१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

किलो ट्यांगो– ०५८

एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि गरिबीको भारी आफ्नो थाप्लोमा परेको महसुस भएको थियो । ‘पढाइसँगै काम’ मेरो समयको नारा थियो । बिहानको पढाइ, गार्मेन्टमा काम, आरएनएसीको बारमा किताब बेच्ने च्याप्टरपछिको च्याप्टर हो यो । आखिर जीवन यस्तै अनेकौँ च्याप्टरले आकार पाएको पुस्तक त रहेछ।

मामासँग ४५ हजार ऋण लिएर बुबाआमाले मध्यबानेश्वरमा सानो होटल किन्नुभयो । त्यसपछि हामी तीनजना आफ्नै होटलमा काम गर्न थाल्यौँ । पहिले बुबाको परिचय टेम्पो चालक थियो । त्यहाँ ठूलो टेम्पो ग्यारेज थियो । होटल टेम्पो ग्यारेजभित्रकै क्षेत्रफलमा थियो । ग्यारेजको सबै हेरचाह ‘पदम’बा’ले गर्थे । टेम्पो बनाउने मिस्त्री थिए, बिरु।

उनकी श्रीमतीको तरकारी पसल थियो, हाम्रो चिया पसलसँगै । बुबाका चालक साथीहरू होटलका ग्राहक भइहाले । वरिपरि दुई गार्मेन्ट थिए । खाना, चिया, नास्ता दिने– काम भ्याइनभ्याई थियो । काम गर्ने मान्छे राखेका थिएनौँ ।‘सानो–ठूलो जस्तो भए पनि आफ्नो काम आफैँ गर्नुपर्छ,’ बुबाको यो नेचरको प्रशंसक भएर हुर्किएँ म ।एउटा सानो सटर भएको कोठा थियो । गार्मेन्टमा राति काम गर्नेहरूलाई भात खुवाउन बस्दा ११ बजिहाल्थ्यो । परिवारका तीनजना त्यहीँ सुत्थ्यौँ, टेबल–मेच जोडेर । बिहान ओछ्यान पोको पारेर कुनामा राखेपछि मात्रै सटर उचाल्थ्यौँ।

बुबाकै चालक साथीहरूको सिफारिसमा म कराते सिक्न थालेँ । शंखमूल डोजोका बद्री केसी गुरु हुनुहुन्थ्यो । बिहान ५ बज्दा दौडिँदै रंगशाला पुगिसकेको हुन्थेँ । मीनभवन क्याम्पसमा बिबिएस पढ्दै थिएँ । एम आर्ट थिएटरमा अभिनयको विद्यार्थी पनि भइसकेको थिएँ । फुर्सद हुनेबित्तिकै फरक किसिमका सामाजिक काम गथ्र्याैं ।
टेम्पो ग्यारेजको भित्री भाग खुला थियो । घनश्याम गौतम, सुमन आचार्य लगायतसाथी मिलेर आँखा दान कार्यक्रम गर्दै थियौँ । यो नौलो कार्यक्रम थियो । धेरै मान्छेहरू जम्मा भएका थिए । प्रोत्साहनका लागि स्वयं डा. सन्दुक रुइत आएका थिए।

हाम्रो कार्यक्रम स्थल सुरक्षाकर्मीले घेरिसकेछन् । हामी कार्यक्रममा व्यस्त भएकाले के कसो थाहा पाएनौँ । आँखा दान कार्यक्रम देखेपछि फर्के भन्ने सुन्यौँ । कार्यक्रम सकिएपछि ग्यारेजमा भएको हल्लाखल्लाले प्रस्ट्यायो ।
टेम्पो मिस्त्री बिरुका धेरै साथी आउँथे, नयाँ–नयाँ अनुहारका, फरक फरक स्वभावका । दिनभरि चेस खेल्थे । कहिलेकाहीँ ढोका थुनेर दिनभरि कोठाभित्र बस्थे । ग्यारेजअगाडि थियो, मेलम्ची खानेपानीको कार्यालय, त्यहाँ एक दिन बम पड्कियो । यो घटनाले हामी भयभीत भयौँ । पुलिस, आर्मी आए, केरकार गर्न थाले । पुलिस आउँदा म होटलमा भाँडा माझिरहेको हुन्थेँ । झनै शंकाको घेरामा परेँ ।

‘ओई, गेट खोल्छस् कि तँलाई यहीँ सिध्याइदिउँ ?’ गेटबाहिरबाट धम्की मात्रै आएन, प्वालबाट बन्दुकको टुसो पनि भित्र पस्यो । एकछिन म केही सोच्नै सकिनँ । बुबाआमालाई बोलाउँ कि गेट खोलौँ कि !

