१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ।

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज परिचालन गरिएको छ । ती जिल्लामा सुरक्षाकर्मी अपुग भएमा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी तत्कालै पठाइने व्यवस्था मिलाइएको पनि प्रवक्ता सुवेदीले बताए।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा परिचालित भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।

ट्राफिक व्यवस्थापन

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने मार्गहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उनको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए। उनी सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ ।

काठमाडौँमा आज बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानहरुमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् । धनुषाको जनकपुरका कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ आई उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् भने शनिबार मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App