१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थी अभावमा विद्यालय बन्द

रुकुम – नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ। नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो। 

शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो। तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन। यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ। 

यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन्। यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ। यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ। 

यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएका यहाँकी शिक्षिका यमुना चन्दले जानकारी दिए। उनका अनुसार बालविकास केन्द्रमा पाँचजना मात्र बालबालिका भर्ना भएका छन्। विद्यालय बन्द भएपछि उनीहरु विद्यालय आउन सकेका छैनन्। 

नगरपालिकामा वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो। वैशाख महिनाभरि विद्यार्थी भर्ना गर्न सकिने मुसिकोट नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। भर्ना अभियानसमेत प्रभावकारी नहुँदा यहाँका विद्यार्थी अन्य विद्यालयमा गएको बताइएको छ। 

यो विद्यालय २०५२ सालमा स्थापना गरिएको थियो। यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो। विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी तीन, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत छन्। 

यहाँ नगर शिक्षा समितिले समेत अनुगमन गर्दा विद्यालय बन्द थियो। विगतमा नक्साङ्कन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा यस्तो समस्या आएको नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काले जानकारी दिए। उनका अनुसार विद्यालय सञ्चालन गर्दा नक्साङ्कन जरुरी छ। यस विद्यालयलाई समायोजन प्रक्रियामा लिने नगर शिक्षा समितिका शाखा अधिकृत खड्काको भनाइ छ। 

प्रकाशित: ३० वैशाख २०७५ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App