१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चौंरी डुल्ने लेकमा...

मुटु कमाउने चिसो । बाहिर हुण्डरी । गोठको बास । हावाको झोक्का यसरी आउँथ्यो कि मान्छे नै उडाउला जस्तो । त्यति दुःखले पुगेको ठाउँमा मौसम विग्रेला भन्ने चिन्ता । धन्न त्यस्तो भएन, मौसम खुल्यो ।  विहानी छर्लंग उघ्रियो । कञ्चनजंगा, कुम्भकर्ण, सगरमाथा लगायत हिमाल चाँदी झैं चम्किए । निकै टाढासम्मका डाँडा हरिया देखिए । मनै हर्ने किसिमका ।  ढकमक्क फूलेका गुराँस । चौंरीहरु लमक लमक हिँडिरहेका । जता हे¥यो उतै लोभ लाग्दो । तनलाई शितलता र मनलाई आनन्द।

हिमाल नजिकै देखिन्थ्यो तर क्षितिज निकै टाढा । लेकाली  गोठमा चौंरीको दुधले विहानीको स्वागत ग¥यौं । नयाँ बर्षको दिन स्मरणीय बन्यो।हामी चार राते (३,३४० मिटर) भन्ने ठाँउमा थियौँ जुन पाँचथरको फालेलुङ गाँउपालिकामा पर्छ । नेपाल भारतको सिमा नजिकैको आकर्षक ठाउँ छ यो ।हामी मोटरसाइकलमा पुगेका । दोश्रो चौंरी महोत्सवको सन्दर्भले हामीलाई त्यहाँ पुर्यायो । परम्परागत पशुपालन प्रवर्द्धन गर्दै पयर्टन विकास गर्ने उद्धेश्यले दोस्रो चौंरी महोत्सव आयोजना गरिएको थियो त्यहाँ।  

कोही सन्दकपूरतिर हानिए । कोही तीन सिमना र फालोटतिर ।  जता गए पनि आकर्षक । घुमिरहुँ लाग्ने । लेक भएकाले धेरैले नौलो स्वाद पाए ।   विहानी ढल्दै जाँदा यहाँ आउनेको संख्या उलेख्य रुपमा बढ्यो । भारतसँगको साँध भएकाले भारतीय पर्यटक उत्तिकै थिए । बंगाली पनि आइपुगे । अघिल्लो दिन देखि नै यहाँ बनाइएका टेण्ट हाउस र अस्थायी होटल आन्तरीक र वाह्य पर्यटकले भरिभराउ बने।  

महोत्सवको उद्धेश्य परम्परागत पशुपालन प्रवद्र्धन र यस क्षेत्रको पर्यटकीय प्रचार थियो । तर लेकाली गोठ र चौंरी नै आर्कषक बनिदिए । गोठहरु पनि भरिए ।  ओझेलमा रहेको भुगोल भए पनि घुम्न, रमाउन मिल्ने प्रशस्त ठाउँ छन् यहाँ । सन्दकपुरदेखि तिम्बु पोखरीसम्म रेन्जमा । हिमाली दृष्यावलोकन गर्दै यहाँको प्रकृतिमा रमाउने प्रसस्त ठाँउ भएको यस क्षेत्रमा काम गरिरहेको दिप ज्योती युवा क्लवका निर्देशक सुनिल वान्तवा बताउँछन् । हामीले देख्यौं पनि, यही रुट भएर पदयात्री कञ्चनजंगा आधारशिविरसम्म जान्छन्।  