सादा पोसाकका आर्मीहरू गाडी एपेक्स कलेज छेउछाउ रोकेर सुराकी गरिरहेका हुँदा रहेछन् । म जता गयो, उतै पछ्याउँदा रहेछन् भन्ने चालकहरू र बुवाआमाले भनेपछि थाहा पाएँ । होटल छाडेर केही साता घरमा बस्न थालेँ । होटलमा नदेख्दा झन् शंका बढ्ला भन्ठानेर बुवाआमाको सल्लाहमा म फेरि होटलमै आएँ । न घरमा बस्न सकिन्थ्यो, न त होटलमा । घरघरमा आर्मी, पुलिसहरू सुराकी गरिरहन्थे ।पुराना टेम्पोहरू हटे । सट्टामा ट्याक्सी आए । चालकहरू ट्याक्सी चलाउन थाले । बिरु पनि ट्याक्सी चलाउन थाले । उनीहरूले नजिकै कोठा लिए । टेम्पो ग्यारेज विस्थापित भयो । लगनटोल घर भएका पदम’बा निराश भए । ग्यारेज बुबाको जिम्मामा सुम्पिएर पदम’बा पुरानो मोटरसाइकलमा चियापत्ती बेच्न थाले । ग्यारेज हाम्रो जिम्मामा आएपछि हामीले भित्र सुत्ने कोठा बनायौँ।

मर्मतको काम बन्द भएर ग्यारेज राति ट्याक्सी पार्किङमा परिणत भयो । जुन स्थानीय ‘दा’हरूको आश्रय स्थल हो । भित्र एक भाग मोटरसाइकल ग्यारेजलाई भाडामा दिएका थियौँ ।होटलमा भन्दा मेरो समय पढाइ, नाटक र करातेमा बित्न थाल्यो । नाटक लिएर काठमाडौं बाहितिर जानुपर्ने भयो ।बिबिएस दोस्रो वर्षको परीक्षा नजिकिँदै थियो । क्याम्पसमा पढाइ हुँदैनथ्यो । बन्द–हडताल बढी हुन्थ्यो । म क्याम्पस जान छाडेर ट्युसन पढ्न थालेँ।

परीक्षाका दिनहरू भएकाले म होटलभित्रै टेबलमा रातिसम्म पढेर बस्थेँ । मलाई त्यहीँ सहज लाग्थ्यो । बेड रुम, रिडिङ रुम, किचेन रुम सबै त्यही होटलको सटर भयो । टेबललाई आफ्नो सहजताअनुसार मिलाउन सजिलो पनि थियो ।
रातको ११ः३० बजेको थियो । नयाँ बानेश्वरबाट पुरानो बानेश्वर पुग्ने मुख्य सडकमा रातभरि नै चहलपहल हुन्थ्यो । बेला–बेला मोटरसाइकल, गाडीहरू गुडिरहन्थे । यसो निदाउन लाग्यो भने कुकुर भुकेर ब्युँझाइहाल्थ्यो।त्यस दिन केही गाडी ओहोरदोहोर गरिरहे । वरिपरि केही मान्छेको पदचाप पनि सुनियो । ग्यारेजकै छेउबाट भित्र बस्तीतिर जाने बाटो थियो । मानिसहरू त्यता पनि हिँडेको सुनियो।

भोलिपल्ट अकाउन्टको परीक्षा थियो । अकाउन्ट अभ्यास गरिरहेको मैले कलम रोकेर बाहिरी आवाजमा ध्यान दिएँ । अहिलेको एपेक्स कलेजपट्टि र रत्नराज्य स्कुलदेखि नै कुकुरहरू बेस्सरी कराइरहेका थिए । मानिसहरू बोलेको अलिअलि सुनिन्थ्यो, तर उनीहरूको बोली ठम्याउन सकिँदैनथ्यो । बुबाआमाभित्र कोठामा निदाइसक्नुभएको थियो । मैले बत्ती निभाएँ । सटरको छेउबाट रत्नराज्य स्कुलतिर चियाएँ । अँध्यारोमा लम्पसार परेको सडकमा माथि कतै परेको भ्वाङबाट छिरेको प्रकाशको थोप्लाहरू देखिन्थ्यो । एक–दुईवटा कुकुरहरू चनाखो भएर हेरिरहेका थिए।

