१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आधा अर्ब खर्चमा एउटा इन्जिन मर्मत

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आधा अर्ब खर्च गरेर ठूलो जहाजको एउटा इन्जिन मर्मत गरेको छ। मर्मतपछि उक्त इन्जिन एउटा जहाजमा जडान गरिएको छ।

स्पेनको सरकारी वायुसेवा कम्पनी आइबेरिया एयरलाइन्समा मर्मत गरिएको उक्त इन्जिन १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजका दुईमध्ये एउटा जहाजमा जडान गरिएको हो । निगमसँग रहेका दुईथान मध्ये कलसाइन ‘९एन–एसिबी’ भएको जहाजमा जडान गरिएको हो।

पूर्णमर्मत (ओभरहल) गरिएको इन्जिन जडान गरिएको जहाज सोमबार दिउँसो यात्रु बोकेर काठमाडौं अवतरण गरेको थियो । त्यसअघि स्पेनमा मर्मत गरिएको इन्जिन सिंगापुर ल्याएर एसिबी जहाजमा जडान गरिएको थियो । सोमबार बिहानै जहाज सिंगापुरबाट मलेसियाको क्वालालम्पुर आएको थियो ।

‘अहिले ओभरहल गरिएको इन्जिनले ६ वर्षसम्म उडान गर्नसक्छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘एसिबी जहाजमा करिब डेढ वर्षअघि पनि ओभरहल गरिएको अर्काे इन्जिन जडान गरिएको थियो ।’

निगमले अन्तर्राष्ट्रिय उडान गर्ने आफ्ना जहाजका इन्जिन स्पेनको आइबेरिया एयरलाइन्समा मर्मत गर्दै आएको छ भने जहाज मर्मत भने सिंगापुरमा गर्दै आएको छ । निगमसँग रहेका दुईथान बि७५७ जहाजमा चारथान इन्जिन जडित छन् । त्यसबाहेक विगतमै दुईथान जगेडा इन्जिन खरिद गरेको थियो । त्यसमध्ये एउटा इन्जिन जडित जहाज त्रिभुवन अन्तुर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा चरा ठोक्किएपछि पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।

‘त्यसपछि बाँकी रहेको एकथान जगेडा इन्जिन अहिले मर्मत गरी एसिबी जहाजमा जडान गरेका हौं,’ प्रवक्ता शर्माले भने, ‘अब एसिबी जहाजले केही वर्ष आरामसँग नियमित उडान सञ्चालन गर्ने छ ।’

दुईथान बि७५७ मध्ये कलसाइन ‘९एन–एसिए’ भएको अर्को जहाज भने हाल सिंगापुरमा ‘ग्राउन्डेड’ छ । त्यसमा भएका दुई इन्जिनको उडान अवधि कम छन् । ती इन्जिन पूर्णमर्मत, नियमित जाँच (सि–चेक) लगायत काम गर्न झन्डै १ अर्ब २५ करोड रुपैयाँ खर्च लाग्ने भएपछि निगम सञ्चालक समितिले मर्मत नगरी जहाजै बिक्री गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिइसकेको छ ।

‘त्यही भएर हामीले एसिए जहाजको यथास्थितिमा वर्तमान बजार भाउ मूल्यांकन गर्न ग्लोबल टेन्डर आह्वान गरिसकेका छौं,’ शर्माले भने, ‘हामी चाँडै यसबारे टुंगो लगाउँदै छौं ।’

निगमका दुइटै बोइङ कबिर तीन दशक पुराना हुन् । यी जहाज जति पुराना भए मर्मत खर्च तथा इन्धन खर्च त्यत्ति नै बढी हुनु स्वाभाविक हो । सम्बद्ध अधिकारीका अनुसार बि७५७ जहाजले प्रतिघन्टा उडान गर्दा ४ हजार किलो इन्धन खपत गर्छन् । यिनले एक उडानबाट जति आम्दानी गर्थे, त्यसको अधिकतम ४० प्रतिशतसम्म इन्धनमा खर्च गर्नुपर्छ र त्यसबाहेक मर्मत खर्च छुट्टै लाग्छ । उता युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरी ल्याइएका १ सय ५८ सिट क्षमतायुक्त दुईथान ‘ए३२०–२००’ जहाजले भने एक घन्टा उडान गर्दा २ हजार किलो इन्धन खपत गर्छन् ।

‘त्यसकारण एसिए जहाज मर्मत गर्न सवा अर्ब रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ,’ सम्बद्ध अधिकारीले भने, ‘पुरानो भएपछि मर्मत खर्च बढी लाग्नु स्वाभाविक हो । मर्मत गरेर ल्याए पनि समयमा उडाउन नसकिने समस्या आउनसक्छ भने जुनसुकै बेला प्राविधिक कारण रोकिन पनि सक्छ ।’

निगमको आर्थिक उन्नतिमा दुईथान बि७५७ जहाजका योगदान उल्लेख्य छ । यी जहाजले उडान गरिरहँदा वार्षिक २ अर्बदेखि २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरिरहेका थिए । यसको अर्थ बिक्री गर्न लागिएको एसिए जहाजले पनि वार्षिक करिब सवा अर्ब रुपैयाँसम्म कमाउँथ्यो ।

बि७५७ जहाजले विगतदेखि हालसम्म काठमाडौंबाट लन्डन (बेलायत), पेरिस (फ्रान्स), फ्र्यांकफर्ट (जर्मनी), ओसाका (जापान), सांघाई (चीन), दुबई (युएई), कोलम्बो (श्रीलंका), माले (माल्दिभ्स), ढाका (बंगलादेश), कराँची (पाकिस्तान), बैंकक (थाइल्यान्ड), हङकङ, क्वालालम्पुर (मलेसिया), ल्हासा (तिब्बत) तथा भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता, बैंगलोरलगायत गन्तव्यमा उडान गरेका छन्।

 

 

 

प्रकाशित: १५ भाद्र २०७३ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App