१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदसँग प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग गत शुक्रबार जनकपुरमा गरिएको भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन्। गत शुक्रबार जनपकुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिएको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले नेपालको संविधान विभेदकारी भएको भन्दै त्यसको विरोधमा आफूहरूको संघर्ष जारी रहेको बताएका थिए।

उनले प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिले राष्ट्रको गरिमामा आँच आउने काम गरेको बताए। स्रोतका अनुसार प्रधानमन्त्रीले भने, ‘अभिनन्दन कार्यक्रममा लालबाबुले त्यस्तो कुरा बोल्नु हुदैनथ्यो। उहाँको कुराले राष्ट्रको गरिमामा आँच आउने काम गरेको छ।’

लालबाबुले बोलेको कुरामा विपक्षी दलहरूले उचालिरहेको पनि उनले चर्चा गरेका थिए। प्रधानमन्त्रीसँग डेलिगेशनमा गएका प्रदेश २ का एमालेका सांसद लिलानाथ श्रेष्ठले प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्री लालबाबुको अभिव्यक्तिको विषयमा असन्तुष्ट जनाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले प्रदेश २ का मुख्यमन्त्रीले बोेलेको कुराले राष्ट्रको गरिममा आँच आउने काम गरेको छ। उहाँ (राउतल)ले यस्तो कुरा बोल्नु हुँदनथ्यो भन्नुभयो। ’ मुख्यमन्त्रीको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले बोलीसकेपछि राजपाका सांसद लक्षण्मलाल कर्णले अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे सरकारले पहिले गाइड गरेको थियो कि थिएन भनी जिज्ञासा राखेका थिए। उनले भने, ‘मुख्यमन्त्रीले के बोल्ने, के नबोल्ने विषयमा सरकारले पहिले उहाँलाई गाइड गरेको थियो कि थिएन?’ कर्णल प्रश्न गरेपछि प्रधानमन्त्रीले भने, ‘परराष्ट्र मन्त्रालयले यस विषयमा उहाँलाई गाइड गरिरहेको थियो तर उहाँले परारष्ट्रलाई समेत थाहा नदिई बोल्नुभयो।’ कर्णले बोलेपछि संघीय फोरमका सांसद प्रदीप यादवले बोलेका थिए। उनले भने, ‘सरकारले संविधान संशोधन गर्ने जनाएको छ। संविधान संशोधन भएमा देशमा शान्ति आउँछ।’

प्रदेश २ बाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभाका र राष्ट्रियसभाका २१ सांसद प्रदेशको समृद्धि र विकासका अजेन्डालाई लिएर मंगलबार प्रधानमन्त्रीलाई भेटेका थिए। सो एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपाका सांसद सहभागी थिए। उनीहरूले लिखित रूपमा नै प्रधानमन्त्रीसँग माग राखेका थिए। सांसदहरूको लिखित अजेन्डा सुनेपछि प्रधानमन्त्री खुसी भएको सहभागी सांसदहरूले बताएका छन्। संघीय फोरमका सांसद यादले भने, ‘हामीले कुरा राखेपछि प्रधानमन्त्री खुसी हुनुभयो। हाम्रा कुरालाई उहाँले आफंैले लेखेर टिपोट गर्नुभयो।’ प्रधानमन्त्रीलाई भेट्न गएका सांसदसँग प्रधानमन्त्रीले प्रदेश २ को समृद्धि र विकासका अजेन्डा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा सहभागी गराउने प्रतिबद्धता जनाएका थिए।

माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले भने, ‘हामीले प्रदेश २ को विकासका अजेन्डा बोकेर प्रधानमन्त्री भेट्न गएका थियौ । प्रधानमन्त्रीले हाम्रो कुरालाई गम्भीरतापूर्वक सुन्नुभयो।’ सांसदसँगको भेटपछि प्रधानमन्त्रीले लेखेको टिपोटमा उनले २४ वटा बँुदा राखेका छन्। वीरगन्ज रंगशालालाई अन्तराष्ट्रियकरण गर्ने, रौतहटमा मेडिकल कलेज खोल्ने,जनकपुर, जलेश्वर बाटो, साक्षरता अभिायन, कोसी टप्पु, सुनकोसी कमला, चुरे संरक्षण, जलेश्वर महोत्तरीमा शिक्षण कलेज स्थापना गर्ने लगायतका विषय समेटिएका छन्। बन्द भएको जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी उद्योग तत्काल सञ्चालनमा आउनुपर्ने, कृषि मल कारखाना स्थापना हुनुपर्ने, गण्डक नहरलाई पुन संञ्चालनमा ल्याउनुपर्ने, राजविराज एयरर्पोटमा कार्गो सेवा सञ्चालन हुनुपर्ने, प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल निर्माण हुनुपर्ने, निजगढ, काठमाडौं फास्टट्र्याक अबिलम्ब सञ्चालन हुनुपर्ने, हुलाकी राजमार्गको निर्माणलाई तीव्रता दिनुपर्ने लगायतका माग सांसदहरूले गरेका छन्। प्रधानमन्त्रीसँग विमल श्रीवास्तव, जुली महतो, रानी मण्डल, इन्दु शर्मा, सरिता गिरी, मोहम्मद अफताम आलम, सुमन प्याकुरेल, शशीकला दाहाल, लक्ष्मणलाल कर्ण, सरला यादव, प्रमीलाकुमारी यादव, एकबाल मियालगायत सांसदले भेटेका थिए।

प्रकाशित: २ जेष्ठ २०७५ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App