१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१२ वर्षदेखि साङलोमा बबिता

फलामको साङलोले बाँधेर राखिएकी बबिता यादव। तस्बिर : जितेन्द्र/नागरिक

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका–६ की २८ वर्षीया बबिता यादव १२ वर्षदेखि फलामको साङलो (जञ्जीर) मा बाँधिएकी छिन्। उनलाई बदनियतवस उनका परिवारजनले यसरी साङलोले बाँधेर कोठाभित्र थुनेर राखेका होइनन्।

‘आफ्नै बहिनीलाई फलामको साङ्लोमा बाँधेर राख्नुपर्दा मेरो छाती कति पोलेको छ। मबाहेक अरुले कल्पना पनि गर्न सक्दैनन्’, बबिताका दाजु विशेश्वर यादव भन्छन्, ‘पीडा सहेर पनि मसँग अर्को विकल्प भने छैन।’

बहिनी १२ वर्षदेखि साङ्लोमा बाँधेर राख्नुपरेको विशेश्वरको भनाइ छ। १२ वर्षअघि मानसिक सन्तुलन गुमाएकी बवितालाई खुला छोडेपछि उनले आफ्नै कपडा च्यात्ने, घर छाडेर हिँड्ने, सामान तोडफोड र होहल्ला जस्ता कार्य गरेकाले साङ्लोमा बाँधेर राख्नुबाहेक आफूसँग अर्को विकल्प नरहेको उनले बताए। उनले भने, ‘बाँधेर राख्दा कम्तीमा आफ्नो घरमा सुरक्षित बस्न पाएकी त छिन्, खाना दिन सकिएको छ । कतै भागी गए झन समस्या होला भने बाँधेर राख्न बाध्य भएका हौं।’

‘हामीले आर्थिक अवस्थाले भ्याएसम्म बहिनीको उपचारमा कुनै कसर बाँकी राखेका छैनौं, छोराछोरी र परिवारको भरणपोषण गर्न धौधौ भइरहेको छ यस्तो अवस्थामा बिरामी बहिनीको थप उपचार कसरी गराउनु ।’

बबिता जन्मजात मानसिक रोगी भने हौइनन्। बिहे भएर ससुराली गएको दुई÷तीन दिनपछिबाट उनको मानसिक सन्तुलन बिग्रिएको परिवारजनको भनाइ छ। घरपरिवारले आफूअनुकूल खर्च गरी २०६२ सालमा बबिताको बिहे सप्तरीकै बेल्ही चपेना गाउँपालिका–६ का अग्निदेव यादवसँग गरिदिएका थिए। ‘बिहेको दुई÷तीन दिनपछि नै अग्निदेवले बबितालाई हामीकहाँ ल्याएर छाडी गए’, विशेश्वरले भने, ‘त्यसयता एकपटक पनि खोजखबर लिन ससुराली घरबाट कोही आएको छैन।’

आर्थिक रुपमा सम्पन्न र पहुँच हुनेले देश–विदेशका सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउँछन् तर, आफूले जग्गा बेचेर आएको पैसाले विराटनगर र भारतको दरभंगामा लगेर बहिनीलाई उपचार गराउदाँ निको नभएको उनले बताए। पैसा अभावमा थप उपचार गर्न नसकेको उनको भनाइ छ। उनले जग्गा बेचेर आएको ६ लाख रुपैयाँ उपचारमा खर्च गर्दा पनि बहिनी निको नभएको बताए।

खेतीपाती गरेर ८ जना पाल्दै आएका यादवले १२ वर्षदेखि बहिनीलाई साङलो बाँधेर राख्नुपर्दा पनि कसैले थप उपचारमा सहयोग नगरेको गुनासो विशेश्वरको छ। ‘हामीले आर्थिक अवस्थाले भ्याएसम्म बहिनीको उपचारमा कुनै कसर बाँकी राखेको छैनौं’, उनले भने, ‘छोराछोरी र परिवारको भरणपोषण गर्न धौधौ भइरहेको छ यस्तो अवस्थामा बिरामी बहिनीको थप उपचार कसरी गराउनु।’ उनले ले मानसिक सन्तुलन बिग्रिएर पीडा खेप्दै आएकी बहिनीको उपचारका लागि ससुराली पक्षबाट अंश दिलाइदिन र आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

प्रकाशित: २८ वैशाख २०७५ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App