सटरको अर्काे छेउबाट एपेक्स कलेजतिर चियाउन खोजेँ, केही पनि देखिएन ।ग्यारेजभित्र पसेँ । वरिपरिका घरतिर नजर डुलाएँ । सबै मध्यराततिरको निद्रामा थिए ।फेरि बत्ती बालेर पढ्न थालेँ । सडकमा मान्छेहरूको पदचाप प्रस्ट हुँदै गयो । तिनीहरू ठीक होटलको सटरअगाडि आएर उभिए । मैले पढाइ रोकेँ । सटरमा चाबीले सुस्तरी स्पर्श गरेजस्तो आवाज आयो बाहिरबाट । मलाई डर लाग्यो । मानिसहरू साउती मारेजस्तो आवाज पनि थियो ।चाबीको स्पर्श प्रस्ट आवाज बनेर सटरमा ‘ट्वाक ट्वाक’ भई आवाज दिएपछि म भित्रबाट बोल्न बाध्य भएँ ।
‘को हो ?’

‘एकपटक ग्यारेजको गेट खोल्न मिल्छ ?’ बाहिरबाट मदिरा सेवन गरेजस्तो वाक्य प्रश्नवाचक चिह्न बनेर आयो ।
‘मिल्दैन ।’ मैले टर्रो जवाफ दिएको थिएँ । हुन पनि मदिरा सेवन गर्नेहरूले खुब दुःख दिन्थे ।एकछिन बाहिर शान्त भयो । कसैले ग्यारेजको ठूलो गेट ढकढकायो । एकछिनपछि उही लयमा आवाज आयो, ‘भित्र मोटरसाइकल छ, निकाल्नुप¥यो । एकपटक गेट खोल्नुस् न ।’कुरा रहस्मय बन्यो । भित्र मोटरसाइकल थिएन । मिस्त्रीहरू थिएनन् । दिनभरि तातेर चिसिँदै गएका ट्याक्सी मात्रै थिए ।‘भित्र मोटरसाइकल छैन । मध्यरातमा गेट खोल्न मिल्दैन।’

बाहिरका उनीहरू र भित्रको मबीचमा दोहोरी नै चल्यो, केहीबेर । मेरो रिसको पारो चढिरहेको थियो ।‘एकपटक गेटमा त आउनुस् ।’ बाहिरबाट अघिदेखि जिद्धी गरिरहेका थिए । म सन्केर ग्यारेजको गेटतिर गएँ । मेरो उद्देश्य मध्यरातमा गेट खोल्न भन्नेलाई झपार्नु थियो । गेटमा पनि उही बार्गेनिङ चल्यो । जस्ताको अग्लो गेट, त्यसको बीच भागमा ठुल्ठूला दुईवटा प्वाल थिए । एउटा छेउतिरको प्वालबाट बाहिरतिर हेरेँ । उद्देश्य मान्छे चिन्नु थियो । ६–७ जना देखेँ, कसैलाई चिन्न सकिनँ । दुईजना गेटअगाडि अरु अलि पर उभिएका थिए।

‘ओई, गेट खोल्छस् कि तँलाई यहीँ सिध्याइदिउँ ?’ गेटबाहिरबाट धम्की मात्रै आएन, प्वालबाट बन्दुकको टुसो पनि भित्र पस्यो । बन्दुक समाएको हात रुमालले छोपिएको थियो । बाहिरबाट सबैले टर्च भित्रतिर बाले । छिद्रछिद्रबाट उज्यालो भित्र पस्यो ।एकछिन मैले केही सोच्नै सकिनँ । बुबाआमालाई बोलाउँ कि गेट खोलौँ कि ! सेकेन्डको भरमा मस्तिष्कले गेट खोल्ने आदेश दियो । मस्तिष्कले आदेश त दियो, तर शरीरले पालना गर्न सकिरहेको थिएन । सारा शरीर लुगलुग कामिरहेको थियो।

