्रहरीले पक्रिएर काम छिटो सक्न कागज गराएर छाडेको छ। प्रदेश ४ र प्रदेश ३ को राजधानी जोड्ने पृथ्वी राजमार्गको गगनगौँडा खण्डमा निर्माणाधीन सडकको कालोपत्रे गर्न ढिलाई गरेको भन्दै प्रहरीले निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई झिकाएको थियो।

एक किमी चार सय मिटर लामो यो सडकखण्ड कालोपत्रे गर्न २ करोड रुपैयाँमा ठेक्का सरुवा कन्ट्रक्सनले गत जेठमा सम्झौता गरेको थियो। गएको आर्थिक वर्ष २०७३/०७४ को जेठमा सम्झौता भई सोही आवको असार मसान्तसम्ममा कालोपत्रे सकिनुपर्ने सम्झौता भएतापनि समय अभावले चालु आर्थिक वर्षको चैतसम्ममा कालोपत्रे गर्न म्याद थप गरिएको थियो।

तर, हालसम्म पनि सडकको आधा काम मात्र भएको छ। गिटी छरेर सडक निर्माणमा ढिलाई गरेपछि धुलो र दुर्घटनासमेत बढेको भन्दै स्थानीयले विरोधसमेत गरेका थिए।

बिटुमिन छर्ने मेसिन नभएको भन्दै ठेकेदारले काममा ढिलाई गरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम खत्रीले बताए । काममा ढिलाई भएर स्थानीयले बिरोध गरेपछि आफूले पनि ठेकेदारलाई बोलाएर सोधपुछ गरेको र मेसिन नभएको जवाफ दिएको सडक डिभिजन कार्यालय उनले जानकारी दिए।

यस्तै पोखरा पृथ्वीचोकमा सडक ढलान गर्ने जिम्मा पाएको ठेकेदारलाई पनि प्रहरीले छिटोभन्दा छिटो काम सक्न कागज गराएको छ । पोखराको मुख्य पृथ्वीचोकमा छिटोछिटो सडक बिग्रने समस्या भएको भन्दै टिक्ने खालको ढलान गर्न आचार्य विल्डर्स प्रालिलाई सडक डिभिजन कार्यालयले ठेक्का दिएको छ।

१ सय ५६ मिटर  सडक ढलान गर्न १ करोड ६० लाख रुपैयाँमा जिम्मा पाएको प्रालिका अनिल खड्कालाई प्रहरीले कागज गराएर छोडेको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए। समयमै सक्नुपर्ने काम मेसिन नभएको भन्दै ढिलाई गरेपछि गृह मन्त्रालयको निर्देशानुसार बस्नेतलाई झिकाईएको जनाए । दुवै ठेकेदारलाई छिटो काम सक्नेगरि कागज बनाएर छाडिएको छ।

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App