१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पले ढलेको ओराङ गाउँ उठ्यो

ओराङमा निर्माण भएका घर। तस्बिर : रमेश/नागरिक

दोलखा – भिरालो जमिन। अग्ला कान्ला। स–साना पाटा। पाटाका ठाउँ–ठाउँमा मिलेर बनेका घरहरू। प्रायः ढुंगामाटाबाट बनेका अधिकांश एक तले घर एकै प्रकृतिका छन्। कहींकतै दुई तले पनि भेटिन्छन् भने केही घरमा सिमेन्ट प्लास्टर र रङरोगनले आकर्षण थपेका छन्। सबै घरका गारोलाई बीचबाटै काठले बाँधेर कसिलो बनाइएको बाहिरबाटै देखिन्छ।

जिल्लाको उत्तरी केन्द्र सिगंटी बजारबाट २५ किलोमिटर अप्ठेरो ग्रामीण सडक हुँदै भीर छिचोलेपछि पुगिन्छ– बिगु गाउँपालिका वडा नम्बर–२ स्थित ओराङ गाउँ। जिल्लाको विकट मध्येको यो गाउँमा निजी आवास पुनर्निर्माण सकिएको घोषणा भइसकेको छ। भूकम्पपछिको पुनर्निर्माणको गति सुस्त रहेका बेला लाभग्राही सूचीमा परेका एकै गाउँका भूकम्पपीडित सबैका घर निर्माण सम्पन्न भएको पहिलो गाउँ (वडा)का रूपमा रहेको भन्दै अधिकारीहरूले यसलाई पुनर्निमाणको सफलता भनेका छन्।

भूकम्पले नराम्ररी ढालिदिएको आफ्नो गाउँ यति छिट्टै उठ्ला भनेर अमरे तामाङले कल्पनासम्म गरेका थिएनन्। ‘तर हेर्दाहेर्दै ओराङ गाउँ उठ्यो’ शनिबार गाउँमा भेटिएका उनले उत्साहित हुँदै सुनाए। गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार गाउँभरिमा ५ सय ६० घर बनिसकेका छन्। ‘लाभग्राहीको सूचीमा ५ सय ६५ जनाको नाम थियो,’ उनले भने, ‘ती मध्ये दुई जनाको मृत्यु र तीन जनालाई घर बनाउन बोलाउँदा समेत नआएपछि पुनर्निर्माण सकिएको घोषणा गरेका हौं।’ गाउँपालिका कार्यालय र सहयोगी कारितास अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शनिबार एक कार्यक्रम गरी पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेका हुन्।

गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार गाउँभरिमा ५ सय ६० घर बनिसकेका छन्। ‘लाभग्राहीको सूचीमा ५ सय ६५ जनाको नाम थियो,’ उनले भने, ‘ती मध्ये दुई जनाको मृत्यु र तीन जनालाई घर बनाउन बोलाउँदा समेत नआएपछि पुनर्निर्माण सकिएको घोषणा गरेका हौं।’

स्थानीय बासिन्दाको सक्रियताका कारण यो गाउँ यति छिट्टै पुनर्निर्माण हुन सम्भव भएको गाउँपालिका उपाध्यक्ष सञ्जिव वलीले बताए। ‘गाउँलेहरूले अर्मपर्म (आलोपालो) गरेर एक अर्काको घर बनाएकै कारण पुनर्निर्माण सम्पन्न भयो,’ उनले भने, ‘१६ टोलमध्ये धेरैमा आलोपालो गरेरै घर निर्माण गरिए।’

टोलभरिमा एक अर्काको घर बनाउन आलोपालो खटिँदा १५ दिनदेखि एक महिनासम्म लागेको देउलाङ टोलका बुद्धवीर तामाङले बताए। ‘टोलभरिका सबै जना घर बनाउन खटिँदा जग हाल्न र गारो उठाउन १५ दिनदेखि एक महिनासम्ममा सकिएको थिए,’ उनले भने। उनका अनुसार सहयोग गर्ने संस्थाका प्राविधिक र सरकारी प्राविधिकहरूले बेला–बेलामा आएर निरीक्षण गरेर सल्लाहसमेत दिने गर्थे। आलोपालोमा समय दिन नसक्नेले भने ठेक्कामा दिएर घर बनाएका थिए। त्यसअघि गाउँलेहरूलाई भूकम्पप्रतिरोधी घर बनाउने तालिमसमेत दिइएको थियो।

घरगाउँकै सामुदायिक वनले १५ क्युफिट काठ निःशुल्क उपलब्ध गराएको थियो। एउटा घरलाई ६० क्युफिटसम्म काठ लागेको र बाँकी काठ सिगंटीबाट ढुवानी गरेर ल्याइएको स्थानीय कर्णे तामाङले बताए। गाउँमा बनेका घरहरू प्रायः दुई कोठाका छन् । थोरै जग्गा र अप्ठेरो भूगोलका कारण धेरैजसोले दुई कोठे घर बनाएका हुन्। केही घर भने चार कोठाका पनि छन्। सबै घरमा जस्ताका छाना छन्।

कतिपय बासिन्दालाई भने घरको डिजाइन मन परेको छैन। ओराङकै बासपानीका हेमबहादुर श्रेष्ठले भान्सा कोठा अपुग भएको गुनासो गरे। ‘दुई कोठे मात्र घर हुँदा भान्सा बनाउन पाइनँ’ उनले भने, ‘अब भान्सा छुट्टै खर्चले अर्कै बनाउनु पर्ने भयो’।

यो गाउँ बनाउन कारितास नामक अन्तराष्ट्रिय संस्थाले सहयोग गरेको थियो। उसले पुनर्निर्माण प्राधिकरणमार्फत् ५ सय ६० परिवारलाई प्रतिलाभग्राही तीन लाख रुपैंयाका दरले अनुदान दिएको थियो। साथै सामान ढुवानीका लागि ५० हजार रुपैंया थप अनुदान दिएको थियो। स्थानीय भीमबहादुर तामाङका अनुसार सिगंटी बजारबाट निर्माण सामाग्री ढुवानी गर्नुपरेको थियो।

ओराङमा शनिबार निजी आवासहरू स्थानिय तहलाई हस्तान्तरण गरियो। दोलखाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङले ओराङकै लाँकुरीडाँडामा आयोजित कार्यक्रममा वडाध्यक्ष कृष्ण ठकुरीलाई आवास हस्तान्तरण गरेका थिए। आवास निर्माण सम्पन्न भएपछि गाउँमा विद्यालय तथा सामुदायिक भवन निर्माण भइरहेको वडाध्यक्ष ठकुरीले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७५ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App