सन्दकपुर, चारराते, तीनसिमना, फालोट, चिवाभञ्याङ यहाँका चलेका गन्तव्य । यताबाट तिम्बुपोखरी पुग्ने चलन निकै पुरानो हो । डाँडै डाँडा घुम्दै रमाउनेहरु भेटिन्छन् । सन्दकपुर बाहेकका ठाँउमा गोठमा बस्नु पर्छ । यहाँको मौसमको कुनै भर हुन्न तर सिजनै पिच्छे फरक फरक विशेषता पाइन्छ ।यो रेडपाण्डा संरक्षित क्षेत्र पनि हो । जैविक विधिताले भरिपूर्ण क्षेत्र ।  सन्दकपुरमा बर्षेनी ठुलो संख्यामा पर्यटक आउँछन । उनीहरु यहाँका डाँडापाखामा रमाउँछन् । बंगाली पर्यटक समूहमा आउँछन् । यहाँ पर्यटक अड्याउने प्रशस्त ठाउँ भएता पनि पूर्वाधार र प्रचारको कमि छ । यही अभाव ख्याल गर्दै गत बर्षदेखि महोत्सव लगाउन थालिएको आयोजक फालेलुङ–कञ्चनजंगा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष डिल्ली आन्जुम केरुङ बताउँछन्।

संस्थाले क्रस बोर्डर टुरिजम विकास गर्ने योजना बनाएको छ । एसियामै पहिलोपल्ट चौंरी महोत्सव मनाइएको उनको दाबी छ । महोत्सवका दुबै दिन आउने र फर्कने क्रम जारी थियो । भारत बाहेक भुटान, युरोप, अमेरीकाका पर्यटक पनि भेटिए । यहाँ आउनेले यो क्षेत्रका आर्कषणको बयान मात्र गरेनन फेरी आउने प्रतिवद्धता समेत जनाए।

उच्च पहाडी क्षेत्रमा रमाउने गन्तव्य धेरै छन् । बस्नका लागि लेकाली गोठ । गोठ सञ्चालक सहयोगी छन् । पाँचथर सदरमुकाम फिदिमबाट सडक पुर्याइएको छ । फिदिम फालोट सडक, जोरपोरी–मेमेङ सडक, मध्यपहाडी लोकमार्ग भएर चिवा भञ्याङसम्म पुग्न सकिन्छ ।केही दिने प्याकेज बनाउन सक्दा यात्रा अविश्मणीय बन्छ । सन्दकपुर पाँचथरबाट पनि पुग्न सकिन्छ । तर, धेरैले सन्दकपुर पुग्न इलामको बाटो प्रयोग गर्छन।

त्यस क्षेत्रमा ताल तलैया प्रशस्त छन् । अनि अग्ला, होचा पहाड पनि । बहुमूल्य जडीबुटी पनि पाइन्छ ।प्रदुषणबाट टाढा भर्जिन गन्तव्य हुन् यी । यात्रामा लेक लाग्ने सम्भावना हुन्छ । त्यसैले औषधि मुलोको जोहो गरेर जानु पर्छ ।मेची राजमार्गको पौवा भञ्याङदेखि डाँडैडाँडा घुम्न जानेको संख्या बढीरहेको छ अचेल । यो क्षेत्रमा विदेशी पदयात्री पनि आउने गरेको गोठ सञ्चालक जंग राई बताउँछन्।

गोठमा दुधका परिकार पाइन्छ । गोठ स्टे पर्यटन त्यहाँका विशेषता । ६ वटा गोठमा गोठमा बास बस्ने सुविधा छ । फलाम जोडिएको टेण्ट, चुल्हो सहितको गोठ स्टे रेड पाण्डा नेटर्वकको सहयोगमा बनाइएको ।पाँचथरको फिदिमदेखि विभिन्न बाटो प्रयोग गरेर त्यहाँ पुग्न सकिन्छ । इलामदेखि सन्दकपुर आएर पनि घुम्न सकिन्छ । वेस्सरी हावा चल्ने तथा मौसमको भर नहुने हुँदा तातो लुगा, रेनकोट, औषधि र खानेकुरा बोक्नु पर्छ । एक्लै होइन, समूहमा घुम्नु बेस हुन्छ ।

प्रकाशित: २९ वैशाख २०७५ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App