‘साँचो कुरा भन्नु नि ! भित्र मोटरसाइकल नै छैन । मोटरसाइकल मोटरसाइकल भन्नुहुन्छ,’ मेरो आवाज ओइलाएको सागको पात जस्तो भइगयो । योबाहेक अरु मैले केही बोल्न सकिनँ । गेट खोल्नलाई हात बढाएँ । कुन भाग्यले ताल्चा लगाएको रहेनछ त्यो दिन ! सुत्न जाँदा बुबाले ताल्चा लगाएर चाबी भित्र राखेर सुत्नुहुन्थ्यो । म चाबी लिन भनेर भित्र जानुपरेको भए के हुन्थ्यो ? गेटको प्वालबाट चियाइरहेको बन्दुकको टुसो मौन बसिरहन्थ्यो ?मैले गेट खोलेँ । सबैजना भित्र पसे, सातजना रहेछन् ।‘तिमीहरू यसलाई हेर,’ त्यो बन्दुक तेस्र्याउनेले आदेश दियो । उनीहरू ग्यारेजभित्र पसे । सबैले मुखमा रुमाल बाँधेका थिए ।‘को को छन् यहाँ ?’ एउटाले मसँग सोध्यो ।‘कोही छैनन् । बुबाआमा र म ।’‘यति रातिसम्म किन ?’‘पढिरहेको छु ।’

‘काँ, के पढेको ?’ धम्की निरन्तर थियो । उनीहरू होटलतिर पसे । उनीहरू बतासझैँ अनियन्त्रित थिए ।
एउटाले बुबाआमा सुतेको ढोका खोलेर हे¥यो । मेरो सातोपुत्लो उड्यो । बुबाआमा उठेर बाहिर आउनुभयो । सबै ट्याक्सीको नम्बर टिपे । टर्च बालेर ट्याक्सीको भित्र मुनितिर के के खोजे ।सबैजना होटलमा आए । एउटाले मेरो किताबको पाना केलायो । अर्कोले लेखिरहेको कापी हेर्यो ।बुबा आउनुभयो– अर्धनिद्रा, अर्धपहिरनमा । आमाले पछ्यौरा ओढ्नुभएको थियो।

‘यहाँ के के हुन्छ ? यी ड्राइभरहरू कहाँ बस्छन् ?’‘यो हाम्रो ट्याक्सी ग्यारेज हो हजुर । ड्राइभरहरू राति सुत्न आ–आफ्ना कोठामा जान्छन् । दिउँसो गाडी चलाउन आउँछन् । अहिले यो ग्यारेज मैले हेरिरहेको छु । हामी चिया नास्ता, खाना मात्रै बेच्ने हो । त्यस्तो जाँडरक्सी केही बेच्दैनौँ,’ बुबाले नम्र भाषामा भन्नुभयो।

उनीहरूले होटलका सबै कुनाकानी खोजतलास गरे । भित्र कोठामा पनि खोजखाज पारे । खै के खोजेका हुन् । खोजेको कुरा भेटे कि भेटेनन् ! ल्यान्डलाइन फोन थियो, ४४७७०३ नम्बरको, त्यसको फोन सेट निकाले । बेरबार पारेर झोलामा हाले ।‘फोन सेट लिन कहाँ आउनू ?’ मेरो मुखबाट आवाज होइन, डर निस्कियो ।सबैजना बाहिर निस्किए । हामी होटलभित्रै थियौँ । सटर बाहिर आवाज आयो।

‘किलो ट्यांगो टु जेरो फाइभ एट...’ आवाज मधुरो हुँदै गयो । पर गाडी स्टार्ट गरेको आवाज सुनियो । बिस्तारै सडक फेरि शान्त भयो । निकैबेरपछि बुबाले गेटमा ताल्चा लगाउनुभयो ।भोलिपल्ट उज्यालो नहुँदै ग्यारेजभित्र यो खबर फैलियो ।आर्मीले बिरुलाई लगेछ । चालक कुमारका साहु विकासलाई गाडीसहित समातेछ । ट्याक्सी चालक राम थापा, भरिया जंगेलाई समातेछ।

हामी सबै भयभीत भयौँ । मलाईभन्दा डर बुबाआमालाई थियो, लायक बन्दै गइरहेको एक्लो छोराको ।पढ्नेलाई डर थियो, नपढ्नेलाई झन् डर थियो । केही गर्नेलाई डर थियो, केही नगर्नेलाई झन् बढी डर थियो । बोल्ने, नबोल्ने सबैलाई डर थियो । सबैतिर व्याप्त भयले निर्धक्कसँग सास फेर्न गाह्रो थियो ।को आए ? किन आए ? उनीहरूलाई कसको खोजी थियो ? यसको जवाफ केमा भेटिएला !

प्रकाशित: २९ वैशाख २०७५ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App