१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुधबारबाट मौसममा सुधार हुने

काठमाडौ – केही दिन यता देशभर भइरहेको वर्षा तथा मौसममा भइरहेको बदलीमा बुधबारबाट सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देखि पश्चिमतर्फको मौसम खुल्दै जाने छ भने बुधबारबाट मध्य र पूर्वी क्षेत्रबाट समेत मौसम खुल्ने छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सोमबार पश्चिम तराइबाट मौसम खुल्न सुरु भएको छ। मंगलबार काठमाडौ उपत्यका लगायत मध्य क्षेत्र तथा पूर्वी क्षेत्रमा बदली भई पानी पर्ने सम्भावना रहेको पौडलले जानकारी दिए। मंगलबार बेलुकाबाट भने मध्य क्षेत्र र पूर्वी क्षेत्रको मौसम खुल्न शुरु हुने महाशाखाले जनाएको छ।

मनसुन शुरु हुनुभन्दा पहिले अर्थात प्रिमन्सुनको समय भएकाले बेलुकाको समयमा भने अझै केही दिन मौसममा बदली भइरहन सक्ने महाशाखाले जनाएको छ। ‘यो प्रि–मनसुनको समय हो त्यसैले बेलुकाको समयमा अझै केही दिन मौसममा खराबी देखिन सक्छ, तर विहानै देखि मनसुनमा हुने खराबी र वर्षा हुने प्रक्रिया बुधबारबाट सुधार हुने देखिन्छ,’ मौसमविद् पौडलले भने।

पछिल्ला केही दिन यता पश्चिमी वायु, बगांलबाट आएको जलबाष्प तथा स्थानीय वायु घुलमिल हुँदा मौसममा नियमित खराबी तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले हाल मौसममा भइरहेको खराबी तथा वर्षाका कारण वर्षाको समयमा पानी नपर्ने हो कि भन्नेर शंका गर्नु नपर्ने बताए। ‘हाल पानी पार्ने प्रणाली र वर्षायाममा पानी पार्ने प्रणाली धेरै फरक हुन, त्यसैले अहिले धेरै पानी प-यो भनेर पछि पानी नपर्ला भनेर चिन्ता लिनुपर्ने कारण छैन,’ पौडेलले भने। मौसम चक्र सधै एकै नास नहुने भएकाले कहिले धेरै पानी पर्ने तथा कहिले कम पानी पर्ने स्वभाविक प्रक्रिया भएको पौडेलको भनाई छ।

प्रकाशित: १ जेष्ठ २०७५ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App