१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

न्यून बिजकीकरणमा हस्तक्षेप

काठमाडौं-भन्सारमा कम मूल्यमा सामान ल्याएको घोषणा गरी राज्य र उपभोक्ता दुवैमाथि ठगी गर्ने आयातकर्ता व्यापारीमाथि सरकारले हस्तक्षेप गरेको छ।

राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागले गत शुक्रबार एकैचोटि फर्जी बिलबिजक मार्फत व्यापारिक कारोबार गर्ने आठ मालबाहक कन्टेनर समातेको हो ।

विभागले यसअघि भन्सार नाकाहरुबाट छुटेर काठमाडौं आउँदै गरेका कन्टेनरलाई कब्जामा लिएर छानबिन गर्दै आएको थियो । सुराकीका आधारमा एकाध कन्टेनरलाई खानतलासी गरिए पनि काठमाडौंबाट मुलुकका अन्य भागमा जाने कन्टेनरको यो रुपको खानतलासी पहिलोपटक गरिएको हो ।

विभागका महानिर्देशक निर्मलहरि अधिकारीले भन्सारबाट सामान छुटाउँदा  न्यून बिजकीकरण गरी सरकार र सर्वसाधारणमाथि ठगी गर्ने व्यापारीलाई कारबाही गर्न कन्टेनरको खानतलासी सुरु गरिएको जानकारी दिए । उनले काठमाडौंबाट बाहिरका ठूला सहरहरुमा सामान पठाउने व्यवसायी अहिले उच्च निगरानीमा रहेको बताए ।

महानिर्देशक अधिकारीले भन्सार नाका र अन्य क्षेत्रबाट चोरी पैठारी गरी काठमाडौं सामान ल्याएपछि कुनै समस्या आउँदैन भन्ने व्यापारीको मानसिकतालाई यो घटनाले परिवर्तन गर्ने दाबी गरे । ‘बिना भन्सार वा न्यून मूल्यमा भिœयएको सामानको चुस्त निगरानी सुरु गरेका छौं । मुलुकको जुनसुकै कुनामा पु¥याएर बेच्ने प्रयास गरे पनि राजस्व छली गर्नेलाई छोडिने छैन,’ उनले भने, ‘अहिलेसम्म भन्सार नाकाबाट आउने कन्टेनरहरुको जाँच गर्ने गरिएकामा अब काठमाडौंबाट बाहिर जाने कन्टेनरको पनि जाँच गर्न सुरु गरिएको छ ।’

उनले पहिलोपटक काठमाडौंबाट पोखरा, नारायणगढ, भैरहवा र नेपालगन्जजस्ता व्यापारिक सहरमा सामान पठाउन लागेका आठ कन्टेनरलाई कब्जामा लिएर छानविन गरेको बताए । ‘छानबिनमा कुनै पनि कन्टेनरका सामान कानुनसम्मत फेला परेनन्,’ उनले भने ।

खानतलासीका क्रममा व्यवसायीले तीन किसिमबाट बिलबिजक बनाएको फेला परेको अधिकारीले जानकारी दिए । उनका अनुसार व्यवसायीले धेरैजसो सामानको बिल नै काटेका छैनन् । केही सामानको बिल काटिएको छ तर अत्यन्त न्यून मूल्यमा । अर्को सही मूल्यमा बिल काटिएको छ तर त्यसको स्रोत (आयातकर्ताबाट ल्याएको बिल वा भन्सारको प्रज्ञापनपत्र ) छैन । स्रोत नभएका यस्ता सामान सिधै भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका हुन् ।  

‘कानुनसम्मत नदेखिएका सबै सामान जफत गरी विगो अनुसार थप जरिवाना तिराएर छाडिएको छ,’ महानिर्देशक अधिकारीले भने ‘आठवटा कन्टेनरबाटै करिब एक करोड राजस्व उठेको छ ।’

