१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

संविधान संसोधनबाटै असन्तुष्टपक्षका माग सम्बोधन हुन्छः नेम्वाङ

वासिन्टनडिसी– पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भएपछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन्। 

नेपाली दूतावास अमेरिकाद्वारा वासिन्टनडिसीमा उनको सम्मानमा  सोमवार साँझ यहाँ आयोजित रिसेप्सन कार्यक्रमलाई सम्बोधन गर्दै नेग्वाङले सो कुरा बताएका हुन्। उनले संविधानमा धेरै लचिलो संशोधनको व्यवस्था  गरिएको विचार व्यक्त गर्दै भने नयाँ संविधानको विषयलाई लिएर स्वभाविक रुपमा केही दलहरुको केही असन्तुष्टिहरु रहेका छन्। त्यस्तो असन्तुष्टिहरुलाई सम्बोधन गर्ने संविधानमा राम्रो र पर्याप्त व्यवस्था पनि राखिएको छ। उनले छिमेकी भारतले १ सय २२ पटक भन्दा बढी आफ्नो संविधान संशोधन स्मरण गराउँदै दलहरुको छलफलबाट  असन्तुष्ट पक्षका जायज माग लाई सम्बोधन गरेर अगाडि बढ्न  सकिने बताए।

नेम्वाङले  अर्को प्रसंगमा नेपाल चुनौतीपूर्ण घडीमा अगाडि बढिरहेको बताए। उनले भारत र चीनजस्ता आर्थिक शक्ति बन्दै गरेका छिमेकीहरुका बीचमा अवस्थित  भएकाले त्यसलाई राम्रो अवसरका रुपमा लिएर दुवै देशसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्न सक्दा उद्देश्य प्राप्त गर्न सफल भइने विचार ब्यक्त गरे ।

उनले नेपाल तराई मधेशदेखि हिमालसम्मका सबै जाति, भाषा धर्म संस्कृति भएका जनताको विविधताबीचको एकता कायम गर्ने असन्तुष्टिहरुलाई सम्बोधन गर्दै कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा भाग लिन यहाँ आइपुगेका एनआरएनहरु र पूर्वसभामुखसमेत रहेको नेग्वाङको सम्मान आयोजित उपस्थित अतिथिहरुलाई स्वागत गरेको थिए। कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघका संस्थापक नेता रामप्रताप थापाले विदेशमा बस्ने नेपालीहरुले उठाउदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले सम्बोधन गरेको बताउँदै सबै राजनितिक दलहरुलाई धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा यहाँस्थित विभिन्न संघसँस्थाका प्रतिनिधी, पत्रकार, बुद्धिजिवी लगायत करिब तीन दर्जनको उपस्थिती थियो। गैरआवासीय नेपाली सँघको क्षेत्रिय सम्मेलनमा भाग लिन आएका नेग्वाङ बिहीबार नेपाल फर्किने बताएका छन्।  

 

प्रकाशित: १४ भाद्र २०७३ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App