उनका अनुसार खानतलासीका क्रममा बजारमा १५ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने जिन्स पाइन्टको बिल ५८ रुपैयाँ काटेको देखियो । यस्तै २ हजारसम्ममा बिक्री हुने महिलाको ब्यागको बिल पनि २ सयभन्दा बढी देखिएन । ‘कन्टेनरमा राखिएका कुनै पनि सामानको पोकामा सही बिल फेला परेन,’ उनले भने । एउटा पोकामा राखिएको कपडाभित्रबाट भने व्यापारीलाई पठाएको सही बिल फेला परेको उनले जानकारी दिए ।

विभागले राजस्व छल्ने व्यापारीलाई सधैं निगरानीमा राखेर काम गर्दै आए पनि नजिकिँदो तिज, दसैं, तिहार र छठजस्ता पर्वका कारण थप हस्तक्षेप बढाएको हो । पर्वका बेला व्यापारिक कारोबार वृद्धि सँगसँगै चोरी तस्करी पनि बढ्ने गर्छ ।

भन्सार नाकामा हुने न्यून बिजकीकरण नै सहि बिल बिजकका लागि समस्याको जड भएको बताउँदै महानिर्देशक अधिकारीले बिक्रीको हरेक तहमा निगरानी गरेपछि न्यून बिजकीकरण गर्ने प्रवृत्तिमा कमी आई सही बिल काट्न व्यवसायी बाध्य हुने दाबी गरे ।

विश्व व्यापार संगठनमा नेपालको प्रवेशसँगै व्यापारीलाई आयातित वस्तुको भन्सारमा मूल्य घोषणा गर्न पाउने सुविधा छ । यही सुविधाको दुरुपयोग गरेर भन्सार राजस्व छल्न आयातकर्ता व्यापारीले अधिकांश सामानको सही मुल्य घोषणा गर्दैनन् । व्यवसायीले भन्सारमा न्यून मूल्य घोषणा गरेर ल्याएको सामानलाई वास्तविक मूल्य राखेर बेच्दा नाफा उच्च देखिने र आयकर बढी तिर्नुपर्ने भएकाले उनीहरुले सही बिल काट्दैनन् । खुद्रा व्यवसायीमा पनि यही समस्या छ ।

महानिर्देशक अधिकारीले खरिद र बिक्री मूल्यको यही अन्तरलाई निगरानी गरी व्यवसायीलाई सहि बाटोमा ल्याउने प्रयासमा सरकार रहेको बताए । उनले बनेपा, धुलिखेल र मकवानपुरका व्यवसायीको उदाहरण समेत दिए । केही दिनअगाडि राजस्व कार्यालयले बनेपा, धुलिखेल र मकवानपुरका पसलमा छापा मार्दा किनिएको र बिक्री गरेको बिलमा धेरै अन्तर देखियो । स्थानीय व्यापारीले थोक व्यापारीबाट सामान किन्दा मुल्य धेरै तिरे पनि विल कम मुल्यको पाएका थिए । यस्तो कारोबारबाट नाफा धेरै भएको र त्यसअनुसार आयकर तिर्नुपर्ने देखिएपछि स्थानीय उद्योग वाणिज्य संघले वास्तविक बिल नदिने थोक बिक्रेताबाट सामान नकिन्ने घोषणा गरेका थिए ।

यस्तै केही दिनअगाडि वाणिज्य मन्त्रालयले बजार अनुगमन गर्दा भाटभटेनी, सेलवेज र बिगमार्ट जस्ता सुपरमार्केटस्ले पनि नाफा उच्च लिएको देखियो । स्रोतका अनुसार उच्च नाफा देखिए पछि राजस्वले आयकरमा नछाड्ने डरले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आयतकर्ता व्यापारीलाई बोलाई छलफल गरेका थिए । छलफलमा उनले वास्तविक बिल दिन नसके आफूले सामान लिन नसक्ने बताएका थिए।        

प्रकाशित: १५ भाद्र २०७३ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App